११ बैशाख २०८१, मंगलबार | April 23, 2024

ओलीको मधेस मिसन : मधेसका प्रभावशाली नेता एमालेमा भित्र्याउँदै



काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय मधेस दौडाहामा छन् । ओलीको मधेस दौडाहाका क्रममा उनले धमाधम मधेसवादी दलका प्रभावशाली नेतालाई एमालेमा भित्र्याउने कामसमेत गरिरहेका छन् ।

पछिल्लो समय जनता समाजवादी पार्टी नेपाल (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का प्रभावशाली नेता, पूर्वमन्त्री, पूर्वसांसद, पूर्वपालिका प्रमुखसहित जिल्लामा शक्तिशाली मानिएका नेतालाई एमालेमा भित्र्याउन ओली सफल देखिएका छन् ।

मधेस प्रदेशको राजधानी जनकपुरधाममा ओलीको बाक्लो आउजाउ भएको देखिन्छ । शनिबार नै धनुषाको तीन कौरियामा पुगेर उनले लोसपाका निवर्तमान सांसद एवं सचेतक उमाशंकर अरगरियालाई एमालेमा प्रवेश गराए ।

त्यसअघि, उनले लोसपा, जसपाका अन्य प्रभावशाली नेतालाई एमालेमा भित्र्याइसकेका छन् । हृदयेश त्रिपाठीको तत्कालीन ‘स्वतन्त्र राजनीतिक समूह’बाट सांसद भएका वृजेशकुमार गुप्ता, जसपाका सांसदद्वय अमृता अग्रहरी र रुही नाज एमाले प्रवेश गरिसकेको एमाले स्थायी कमिटीका सदस्य प्रभु साहले बताए । ओलीसँगै साहसमेत मधेसवादी दलका नेतालाई एमालेमा भित्र्याउने आन्तरिक रणनीति तय गर्दै अघि बढेको देखिन्छ ।

प्रतिनिधिसभाका निवर्तमान सांसदमध्ये वृजेशकुमार गुप्ता २०७४ को प्रतिनिधिसभा निर्वाचनमा सूर्य चिह्न लिएर स्वतन्त्रका तर्फबाट कपिलवस्तु-२ बाट निर्वाचित भएका थिए । यसैगरी, जसपाका केन्द्रीय कार्यकारिणी समितिका सदस्य रहेकी अग्रहरी र रुही नाज समानुपातिकबाट प्रतिनिधिसभाका सदस्य भएका थिए । उता, लोसपाका केन्द्रीय सदस्य तथा मधेस प्रदेशसभाका निवर्तमान सांसद प्रल्हाद गिरीसमेत एमाले प्रवेश गरेका छन् ।

‘त्रिपाठी समूह’बाटै लुम्बिनी प्रदेश संसद्मा कपिलवस्तु-२ ‘ख’बाट जितेका धर्मबहादुर श्रीवास्तव पनि एमालेमै प्रवेश गरिसकेका छन् । जसपाकी मधेस प्रदेश सांसद डा रिना यादव केही समयअघि एमालेमा प्रवेश गरेकी हुन् । प्रदेश विकास संसदीय समिति सभापति भइसकेकी उनी तत्कालीन राजपाबाट समानुपातिक सांसद भएकी थिइन् ।

यसैगरी, जसपाकै लुम्बिनी प्रदेश सांसद विजयबहादुर यादव पनि एमाले प्रवेश गरेका छन् । प्रभावशाली नेतामा जसपाका केन्द्रीय सदस्य मंगलप्रसाद गुप्ता सबैभन्दा पहिले एमालेमा प्रवेश गरेका थिए । त्यसपछि जसपाबाटै वीरगन्ज महानगरका तत्कालीन प्रमुख विजय सरावगी, जसपाका नेता पशुपति दयाल मिश्र, रामकुमार दीक्षित, पूर्वमन्त्री खोभारी राय, संघीय परिषद् सदस्यद्वय भोला मिश्र र अमरेन्द्रकुमार झा, लोसपाका केन्द्रीय सदस्य डा रामबाबु तिवारी, गौरका पूर्वप्रमुख अजयकुमार गुप्ता, माओवादी केन्द्रका नेता तथा पूर्वराज्यमन्त्री रामसिंह यादव र कांग्रेसका पूर्वजिल्ला उपसभापति दिनानाथ साहसहितका नेता एमालेमा प्रवेश गरिसकेका छन् ।

यसैगरी, जसपाका नेता तथा लक्ष्मीपुर पतारी गाउँपालिकाका पूर्व अध्यक्ष रामबलभ साह, एकीकृत समाजवादीका मुस्लिम इत्तेहाद संघका केन्द्रीय सदस्य सेख मोफिद, युवा संघ गौर नगर कमिटीका अध्यक्ष मोहम्मद इमरान र मोहम्मद जियाउल हक एमालेमा प्रवेश गरेका थिए । यसैगरी, लोसपाबाट संविधानसभा सदस्य भएका चन्दन साहसमेत एमाले प्रवेश गर्ने नेता हुन् ।

यस्तै, लोसपा केन्द्रीय सदस्य अरबिन्द साह, सर्लाही जिल्ला समन्वय समितिका पूर्वप्रमुख मेथुर चौधरी र मलंगवा नगरपालिकाका पूर्वनगरप्रमुख निरशल साह, एकीकृत समाजवादीका धनुषा जिल्ला अध्यक्ष सोमप्रसाद शर्मा, नेपाली कांग्रेसबाट गाउँपालिकाका पूर्व उपाध्यक्ष तथा नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि किरणदेवी गुप्ता, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं गाउँपालिकाका पूर्व अध्यक्ष निरराज गिरी पनि एमालेमा प्रवेश गरेका थिए ।

यी नेतासँगै सोही पार्टीका सयौं नेतासमेत एमाले पार्टी प्रवेश गरेको एमाले केन्द्रीय सदस्य एवं कार्यालय सचिव डा भीष्म अधिकारीले बताए । एमालेमा प्रवेशको लहर देखेर अध्यक्ष ओली उत्साहित भएका छन् । विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्न थालेपछि आगामी निर्वाचनमा विपक्षी दलको गठबन्धन निर्माण गरेर सरकार सञ्चालन गर्नेमा अध्यक्ष ओली ढुक्क छन् ।

एमाले पोलिटब्युरो सदस्य एवं प्रचार विभागका उपप्रमुख विष्णु रिजालले पछिल्लो समय विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेको लहर चलेको बताए । जिल्लादेखि केन्द्रीय कार्यालयसम्म दिनहँु पार्टी परिवेशको कार्यक्रम भइरहेको उनले बताए ।

एमालेबाट विद्रोह गरी गठन भएको एकीकृत समाजवादीका नेताहरू एमालेमा प्रवेश गर्न थालेपछि अध्यक्ष ओलीले आगामी चुनावसम्ममा एकीकृत समाजवादीमा कार्यकर्ता नै नरहने ठोकुवा गर्दै आएका छन् ।

गत महिना पोखरामा नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै ओलीले चुनावसम्ममा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल कार्यकर्ताविहीन हुने दाबी गरेका थिए । ‘तपाईंहरूलाई यो भविष्यवाणी मिल्दैन कि भन्ने लाग्यो होला, नोट गरेर राख्नुस् । चुनावसम्ममा माधव नेपालसँग आपूmबाहेक कार्यकर्ता नै रहँदैनन्’ ओलीले भनेका थिए । आजको राजधानी दैनिकमा सुभाष साहले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ७ : ४० बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना