२३ बैशाख २०८३, बुधबार | May 7, 2026

बागी विरुद्ध एमालेको शुन्य सहनशिलता, गठबन्धन फकाउनमा व्यस्त



काठमाडौँ । सत्ता गठबन्धनका प्रमुख दल नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बागी उम्मेदवारप्रति नरम देखिएका छन्। कांग्रेस र माओवादी केन्द्र सकेसम्म विश्वास दिलाएरै उम्मेदवारी निष्क्रिय पार्ने प्रयत्नमा छन्।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले भने बागी उम्मेदवारलाई विश्वासमा लिने प्रयत्न पनि गरेको छैन। बरु एमालेले अभिलेखबाटै बागी उम्मेदवार र तिनका प्रस्तावक तथा समर्थकको नाम हटाएर पार्टीबाटै निलम्बन गरेको छ।

नेपाली कांग्रेसले पार्टीका प्रभावशाली नेता नै बागी उम्मेदवार भएपछि निर्वाचन आयोगले दिएको समयसीमा गत असोज २६ गतेसम्म उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको थियो। कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टी नेतृत्वको निर्देशनअनुसार असोज २७ गते विज्ञप्ति जारी गरी बागी उम्मेदवारलाई आफ्नो उम्मेदवारी निष्क्रिय गर्न आह्वान गर्नुभएको थियो। सबै उम्मेदवारले उम्मेदवारी निष्क्रिय गरेको जानकारीसहित असोज ३१ गतेसम्म पनि सार्वजनिक नगरेपछि कांग्रेसले पुनः कात्तिक ४ गतेसम्म उम्मेदवारी निष्क्रिय गर्न समय दिएको थियो।

कांग्रेस केन्द्रीय कार्यालय सचिव प्रेम केसीले प्रतिनिधि सभा सदस्यका लागि पार्टीका १६ जना नेताले बागी उम्मेदवारी दिएको बताउँदै धेरैले उम्मेदवारी फिर्ता लिएको जानकारी दिनुभयो। कांग्रेस महामन्त्री गगनकुमार थापाले संविधानको बाध्यात्मक व्यवस्था र दलहरूबीचको सहकार्यका कारण असन्तुष्ट भएका नेतासँग संवाद गरी उम्मेदवारी निष्क्रिय बनाउने प्रयास भइरहेको बताउनुभयो। उहाँले भन्नुभयो, “आकाङ्क्षी धेरै हुनुहुन्थ्यो तर सबैलाई टिकट दिन नसकिएको सन्दर्भमा आउने दिनमा सबै साथीको भावना सम्बोधन गर्ने प्रयास हाम्रो रहनेछ। कारबाहीभन्दा पनि संवादमार्फत उम्मेदवार निष्क्रिय गराउने हाम्रो प्रयत्न रहनेछ।”

एमालेको ध्यान कारबाहीमा

एमालेले आफ्नो पार्टीबाट बागी उम्मेदवारी दिएका नेतालाई निष्कासन गरेको छ। उम्मेदवारी फिर्ता दिन निर्देशन दिएको एमालेले संवादभन्दा पनि कारबाहीलाई प्राथमिकता दिएको छ। एमाले उपमहासचिव विष्णु रिमालले पार्टीमा कुनै बागी नेता नरहेको बताउनुभयो। उहाँले भन्नुभयो, “हाम्रो पार्टीबाट कुनै नेताले पनि बागी उम्मेदवारी दिनुभएको छैन। पार्टीको निर्णयअनुसार सबै क्षेत्रमा एमालेकै उम्मेदवार मात्रै हुनुहुन्छ।” यसअघि उहाँले सामाजिक सञ्जालमार्फत पार्टीका बागी उम्मेदवारलाई निष्कासन गरी रेकर्डबाट पनि हटाइएको बताउनुभएको थियो।

माओवादी केन्द्रीय सदस्य एवं काठमाडौँ क्षेत्र नं। २ की उम्मेदवार ओनसरी घर्तीमगरले बागी उम्मेदवारी दिएका नेताहरूलाई सम्झाइ–बुझाइ गरेर फिर्ता गराउने तथा निष्क्रिय गराउने पहल गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “पार्टीमा योगदान गरेका साथीहरूलाई समेट्न नसकिएकाले असन्तुष्टि देखिएकै हो। तर उहाँहरूलाई उचित व्यवस्थापन गर्नेगरी अहिले उम्मेदवारी फिर्ता लिन आग्रह गरिएको छ।”

असन्तुष्टको स्वतन्त्र उम्मेदवारी

एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच चुनावी तालमेलको सहमति भएको छ। जसअनुसार झापा क्षेत्र नं. ३ मा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाका प्रतिस्पर्धी लिङ्देनलाई एमालेले समर्थन गरेको छ। झापा क्षेत्र नं. ५ मा अध्यक्ष ओलीलाई राप्रपाले समर्थन गरेको छ। तर एमाले–राप्रपा तालमेलप्रति असहमति व्यक्त गर्दै झापा क्षेत्र नं. ३ मा प्रतिनिधि सभामा एमाले जिल्ला सदस्य डम्बरबहादुर गिरीले उम्मेदवारी दिनुभएको छ। उहाँलाई एमालेले कारबाही गरिसकेको छ।

एमालेका पूर्वउपमहासचिव एवं स्थायी कमिटी सदस्य घनश्याम भुसाल र प्रभु साहले पनि अन्तिम समयमा पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिनुभएको छ। केन्द्रीय सदस्य गङ्गा चौधरी सत्गौवा र कुन्दन कुशवाहलाई पनि एमालेले निष्कासन गरेको छ। सत्ता साझेदार पाँच दलको समर्थनमा उम्मेदवारी दिनुभएका नेता भुसालले भन्नुभयो, “एमालेले रेकर्डबाट हटाउने कुरा हास्यास्पद छ। हरेक कार्यकर्ताले गरेको इतिहास अमर रहन्छ। कसैले हटाएर त्यो इतिहास मेटिँदैन।”

रुपन्देही क्षेत्र नं. १ मा भुसाल, रौतहट क्षेत्र नं. ३ मा साह र दाङ क्षेत्र नं. १ मा चौधरीले उम्मेदवारी दिनुभएको छ। एमालेकै प्रभावशाली नेता रामवीर मानन्धरले काठमाडौँ क्षेत्र नं. ७ मा स्वतन्त्र उम्मेदवारी दिनुभएको छ। एमाले सुनसरीका प्रभावशाली नेता मनोज मेन्याङ्बोले सुनसरी क्षेत्र नं. १ मा बागी उम्मेदवारी दिनुभएको छ।

सत्ता साझेदारमै बागी

सत्ता साझेदार माओवादी केन्द्रका १२ जना उम्मेदवारविरुद्ध बागी उम्मेदवारी परेको थियो। जसमध्ये केहीले फिर्ता लिएको नेत्री घर्तीमगरले बताउनुभयो। अन्य उम्मेदवारसँग पनि माओवादीले संवाद गरिरहेको छ। जसमध्ये अर्थमन्त्री जनार्दन शर्मा, कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, पूर्वमन्त्री चन्द्रप्रकाश खनालसहितका नेताविरुद्ध बागी उम्मेदवारी परेको छ।

धनकुटामा माओवादीका प्रभावशाली नेता हेमराज भण्डारीले बागी उम्मेदवारी दिनुभएको छ। उहाँको प्रतिस्पर्धा कांग्रेस केन्द्रीय सदस्य सुनीलबहादुर थापा र एमालेका राजेन्द्र राईसँग हुनेछ। कांग्रेस नेता अमरेशकुमार सिंह पनि यस पटक स्वतन्त्र उम्मेदवार हुनुहुन्छ। सर्लाही क्षेत्र नं. ४ मा उहाँले उम्मेदवारी दिनुभएको छ। कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालाले चितवन क्षेत्र नं. ३ मा उम्मेदवारी दिनुभएको छ।

कांग्रेसकै नेता अजय द्विवेदीले पर्सा क्षेत्र नं. १ बाट बागी उम्मेदवारी दिनुभएको छ। कांग्रेस नेता महादेव गुरुङले कास्की क्षेत्र नं. २ मा र कांग्रेसकै नेता पुष्करनाथ ओझाले कैलाली क्षेत्र नं. ५ मा उम्मेदवारी दिनुभएको छ।

आजको गोरखापत्र अनलाईनमा अशोक अधिकारीले लेखेका छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ७ : ३२ बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा