१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि, सतर्क रहन आग्रह



कञ्चनपुर । कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा पालिएका बङ्गुरमा ‘अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमण पुष्टि भएको छ । केही समयदेखि व्यावसायिक रूपमा पालिएका बङ्गुरमा उच्च ज्वरो आउने, शरीरका विभिन्न भागमा नीलो र रातो धब्बा देखिने तथा अप्रत्याशित रूपमा बङ्गुर मर्न थालेपछि गरिएको प्राविधिक परीक्षणबाट ‘अफ्रिकन स्वाइन फिभर’को सङ्क्रमण पुष्टि भएको हो ।

पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीले द्रुत प्रतिक्रिया टोली (आरआरटी) परिचालन गरी स्थानीय स्तरमा नमूना सङ्कलन गरेको थियो । सुरुमा ‘रेपिड एन्टिजेन’ विधिबाट परीक्षण गर्दा नतिजा पोजेटिभ देखिएपछि थप परीक्षणका लागि नमूनाहरू केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, काठमाडौं पठाइएकामा पीसीआर विधिबाट परीक्षण गर्दा रोग पुष्टि भएको प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीले जानकारी दिए । उनका अनुसार हालसम्म कैलालीको धनगढी उपमहानगरपालिका, घोडाघोडी नगरपालिका र कञ्चनपुरको कृष्णपुर नगरपालिका क्षेत्रमा किसानले पालेका बङ्गुरहरूमा यो सङ्क्रमण देखिएको हो ।

‘रोगको सङ्क्रमण प्रारम्भिक चरणमै छ । किसानले समयमै सावधानी अपनाएनन् र जैविक सुरक्षाका उपायहरू लागू गरेनन् भने बङ्गुरपालक किसानले ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने अवस्था आउने छ’, जोशीले भने, ‘नमूना सङ्कलन गरिएका फार्मका धनीहरूलाई सचेत गराएका छौँ, सङ्क्रमण अन्यत्र फैलिन नदिन उच्च सतर्कता अपनाउन भनेका छौँ ।’

अफ्रिकन स्वाइन फिभर घरपालुवा सुँगुर, बङ्गुर तथा जङ्गली बँदेलमा भाइरसका कारण लाग्ने सङ्क्रामक र घातक महामारी भएको उल्लेख गर्दै उनले सतर्कताका लागि सबैमा आग्रह गरे । यो रोग लागेका बङ्गुरलगायत पशुको मृत्युदर शत्प्रतिशतसम्म हुने भएकाले यसलाई पशु स्वास्थ्यको क्षेत्रमा अत्यन्तै भयावह मान्ने गरिएको जोशीले बताए । ‘सङ्क्रमण फैलिएपछि पूरै बथान नै सखाप हुने हुँदा किसानको वर्षौंको लगानी र मेहनत एकैक्षणमा खरानी हुने जोखिम रहन्छ । त्यसैले किसानले समयमै सचेत हुनु आवश्यक छ’, उनले भने ।

पशु अधिकृत रामप्रसाद भट्टका अनुसार सङ्क्रमित बङ्गुरहरूमा सुरुमा १०४ देखि १०७ डिग्री फरेनहाइटसम्म उच्च ज्वरो आउने गर्दछ । बङ्गुरहरू दानापानी खान छोड्ने, झोक्राउने, एकै ठाउँमा थुप्रिएर बस्ने र छट्पटाउने जस्ता लक्षण देखिन्छन् । विशेषगरी कानको टुप्पो, पुच्छर र पेटको तल्लो भागको छालामा रगत जमेका रातो वा नीलो रङ्गका धब्बाहरू देखिनु यस रोगको प्रमुख पहिचानका रूपमा रहेको उनले बताए ।

वरिष्ठ पशु चिकित्सक जोशीले कुनै पनि स्थानमा बङ्गुरमा अस्वाभाविक लक्षण देखापरेमा वा धमाधम मर्न थालेमा लुकाएर नराखी तुरुन्त नजिकको पशु सेवा शाखा, भेटेरिनरी अस्पताल, पशु क्वारेन्टाइन चेकपोस्ट वा पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा सम्पर्क गर्न अनुरोध गरेका छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहिबार  ७ : २३ बजे

मुख्य दलका पूर्वाधार ‘एजेन्डा’ : द्रुत मार्गदेखि ‘स्मार्ट ग्रिड’सम्मका प्रतिबद्धता

काठमाडौं । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन

धार्मिक एकताको नमूना : म¥याङडाँडामा त्रि-धार्मिक संरचना निर्माण

भोजपुर । धार्मिक विविधताबीच एकता, सहअस्तित्व र आपसी सद्भाव कायम

स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले यही फागुन २१ गते सम्पन्न हुने

‘जसले बाँदर नियन्त्रण गर्ने स्पष्ट खाका ल्याउँछ उसैलाई भोट दिने हो’

बागलुङ । बागलुङको जैमिनी क्षेत्रमा भोट माग्न जाने उम्मेदवारलाई मतदाताले

माइनस डिग्री मुस्ताङको चिसोमा निर्वाचन सरगर्मी

मुस्ताङ । माइनस डिग्री तापक्रमका बाबजुद मुस्ताङमा निर्वाचन सरगर्मी बढिरहेको