विराटनगर । मोरङको रतुवामाईमा गाँजा तस्करीमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ।
बिहीबार राति भएको घटनामा गोली लागेर एक भारतीय नागरिक घाइते भएका छन् भने करिब १०० किलो गाँजासहित दुई जना पक्राउ परेका छन्।
मोरङको रतुवामाई नगरपालिका–५, गोविन्दपुरस्थित बक्राहा खोलाको बगरमा गाँजा बोकेर भारततर्फ जाँदै गरेका व्यक्तिहरूसँग प्रहरीको जम्काभेट भएको थियो।
मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार असोज २९ गते दिउँसो करिब १ बजे सोही स्थानमा बेवारिसे अवस्थामा २६४ किलो ५९० ग्राम गाँजा बरामद भएको थियो। उक्त स्थानमा पुनः गाँजाको कारोबार हुन सक्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिजुवाबाट राति गस्ती टोली परिचालन गरिएको थियो।
राति करिब ९ः२५ बजे गाँजा बोकेर भारततर्फ जाँदै गरेका व्यक्तिहरूलाई प्रहरीले फेला पारेको थियो। उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा भाग्न थालेपछि प्रहरीले सुरुमा एक राउन्ड हवाई फायर गरेको थियो। त्यसपछि पनि नरोकेपछि प्रहरीले चलाएको अर्को गोली लागेर भारतको अररिया जिल्ला, जोगबनीका ३९ वर्षीय प्रमोद चौधरी घाइते भएका हुन्। उनको देब्रे खुट्टाको पिँडुलामा गोली लागेको प्रहरीले जनाएको छ।
घटनामा घाइते चौधरीसँगै भारतको अररिया जिल्ला, महगामा ग्राम पञ्चायतका ५० वर्षीय राजेन्द्रप्रसाद यादवलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनीहरूको साथबाट करिब १०० किलो गाँजा बरामद भएको छ।
घाइते चौधरीको अवस्था सामान्य रहेको र पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता मिश्रले जानकारी दिए।


















प्रतिक्रिया