२० आश्विन २०७९, बिहिबार | October 6, 2022

‘सास–बहु’ भिडाउने भारतीय मिडियाले सीमाना बुझ्न सक्दैनन्



भारतीय टेलिभिजन च्यानलहरुमा यौटा आम प्रवृति छ, सासु बुहारीको झगडा गराउने । मनोरञ्जन च्यानलहरुले बनाउने सास–बहु की कहानी जस्ता विषयले भारतीय समाज र संस्कृतिक पक्षको प्रकाश पार्छ । भारतीय न्यूज टेलिभिजनका लागि यिनै मनोरञ्जन च्यानलहरुको खुराकले ‘इस्यू’ बनाउँछ ।

घर घरमा लडाउने, दाजुभाईबीच फाटो पार्ने, समाजलाई विश्रृंखलित बनाउने विषय भारतीय न्यूज टेलिभिजनको औषत समयमा टीआरपी कमाउने इस्यु हुन् । भारतीय दर्शकले समेत यस्तै पत्रु इस्युलाई रुचाउँछन् । सास नफेरि नन स्टप एन्करले ‘घर घरकी कहानी’ बताउँछन् । अनि आफैलाई सर्वश्रेष्ठ र तेजको पगरी गुत्छन् । यो आम संस्कार हो भारतीय न्यूज टेलिभिजन च्यानलको ।

अनि जब जब तथाकथित सत्ताधारीहरुले ललिपप फाल्छन्, भोपाल र हैदराबाद हाउसमा बनाइएको निर्देशन अनुसार यिनै टेलिभिजन च्यानलहरु सास बहुको झगडाबाट बाहिर निस्किन्छन् र सुरु गछ्र्रन् धमान्धताको प्रचार गर्न । धार्मिक उन्माद र उदण्डताले पराकाष्ठा नाघ्न सुरु गर्छ । बाबरी मस्जिद ढल्छ, राम मन्दिर बनिहाल्छ । राममन्दिर बनाउने निर्णय सर्वोच्च न्यायलयले भन्दा पहिल्यै घोषणा गरिन्छ । अल्पसंख्यक मुस्लिम समुदायलाई आतंकवादी करार गराउन सुरु हुन्छ । दलित, आदिवासी, अल्पसंख्यक माथि माथिल्लो समुदायले गर्ने ‘मवलिञ्चिङ’को पक्षमा भारतीय मिडियाले जायज पैरवी गर्छ ।

भेला हुन पाउने लोकतान्त्रिक अधिकार, गरिब आदिवासीको पक्षमा केही बोल्छ भने उ शहरी नक्सल बनाइन्छ । वाक स्वतन्त्रताको पक्षमा बोल्नेलाई कास्मिरी मुस्लिमसँग साइनो लगाइन्छ । कास्मिरी मुस्लिमहरु उग्रवाद र आतंकवादका पर्याय मात्र हुन् । कास्मिरी मुस्लिमको बारेमा कोही बोल्ने प्रयास गर्यो उनीहरुलाई राष्ट्रद्रोहको बिल्ला भिराइन्छ । टेलिभिजन स्टुडियोमा सर्वोच्च न्यायालय गठन गरिन्छ । अब, टेलिभिजनका रिपोर्टर मुख्य अभियोजनकर्ता बन्छन् टेलिभिजनका एक एन्कर वकिल बन्छन्, अर्का एन्कर चिफ जस्टिस बन्छन् । उनीहरुले निर्णय सुनाएपछि बस ! सकियो । निसाफ छिनियो । बिहारका कन्हैया कुमारहरुले लगाउने ‘हम चाहते है आजादी !’ नारा राष्ट्रद्रोहको पक्षमा फैसला गर्न काफी हुन्छ । सुधीर चौधरी, अर्णव गोश्वामी, अञ्जना ओम कश्यप, रुविका लियाकत सबका सब चिफ जस्टिसहरुले फैसला सुनाउँछन् कन्हैया कुमारहरु दोषी हुन् । तत्काल जेलको चक्की पिसाऊ ! दिल्ली पुलिस तत्काल हाजिर हुन्छ । कन्हैया कुमारहरु गिरफ्तार हुन्छन् ।

सत्ताको झुटको बेनकाव गर्ने, गरिब, दलित जनताको पक्षमा आवाज सुनाउने पुण्य प्रसुन बाजपेयीहरु मास्टर स्ट्रोकबाट गलहत्ताइन्छन् । किनकी वाजपेयीहरु सत्ताको तावेदारी गरेर चिफ जस्टिस बन्न चाहँदैनन् । मिडिया हाउसभित्र उनीहरुलाई मात्र प्रवेश खुला छ, जसले सत्तारुढ नरेन्द्र मोदीको दलाली गर्छ, बीजेपीको भक्तिगान गाउँछ र राष्ट्रिय स्वयं सेवक संघको निर्देशन पालना गर्छ ।

यि त भए भारतको घर भित्रका कुरा । अब, केही घर बाहिरका कुरा । मानौं भारतीय टेलिभिजनहरुले नै राज्यसत्ता संचालन गरिरहेका छन् । विदेशनीतिको संचालनार्थ साउथ ब्लकको स्क्रिप्ट लेख्नेहरु मिडिया हाउसका मालिक र सम्पादकहरु हुन् । र, सुरु हुन्छ पाकिस्तानको विरोध । २४सै घण्टा पाकिस्तानको कुरा नकाटेसम्म खाएको नपच्ने । पाकिस्तानको उछितो नकाढेसम्म निद्रा नलाग्ने । पाकिस्तानी फोवियाले गम्भीर मनोवैज्ञानिक रोगको शिकार बन्दै गएका छन् भारतीय मिडिया र प्रस्तोताहरु । कुनै तर्क क्षमता, तथ्य र विनयशीलता देखिनु पर्दैन उनीहरुलाई । कुटनीतिको मर्यादा चाहिँदैन उनीहरुलाई । पाकिस्तान भन्ने वित्तिकै उनीहरुको नजरमा ‘आतंकिस्तान’ बन्नै पर्छ । चरम उग्रराष्ट्रवादले टेलिभिजन सम्पादक र प्रस्तोताको दिमाग खिइएको छ । पाकिस्तानको बर्बादी एक मात्र मिसन बनेको छ भारतीय पत्रकारिताको । पाकिस्तानप्रति आम जनतामा घृणाभाव उत्पन्न गराउनु उनीहरुको एकमात्र मिशन हो । भारत पाकिस्तानबीच कुटनीतिक, राजनीतिक दुश्मनी आफ्नो ठाउँमा छ । त्यसमा हाम्रो बोल्नु केही छैन, तर छिमेकसँगको सम्बन्धलाई सदा कटुतापूर्ण बनाउन मुख्य भूमिका भारतीय मिडियाले नै गरेका छन् र सबैभन्दा बढी न्यूज टेलिभिजन च्यानलहरुले नै ।

रोमन म्यागासासे पुरस्कार विजेता एनडीटीभीका विश्लेषक प्रस्तोता रवीश कुमार अलग पहिचान बोकेका प्रस्तोता हुन् । रवीस कुमारले भारतीय टेलिभिजनको आजको युगलाई अँध्यारो युग भएको विश्लेषण गरेका छन् । घृणा योग्य प्रस्तुतीकै कारण उनी आफै क्रियाशील पेशाप्रति यति बिघ्न निर्मम बन्दै बोलेको तथ्य नै यतिबेला भारतीय मिडियाको सत्य हो । यिनै भारतीय टेलिभिजन च्यानलहरुको समाचार स्टोरीको इस्यु अहिले नेपाल बनेको छ । र सँगै चीनलाई बनाइएको छ ।

चीनका बारेमा हामीले बोल्नु आवश्यक रहेन । किनकी भारतीय टेलिभिजन प्रस्तोताहरुकै भाषामा भारत र चीनको तुलना सम्भव देखिदैन । चीनको तरक्की देखेर कुण्ठा पालेका टेलिभिजन प्रस्तोताहरुले साउथ चाइना सी मा नियन्त्रण र हिन्द महासागरमा बढ्दो उपस्थितिप्रति चीनको विरोध गर्नुबाहेक अन्य केही भेट्न सक्दैनन् । भारतको विकासमा ‘मेक इन इन्डिया’को जति व्याख्या गरेपनि त्यसको अधिकतम कच्चा पदार्थ स्रोतमा फेरि पनि चीनसँग निर्भर रहेको छिपाउनु उनीहरुको बाध्यता हो । चीनसँगको बढ्दो व्यापार घाटा घटाउन उनीहरु तथ्यपरक ढंगले सत्तालाई सुझाव दिन सक्दैनन् । किनकी सास बहुको कहानीले समाजलाई भ्रष्टिकरण गर्दा गर्दा र पाकिस्तानलाई गाली दिँदादिँदा ती प्रस्तोहरुको खिईंदै गएको दिमागले वैश्विक अर्थनीतिको विश्लेषण गर्ने क्षमता गुमाइसकेको छ ।

यतिबेला भारतीय टेलिभिजन च्यानलका लागि काम मिलेको नयाँ इस्यु हो, नेपालको घनघोर विरोध । हुन त, भारतीय टेलिभिजन च्यानलबारे नेपालका वच्चा वच्चा जानकार छन् । समाचारमा अलिअलि चासो राख्ने चिया पसलेहरु विश्लेषण गर्नसक्छन् । भूकम्पका बेला तथाकथित टीआरपीका लागि नेपालको बद्नाम गराउन खोज्ने भारतीय प्रस्तोताहरुलाई नेपाल छोड्न दबाब त्यसै बढेको थिएन ।

भारतीयसामु नेपालका शासकहरुको ‘त्वं शरणंम’ व्यवहारले नेपाली आकाश अहिलेसम्म ‘क्लिन फिड’ बन्न सकेको छैन । त्यसैले भारतीय टेलिभिजनको आतंक नेपालमा समाप्त हुने सजिलै देखिँदैन । तर, उनीहरुको चरित्रकै कारण नेपाली दर्शकमाझ उनीहरु प्रिय भने कहिल्यै बन्न नसक्ने देखिएको छ ।

हालैका दिनमा देशको सार्वभौमिकता र भौगोलिक अखण्डता रक्षाको पक्षमा नेपालमा अभूतपूर्व राष्ट्रिय सहमति कायम भयो । यही राष्ट्रिय सहमतिको जगममा सरकारले भारतबाट अतिक्रमित सयौं वर्गकिलोमटर भूमिलाई समेटेर नयाँ नक्शा सार्वजनिक गर्यो । नेपालको पश्चिमी सीमाना काली नदीको मुहान लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भएको अकाट्य प्रमाणका साथ सरकारले नक्शा जारी गरे पछि भारतमा भूकम्प गयो । छिमेकीमाथि सदा अत्याचार गर्दै आएको भारतले उल्टै नेपालले आफ्नो सीमा मिचेको भनेर दाबी गर्यो । पूर्व सहमति विपरित नेपालले एकपक्षीय रुपमा नयाँ नक्शा जारी गरेको आरोप लगायो । जबकी भारतले गत नोभेम्बरमै नेपालको सहमति बिना नेपाली भूमिलाई समेटेर नक्शा जारी गरिसकेको थियो । तर, नेपालको भूमि विवादित हुनै सक्दैनथ्यो । किनकी, ऐतिहासिक तथ्य प्रमाणले सुगौली सन्धीदेखि कालापानी–लिम्पियाधुरा क्षेत्र नेपालको रहेको बताउँछ । त्यसकारण नेपालले आफ्नो राजनीतिक प्रशासनिक नक्शामा आफ्नो भूमि समेट्ने पूर्ण हक छ । यदि भारतलाई यो भूमि विवादितै हो भन्ने लाग्छ भने विवादित भूमि समेटेर नयाँ नक्शा उसले पहिला किन सार्वजनिक गरेको ? नेपालले सीमा विवादका विषयमा वार्ता गर्नका लागि गरेको बारम्बारको अनुरोधलाई किन अस्वीकार गरेको ? यो तथ्य र सत्यलाई भारतीय मिडिया विश्लेषण गर्ने ल्याकत राख्दैनन् ।

हेप्नुको पनि हद हुन्छ । भारतले नेपालमाथि सधैंभर विस्तारवादी सोचका साथ हेप्दै आएको छ । काठमाडौंमा दशकौंसम्म राजनीतिको ‘माइक्रो म्यानजेमेन्ट’ गर्दैआएको भारतले सिंगो नेपाललाई नै सदा कठपुतली बनाउन चाहिरहेको छ । तर, जब इतिहासदेखि कसैको गुलाम नबनेको नेपाली भारतीय विस्तारवादी रणनीतिमा चिसो पानी खन्याइदियो, अनि नेपालमाथि अनेकौं लान्छना ?

नेपालको यो अभूतपूर्व प्रतिक्रियाले भारतीय संस्थापन पक्ष त तिलमिलाएको छ नै, सँगसँगै भारतीय मिडिया बर्बराउन थालेका छन् । भारतीय मिडियामा अहिले नेपाल र नेपाली जनताविरुद्ध जुन ढंगले विष वमन गरिएको छ, यो पत्रकारिता होइन पत्रुकारिताको भद्दा नमुना हो । समाचार सम्प्रेषण गर्न तथ्यको विश्लेषण गर्ने ल्याकत गुमाएका भारतीय प्रस्तोताहरुले अहिले जसरी नेपालमाथि चिनिँया एजेण्डाको आरोप लगाउँदैछन्, जसरी उनीहरुले तथाकथित टीआरपीका लागि इतिहासको अध्ययन, प्रामाणिक तथ्य र तथ्याङ्कलाई मृत बनाउन चाहेका छन्, यसले नेपाल भारत कुटनीतिक वार्ता र सम्वाद्लाई मात्रै प्रभावित पार्नसक्छ । नेपाल र भारतबीच जनस्तरमा रहेको ऐतिहासिक सम्बन्धलाई मात्रै असर पार्न सक्छ ।

र, सँगसँगै भारतलाई हेर्ने आम नेपालीको दृष्टिकोण कोर्न भारतीय टेलिभिजन च्यानलहरुको कृत्यले सहज मात्रै बनाइरहेको छ । ‘सास बहुको साजिस’ जस्तो निम्नस्तरको साजिज नेपालमा चल्दैन भन्ने सत्यलाई पनि प्रष्ट पार्दै छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७७, शुक्रबार  १२ : ३७ बजे

एएफसी यु–१७ एसियन कप : नेपाल थाइल्यान्डसंग पराजित

काठमाडौं । एएफसी यु–१७ एसियन कप छनोट २०२३ अन्तर्गत बुधबार

राप्ती नदि बढेर खतराको चिन्ह पार, तटीय क्षेत्रका स्थानीयलाई सावधानी अपनाउन आग्रह

नेपालगन्ज । अबिरल वर्षापछि बढेको राप्ती नदिको बहावले खतराको चिन्ह

प्रचण्डले परिवारलाई टिका लगाइदिए, आफुले लगाएनन्

काठमाडौं । जनयुद्धकालमा बुर्जुवाहरुको पर्व भन्दै दसैं नमनाउने गरेका नेकपा

भ्रातृशोकमा रहेका प्रधानमन्त्री देउवाले दसैको टिका लगाएनन्

काठमाडौं । राष्ट्रपति विद्या भण्डारी र एमाले अध्यक्ष केपी ओलीले

आधुनिक घट्टले खुड्खुडीमा फेरियो दैनिकी

सुर्खेत । दैलेखको ठाटीकाँध गाउँपालिका( ३ खुड्खुडीका लालबहादुर आले मगर