१९ आश्विन २०७९, बुधबार | October 5, 2022

लकडाउनले थलियो देश, खोल्न सकिन्छ कसरी ?



कोरोना महामारीले विश्वलाई गृहबन्दी बनाएको ६ महिना हुनथाल्यो । आफ्ना सबै कामकाज बन्द गरेर जीवन रक्षाका लागि सुरुका दिनमा विश्वभर लकडाउन र व्यक्तिगत अलगाव बनाइराख्न विश्व स्वास्थ्य संगठनले सुझायो । कोभिड–१९ को उद्मगस्थल चीनको उहानले त्यो विधिलाई अनुशासित र कडाईपूर्वक पालना गर्यो । थोरै क्षति ब्यहोरेर कोरोनामाथि विजय प्राप्त गर्न सफल भयो । तर विश्वका अन्य देशमा महामारी फैलिन थाल्यो ।

सुरुका दिनमा लकडाउन र सामाजिक दुरी कायम गर्न तयार नहुने देशहरुमा कोरोना महामारी भयावह रुपमा फैलियो । लाखौं लाख जनताको ज्यान लियो । अनुशासित समाज र बलियो सरकार भएका देशमा महामारीबाट जनताको जीवन रक्षा भयो । अराजक, सामाजिक संरचना र जनताको जीवन रक्षाप्रति उदासिन शासन पद्दती भएका देशमा धेरै जनतको ज्यान गयो ।

छिमेकी चीनको उहानमा कोरोनाको कहर खेपेका विद्यार्थीलाई नेपाल सरकारले समयमै तदारुकताका साथ उद्दार गर्यो । उतै चीनबाट आएका एकजना विद्यार्थीमा पहिलो पटक नेपालमा कोरोना संक्रमण भेटिए पछि उपचारको प्रबन्ध गर्यो । त्यसको लगत्तै नेपाली जनताको जीवन रक्षाप्रति उच्च प्राथमिकता दिँदै चैत्र ११ गतेदेखि राष्ट्रिय अन्तराष्ट्रिय उडान बन्द, सिमा सिल र लकडाउनको घोषणा गर्यो सरकारले । जनता उद्यमी व्यवसायी सबै राजनीतिक दल र अनुशासित र मर्यादित जनताले लकडाउन र व्यक्तिगत अलगावको नियम कडाईपूर्वक पालना गरे ।

लेखक

तर समय वित्दै गयो । महामारी झन पछि झन फैलिँदै गएको छ । सधैं घरभित्र थुनिएर व्यवहार नचल्ने भयो । ‘हात खाली राखे मुख खाली हुन्छ’ भन्ने बुढापाकाको भनाइ सार्थक हुन थाल्यो । कोभिड–१९ को महामारी विरुद्धको नयाँ रणनीतिक युद्ध मोर्चाबारे छलफल हुन थाल्यो । देशको आ–आफ्नो स्थिति र अवस्थाअनुसार लकडाउनको स्वरुपमा परिवर्तन हुन थाल्यो । विश्वका कतिपय देशहरुले महामारीबाट पार पाइसकेका छन् । कतिपय ठाउँमा कोरोना थाकेर पछि हट्दै गएको छ । हाम्रो देशमा भने दक्षिणतिरको भद्रगोल खुला सिमाबाट रोक्न खोज्दा खोज्दै पनि संक्रमण भित्रभित्रै छिर्दैछ फैलिँदैछ ।

सरकारका सामु अहिले दुईवटा चुनौती छ । प्रथम जनताको जीवन रक्षा, दोस्रो अर्थतन्त्रको रक्षा । लकडाउनले अर्थतन्त्र चलायमान हुन सक्दैन । चलायमान अर्थतन्त्रका लागि श्रमशक्ति पनि चलायमान हुनुपर्ने अनिवार्य आवश्यकता छ । त्यसैले एकातिर जीवन रक्षाका लागि लकडाउन र व्यक्तिगत दूरीलाई अझ व्यवस्थित र मर्यादित प्रभावकारी बनाउनु आवश्यक छ भने अर्कोतिर श्रमशक्तिलाई परिचालन गर्दै सामाजिक कामलाई व्यवस्थित गर्नुछ । त्यसैले केही समययता लकडाउनको स्वरुप परिचालन बारे देशव्यापी बहस चलेको छ ।

सरकारले विभिन्न तहमा छलफल गर्दै आएको छ । व्यवसायी, विज्ञसमूह सित छलफल गर्दै सुझाव संकलन गर्ने काम गरिरहेको छ । आजसम्म नेपालले अपनाएको लकडाउन सफल छ । तर परिवर्तित परिस्थितिमा यसको स्वरुपलाई परिवर्तित र उन्नत बनाउनुपर्छ भन्ने राय आएका छन. । यद्यपी, ठ्याक्कै के गर्नुपर्छ भन्नेबारेमा सरकारले निस्कर्ष निकाल्न सकेको छैन । कोरोना रोकथाम उच्चस्तरीय समितिभित्र निरन्तर छलफल भैरहे पनि निस्कर्ष निकिस्न नसक्दा आम जनताको उकुसमुकुस भने झन बढ्दो छ ।

अवस्था यस्तो छ, लकडाउन पूर्ण रुपमा खोल्नु पनि हुँदैन, पूर्ण बन्द गरेर सामाजिक आर्थिक व्यवहार पनि चल्दैन । त्यसैले यसलाई थप व्यवहारिक र मर्यादित गराउन मुख्यतः निम्न कुरामा ध्यान दिनु आवश्यक देखिन्छ ।

संक्रमक रोग र उपचारमा जोड
उपचारसहितको क्वारेन्टाइन, आइसोलेसन आईसीयू समेतको उचित प्रबन्ध हुनुपर्छ । दक्षिणतिरको खुला सिमाबाट लाखौंलाख नेपाली देश फर्किरहेका छन् । भारत कोरोना महामारीको चपेटामा छ । कोभिड–१९ को महामारी फैलिएका शहरका संक्रमित व्यक्तिहरुको संसर्गबाट नेपाली अछुतो नभएको परीक्षणले पुष्टि गरेको छ । त्यसैले भारतबाट फर्किदै गरेका नागरिकलाई सीमा क्षेत्रमा सुरक्षित र व्यवस्थित क्वारेन्टाइनको व्यवस्था गर्ने, परीक्षणलाई व्यापक बनाउने, नेगेटिभ रिपोर्ट आउनेहरुलाई सम्बन्धित जिल्लाको स्थानीय क्वारेन्टाइनमा पठाउने व्यवस्था मिलाउँदै जानुपर्छ । संघले सीमा क्षेत्रका क्वारेन्टाइनलाई विशेष उपचार तथा सुरक्षा सामाग्री स्वास्थ्य जनशक्ति र पर्याप्त स्रोत साधनको व्यवस्था प्रदेश र स्थानीय सरकारको समन्वयमा गर्नुपर्छ । प्रदेश तथा स्थानीय तहमा परीक्षण किटसहित स्वास्थ्यकर्मी परिचालन र भौगोलिक स्थिति र महामारीको प्रकोप हेरि प्रयोगशाला पहुँचको व्यवस्था अबिलम्ब गर्नुपर्ने देखिन्छ । विशेष गरी प्रदेश २, ५ र सुदुरपश्चिम प्रदेशका सीमा क्षेत्रका जिल्लाहरुमा विशेष जोड र अन्य जिल्लामा त्यतिकै ध्यान पुर्याउन जरुरी छ ।

बढी संक्रिमत जिल्लाहरुमा त लकडाउनलाई अझै केही समय कडाइै नै गर्नुपर्ने देखिन्छ । ति जिल्लामा परीक्षणलाई तिब्रता दिनुपर्ने देखिन्छ । सुदुरपश्चिम प्रदेशमा स्रोत साधन स्वास्थ्य उपकरणको अभाव भएको कुरा आएको छ । आवश्यक औषधी, उपकरण सुरक्षासामाग्री स्रोत प्रयाप्त जनशक्तिको परिचालन संघबाटै गरिनुपर्छ । महामारीको बढी प्रकोप भएको क्षेत्र र महामारी क्षेत्रको मापदण्ड एउटै हुनुहुँदैन ।

नेपाली माटोमा उब्जेका वा फलेका कृषि उपजहरुले नेपाली जनतामा कोरोनाको संक्रमण फैलिदैन । त्यसैले कृषि उत्पादन ओहोरदोहोर गर्न सीमित यातायातलाई सबै तहका सरकारको निगरानीमा सबै प्रकारको मापदण्ड र स्वास्थ्य सुरक्षाको प्रबन्धसहित खुला गर्नुपर्छ । घर भित्रबाट निस्केर किसानलाई खेतबारीमा आवतजावत गर्ने, स्वास्थ्य सतर्कता अपनाउँदै श्रमशक्ति परिचालनको अनुभूति दिने समय भैसकेको छ ।

देशलाई अब भौगोलिक रुपले तीन क्षेत्रमा विभाजत गर्नुपर्छ । प्रथम रातो क्षेत्र, जहाँ बढी संक्रमणको महामारी छ त्यसमा विशेष सहयोग प्याकेजको प्रबन्ध गर्ने । दोस्रो हरित क्षेत्र जहाँ अहिलेसम्म कोरोनाको संक्रमण नपुगेका हिमाली जिल्लाहरुलाई हरित क्षेत्र घोषणा गरेर लकडाउनको नियम पालना गर्दै पूर्ण रुपमा खुला गर्ने र विद्यालय समेत संचालन गर्नु उपयुक्त हुन्छ । ती जिल्लामा कात्तिकपछि विद्यालयहरु स्वतः बन्द हुनेभएकोले पठनपाठन सुचारु गने व्यवस्था मिलाउनु हुन्छ । तेस्रो पहेँलो क्षेत्र, कम प्रभावित मध्ये पहाडि जिल्लामा पनि त्यसै अनुसारको प्रबन्ध गर्नुपर्छ ।

अहिले स्वास्थ्य मन्त्रालयको जनस्वास्थ्य महाशाखा ओझेलमा परेको देखिन्छ । त्यसलाई सक्रिय बनाउँदै कोरोना महामारी विरुद्ध कसरी लड्ने भन्नेबारेमा स्वास्थ्य चेतानको प्रचारप्रसारका लागि बढी प्रभावित जिल्लाका क्वारेन्टाइनमा रहेकाहरुलाई प्रशिक्षित गर्ने, नियम पालना गर्नुपर्ने काममा सक्रिय बनाउनु उपयुक्त हुन्छ । पहिलो काम जनताको जीवन रक्षा हो । जीवन रहे अर्थतन्त्रको विकास हुन्छ । जीवन नै छैन भने के का लागि सम्पति ? जनस्वास्थ्य र जनचेतनाको लागि अभियान अनिवार्य छ ।

उत्पादन कार्य
कृषिमा आधारित अर्थतन्त्रको रक्षाका लागि अब जनतालाई खेतबारीमा फर्काउनुपर्छ । मौसम सुरु हुँदै छ । खेतीपातीमा किसान जुट्नुपर्ने समय आएको छ । सधैं घरभित्र बसेर खेतमा धान रोपिँदैन । त्यसैले लकडाउनको आधारभूत मान्यताको पालना गर्दै किसानलाई कृषि व्यवसायमा फर्किने वातावरण बनाउनुपर्छ । लकडाउनलाई यान्त्रिक ढंगले बुझ्ने र बुझाउने कार्य गर्नु हुँदैन । भारतबाट फलफूल र तरकारीका मालबहाक सवारी आउन छुट पाउने तर आफ्नै देशको पहाडी हावापानीमा उब्जेका सागसब्जीलाई बजारसम्म पुग्न रोक लगाउने र कतिपय स्थानीय तहमा नष्ट गर्ने लगाएको दुःखद समाचार आएका छन् । नेपाली माटोमा उब्जेका वा फलेका कृषि उपजहरुले नेपाली जनतामा कोरोनाको संक्रमण फैलिदैन । त्यसैले कृषि उत्पादन ओहोरदोहोर गर्न सीमित यातायातलाई सबै तहका सरकारको निगरानीमा सबै प्रकारको मापदण्ड र स्वास्थ्य सुरक्षाको प्रबन्धसहित खुला गर्नुपर्छ । घर भित्रबाट निस्केर किसानलाई खेतबारीमा आवतजावत गर्ने, स्वास्थ्य सतर्कता अपनाउँदै श्रमशक्ति परिचालनको अनुभूति दिने समय भैसकेको छ

त्यस्तै, साना ठूला उद्योग संचालन गर्ने वातावरण पनि बनाउनुपर्छ । मजदुरहरुको स्वास्थ्य सुरक्षाको पूर्ण प्रत्याभूतिसहित खाद्य उद्योग समेत संचालनमा ल्याउनुपर्छ । उद्यामी व्यवसायीहरुले मजदुरको स्वास्थ्य सुरक्षाको राम्रो प्रबन्ध मिलाउनुपर्छ । सरकारले समन्वय र नियमन गर्ने प्रबन्ध मिलाउनुपर्छ । अर्थतन्त्र चलायमान गर्न उद्योग संचालनमा ल्याउनु अनिवार्य छ । साथै यसले बेरोजगार श्रमिकहरुलाई रोजगारीमा फर्काउनेछ ।

कतिपय ठूला आयोजनाहरु लकडाउनको समयमा पनि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै संचालनमा छन् । निर्माण व्यवसायीहरुले आयोजना समयमै सम्पन्न गर्न अब मजदुरहरुलाई काममा फर्काउनुपर्छ । उनीहरुको खाने बस्नेको समुचित प्रबन्ध मिलाउने स्वास्थ्य परीक्षण, सतर्कता अपनाउँदै आयोजना संचालन गर्न सरकारले सहजीकरण गर्नुपर्छ । सधैं रहात बाँधेर बस्न मिल्दैन । जीवन रक्षाको अर्को अभिन्न र महत्वपूर्ण पक्ष भनेको उत्पादन र श्रम परिचालन पनि हो । स्वास्थ्य र श्रम एकआपसका परिपुरक हुन् । राष्ट्रलाई भोकमरीबाट रक्षा गर्न श्रम सम्बन्धलाई जोड्नुपर्ने समय हुँदैछ ।

आपूर्ति व्यवस्था 
आपूर्ति व्यवस्थालाई राज्यले सहजीकरण गर्नुपर्छ । कृषि उपजजको बजार व्यवस्थापन विशेष महत्व दिनु अनिवार्य छ । ढुवानीलाई बढी व्यवस्थित र मर्यादित गराउनु अनिवार्य छ । लकडाउनको बीच ढुवानीमा असहजता भनदै कृतिम अभाव, कालाबजारी र जमाखोरी जस्ता नाजायज कृत्य रोक्न सरकारको ध्यान जानु आवश्यक छ । त्यसैले उपचार, उत्पादन र आपूर्तिलाई ध्यान दिँदै लकडाउनलाई क्रमशः एकातिर कडा र अर्कोतिर खुकुलो बनाउने नीति बन्नुपर्छ ।

लकडाउन समग्र रुपमा खोल्ने बेला अझै भएको छैन । दिनप्रतिदिन संक्रमितको संख्या थपिँदै छ र मृत्यु हुनेको संख्या पनि थपिँदैछ । सिनेमा घर, पार्टी प्यालेस र रेष्टुरेन्टहरु खुला गर्ने समय अझै भएको छैन । जनताका दैनिक उपभोगका अत्यावश्यक सामान किनवेच गर्न अहिलेसम्म रोकिएको पनि छैन । दूध, फलफूल तरकारी माछामासु अण्डाको बजार र सहज आपूर्ति व्यवस्थालाई सघं र स्थानीय सरकारको समन्वयमा व्यवस्थित गर्नु आवश्यक देखिएको छ । बजार र सार्वजनिक यातायात भने अझै केही समय खोल्नु हुँदन । सीमामा कडाई गर्नुपर्छ र भारतीय नागरिकको अवैध आवागमन पूर्ण रुपमा बन्द गरिनुपर्छ । परिचयपत्रको आधारमा आवजजावतको प्रबन्ध मिलाउनु उचित हुन्छ ।

शिक्षण संस्थहरु खोल्ने बेला अझै भएकोछैन । कोभिड–१९ को महामारी भर्खरै पहाडतिर सर्दैछ । नेपालमा कोरोनाका संक्रमण बालबालिका, विशेष युवा समूहमा बढी भेटिएको छ । बालबालिकालाई पूर्ण स्वास्थ्य सुरक्षाको प्रत्याभूतिसहित पठपाठन गराउने प्रबन्ध मिलाउन सम्भव छैन । अनलाइन शिक्षा रेडियो वा अरु के के थरी कुरा पनि आएको छ, त्यो व्यवहारिक कति हुनसक्छ जिम्मेवारहरुले ध्यान पुर्याउनुपर्छ । हाम्रा सामुदायिक विद्यालयले त्यो प्रबन्ध दुरदराजतिर मात्रै होइन राजधानीका विद्यालयमा समेत एकैनास रुपले संचालन गर्न सम्भव छैन । कुन वर्गका लागि यो कुरा हुँदैछ ? यसले शिक्षामा झन ठूलो खाडल पैदा गर्न सक्छ । त्यसैले सबै विद्यार्थीका लागि कसरी शिक्षा उपलब्ध गराउन सकिन्छ गम्भीरतापूर्व पुर्याउनुपर्छ ।

सरकारले कोरोना संक्रमित विश्वका विभिन्न देशबाट नेपाली नागरिकलाई ल्याउन सुरु गरेको छ । कोरोना विश्वभर जहाजबाट यात्रा गर्दैछ भन्नेकुरा प्रमाणित भएको छ । स्थलमार्गबाट छिरेकाले यति सताएको छ भने हवाइजहाजबाट सैर गर्ने सौखिन कोरोनाले सम्पन्न देशका सम्भ्रान्तलाई पनि छोडेन भन्ने त देखिइसक्यो । त्यसैले क्वारेन्टाइनको राम्रो प्रबन्ध मिलाउनुका साथै स्वास्थ्यपाचारको समुचित प्रबन्ध व्यवस्थापन गर्नु आवश्यक देखिन्छ ।

नेपालले समयमै लकडाउनको घोषणा गर्यो । महामारी विरुद्धको युद्धमोर्चा सरकारले समयमै सम्हालेको हुँदा संक्रमण र मृत्युदर नियन्त्रण गर्न अहिलेसम्म सफल भएको छ । यद्यपी, पछिल्ला दिनको परीक्षणबाट तिब्रतासाथ संक्रमित संख्या बढेको देखिएको छ । मृत्यु हुनेको संख्या पनि थपिँदैछ । त्यसैले लकडाउनमा कडाईं त गर्नुपर्नेछ । अर्कोतिर हातबाँधेर बस्दा मुखमा माड नलाग्ने स्थिति पनि छ । सर्प पनि मर्ने लठ्ठी पनि नभाँचिने कौशलता प्रदर्शन गर्नुपर्ने चुनौती सरकारसामुख देखिएको छ । सरकार समक्ष बन्द र खुलाको द्वन्द्ववाद लागु गर्न सिपालु हुनुपर्ने चुनौती छ अहिले ।

प्रकाशित मिति : २७ जेष्ठ २०७७, मंगलबार  १२ : ५२ बजे

सिट बाँडफाँट टुंग्याउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

काठमाडौं । सिट बाँडफाँडको टुंग्याउन सत्तारुढ गठबन्धनको बैठक आज पनि

आजको मौसम : देशभर बिहानैदेखि वर्षा, दिउँसो भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर बिहानैदेखि पानी परिरहेको छ । जल तथा

च्याम्पियन्स लिगमा बार्सिलोना इन्टरसँग हार्‍यो

काठमाडौं । युरोपीयन च्याम्पियन्स लिग फूटबल प्रतियोगितामा बार्सिलोना इन्टर मिलानसँग

१७ वर्षमुनिको एसियन कप छनोट : नेपाल आज थाइल्याण्डसँग खेल्दै

काठमाडौं । एएफसी यू-१७ एसियन कप छनोटको पहिलो खेलमा नेपालले

राष्ट्रपति भण्डारीले सर्वसाधारणलाई दशैँको टीका लगाइदिने, छुट्याइयो २ घण्टा समय

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बुधबार विजया दशमीका दिन