१ चैत्र २०८२, आइतबार | March 15, 2026

सडकको खाल्डाखुल्डीले दुर्घटना जोखिम बढ्दो



महोत्तरी । महोत्तरीका मुख्य सबैजसो सडकको अवस्था बिग्रेको छ । यसपालि मध्य असारसँगै शुरु भएको वर्षा साउन मध्यसम्मै रहँदा त्यससँगैको बाढीले गर्दा जिल्लाका सबैजसो सडकमा खाल्डाखुल्डी बढ्दै गएर जताततै पोखरीजस्तै बनेपछि यस्तो अवस्था बनेको हो ।

बर्दिवास–रामगोपालपुर–जलेश्वर, सम्सी–जलेश्वर, बर्दिवास–रौजा–जलेश्वर र सम्सी–लोहारपट्टी–जनकपुरसहितका मुख्य सडक बाढीले ठाउँठाउँ भत्काएर सवारी साधन चल्न नसक्ने भएका छन । खाल्डैखाल्डा बढेका र सबैमा फोहर पानी जमेपछि यी सडकमा साइकल, मोटरसाइकलजस्ता साना दुई पाङ्ग्रे साधन चल्न छाडेको पनि एक महिना हुन लागेको छ । खासमा असार अन्तिम साताको छ दिनसम्मको र साउन पहिलो साताको तीन दिने मुसलधार वर्षाले जिल्लाका सडक खाल्डा र पोखरी बनेका हुन । यी सबै सडक हुलाकी मार्गअन्तर्गत स्तरोन्नतिको काम थालिएका सडक हुन ।

यद्यपि काम थालिएको दुई वर्ष नाघ्दा पनि परिणाममुखी नतिजा भने नदेखिँदा सर्वसाधारणमा सडक बन्ने आश मरेको छ । यीबाहेक पूर्वपश्चिम राजमार्गको अवस्था पनि अत्यन्त नाजुक छ । पूर्वमा रातु नदीको पुलदेखि पश्चिममा बाँके नदीको पुलसम्मको महोत्तरीमा पर्ने राजमार्ग क्षेत्रमा सयौँ सङ्ख्याका ठूलठूला खाल्डा बनेका छन । सडक भत्कन थालेसँगै तत्काल मर्मतसम्भारका काम नगरिँदा सडकको दूरावस्था बढेको हो । अचेल राजमार्गका यी असङ्ख्य खाल्डाखुल्डीले दुर्घटना जोखिम निकै बढाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवास, महोत्तरीका प्रमुख तथा प्रहरी निरीक्षक कैलाश खत्री बताउछन ।

राजमार्गमा खाल्डाखुल्डीले बढाएको दुर्घटना जोखिम टार्न ट्राफिक प्रहरीले बजारचोक क्षेत्रमा खाल्डा बनेका ठाउँमा ‘ट्राफिक कोण’ बनाएको छ । दिनहुँ खाल्डा बढ्दै जाँदा ‘ट्राफिक कोण’ पनि कति ठाउँ राख्ने भन्ने समस्या बढेको खत्री बताउछन । राजमार्गका पुलको अवस्था अत्यन्त नाजुक बन्दै गएको छ । पूर्वमा धनुषासँगको साँधको रातुपुलदेखि पश्चिममा सर्लाहीसँगको सीमा बाँके नदीको पुलबीचमा सानाठूला गरी १५/१६ वटा पुल छन । सबैजसो पुलमा कालोपत्रे उधिनिएर खाल्डैखाल्डा बढेका छन । रातु, रातुछहरा, भब्सी, अटाबे, जङ्घा, गणन्ता, ढुङ्ग्रे, टुटेश्वर, ढोलनखोला, मरहा, खयरमारा र बाँके नदीलगायतका पुल जीर्ण भएका छन ।

पुलको कालापत्रे उप्केर ठाउँठाउँमा भ्वाङ परेका छन । यीमध्ये जङ्घामा तीन वर्ष पहिले पुलको मर्मतसम्भार र रातुमा दुई वर्ष पहिलेमात्र नयाँ पुल प्रयोगमा आएको हो । अहिले सबैभन्दा बढी भ्वाङ रातु पुलमै परेका छन । राजमार्गको यात्रा जोखिमपूर्ण भए पनि विकल्प नभएपछि सडक यात्रु यो जोखिम मोलेरै यात्रा गर्ने गरेका बर्दिवास उद्योग वाणिज्य सङ्घका महासचिव भवनाथ खतिवडाले बताए । खासमा रातुमा नयाँ पुल निर्माण भएर प्रयोगमा आएको केही दिनभित्रै पुलमाथि खाल्डाखुल्डी बढेपछि निर्माण चरणमै कमसल सामग्री प्रयोग गरिएको यस भेगका सर्वसाधारणको गुनासो छ ।

पछिल्ला केही दिनयता मौसम सफा भए पनि राजमार्ग र अन्य सडक मर्मतसम्भारको काम नथालिँदा सर्वसाधारणमा निरासा बढेको छ । राजमार्ग र अन्य मुख्य हुलाकी मार्गमा स्थानीयतहले काम छुने गरेको छैन । यी सबै सडकको मर्मतसम्भार डिभिजन सडक कार्यालय मुजेलिया (जनकपुरधाम)को जिम्मेवारीभित्र रहेको हुँदा सो कार्यालयलाई निरन्तर घच्घच्याई रहिएको बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्किले बताए । नगरपालिका कार्यालय छेउमैै राजमार्गमा पोखरी जत्रा खाल्डा बन्दा पनि नगर नेतृत्व मुकदर्शक बनेको भन्दै बर्दिवासका स्थानीय भने असन्तुष्ट देखिएका छन ।

यसैबीच डिभिजन सडक कार्यालय मुजेलियाले आफ्नो कार्यक्षेत्रका सबै सडकको निर्माण र मर्मतसम्भारको काम थाल्न राम्रो मौसम कुरेको जनाएको छ । “दुई÷तीन दिनदेखि मौसममा सुधार हुने छाँट देखिएको छ”, डिभिजन प्रमुख विनोदकुमार महुवार (यादव)ले भने, “अब काम सघनरुपले अघि बढाइने छन ।” पानी परी रहँदा सडक निर्माण र मर्मतसम्भारका काम नहुने भएको हुँदा राम्रो मौसम पर्खदा काममा ढिलाइ भएको डिभिजन प्रमुख महुवारको स्वीकारोक्ति छ ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ९ : १६ बजे

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा भारी मूल्य

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन