१ मंसिर २०८२, सोमबार | November 18, 2025

दुई अध्यक्षको टकरावले पार्टी एकता गम्भीर संकटमा



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच देखिएको गम्भीर मतभेदका कारण पार्टी एकता संकटमा परेको छ ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीका कामलाई प्रभावकारी रूपमा अघि बढाउन छोडेर प्रधानमन्त्री पदमा दाबी गर्न थालेपछि समस्या सिर्जना भएको हो ।

प्रचण्ड निकट स्रोतले भने प्रधानमन्त्री पद नमागिएको तर प्रधानमन्त्री ओलीले स्थायी कमिटी बैठकको निर्णयविपरीत कार्य गर्न थालेकाले पार्टीभित्र गम्भीर समस्या सिर्जना भएको दाबी गरेको छ । पछिल्लो भेटमा कार्यकारी अध्यक्ष प्रचण्ड आफैंले प्रधानमन्त्री ओलीसँग अब सँगै जान सक्ने अवस्था नरहेको बताएका थिए भने जवाफमा ओलीले पनि त्यसो भए बाटो ‘क्लियर’ गर्दा हुने बताएपछि दुई अध्यक्षबीचको मतभेद सतहमा आएको हो ।

दुवै अध्यक्ष सहमतिका लागि इच्छुक नदेखिएपछि नेकपा भयानक संकटको मोडमा पुगेको स्रोतको दाबी छ । यद्यपि अन्य नेताहरूले भने दुई अध्यक्षलाई मिलाउने कसरत थालेका छन् । ‘कार्यकारी अध्यक्ष आफैंले दुई जना अध्यक्ष सँगै हिँड्न नसक्ने बताएपछि समस्या आएको हो,’ प्रधानमन्त्री निकट स्रोतले राजधानीसँग भन्यो । तर, कार्यकारी अध्यक्ष प्रचण्ड निकट स्रोतले भने प्रचण्डले प्रधानमन्त्रीसँग त्यस्तो भनाइ नराखेको दाबी गरेको छ ।

दुई अध्यक्षको बढ्दो टकरावका कारण सरकार र पार्टीको अवस्था कमजोर बन्दै गइरहेको देखिएको छ । हालै सम्पन्न स्थायी कमिटीको निर्णय र सहमतिपश्चात् साम्य भएको विवाद फेरि बल्झेपछि पार्टी एकता नै संकटमा परेको हो । नेकपा महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले नै पार्टीभित्र गम्भीर संकट उत्पन्न भएको खुलासा गरेका हुन् ।

महासचिव पौडेलले आइतबार ट्वीटरमार्फत नेकपाको एकीकृत र अविभाज्य अस्तित्वसामु गम्भीर संकट उत्पन्न भएकाले एकतालाई जोगाउन सबै नेता तथा कार्यकर्तासँग आह्वान गरेका छन् । ‘यतिबेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकृत र अविभाज्य अस्तित्वकासामु गम्भीर संकट उत्पन्न भएको छ,’ महासचिव पौडेलले लेखेका छन्, ‘आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरूसमक्ष अनुरोध गर्दछु ।’

उनले आपसी अन्तरविरोधलाई सहमतिमा समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्नुपर्ने आवश्यकतासमेत औंल्याएका छन् । नेकपा स्रोतका अनुसार कार्यकारी अध्यक्षले सरकारलाई सहयोग गर्नुको साटो विभिन्न स्थानमा लगातार गुटको भेला गर्दै हिँड्ने र प्रधानमन्त्री ओलीले पनि स्थायी र सचिवालय कमिटीको निर्णयविपरीतका काम गर्न थालेपछि विवाद बढेको हो ।

‘कार्यकारी अध्यक्षले पार्टीलाई प्रभावकारी रूपमा अघि बढाउनुको साटो दिनहुँजसो गुटगत भेला गर्दै हिँड्नाले समस्या सिर्जना भएको हो । उनि कार्यकारी अध्यक्ष नभएर गुटको मात्रै नेता बन्न पुगेको छन्, ‘प्रधानमन्त्री ओली निकट एक स्थायी कमिटी सदस्यले राजधानीसँग भने । प्रचण्ड निकट अर्का स्थायी समिति सदस्यले भने प्रधानमन्त्रीले नै पटक पटक सहमति तोड्ने काम गरेकाले समस्या सिर्जना भएको दाबी गरे ।

यसका साथै कर्णाली प्रदेश विवादमा देखिएको विवाद समाधान गर्नुको सट्टा अध्यक्षद्वय ओली र दाहालले फरक फरक निर्देशन दिनुले विवाद उत्कर्षमा पुगेको हो । नेकपा पर्साका नेता महेश चौरसिया हत्याकाण्ड, प्रधानमन्त्री ओली र भारतीय गुप्तचर संस्था रअ प्रमुख सामन्तकुमार गोयलसँगको गोप्य भेटघाटले समेत दुई अध्यक्षका बीचमा दुरी बढाएको नेकपा स्रोतको दाबी छ ।

नेकपा स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले पार्टीका अध्यक्षद्वय ओली र दाहाल स्थायी कमिटी र सचिवालयको म्यान्डेटअनुसार चल्नुपर्ने सुझाव दिएका छन् । उनिहरुको बीचमा समझदारी हुन्छ, हुनकै लागि हामीले पहल गर्छौं,’ सांसद समेत रहेका पौडेलले भने, ‘कर्णालीको विवाद र पर्साको घट्नाले अलि अलि भइरहेको छलफललाई विषयान्तर गरेको छ ।’

अध्यक्षद्वय ओली र दाहालबीच सहमति खोज्नुको विकल्प नभएको बताउँदै उनले नेताहरूले विवाद, विमति र असहमतिको बीचमा पनि सहमति खोज्नुपर्ने बताए । केही विषयमा विमतिका स्वर देखिए पनि त्यसलाई समाधान गर्दै पार्टी एकता कायम राख्नुको विकल्प नभएको उनले बताए ।

प्रधानमन्त्री ओली र रअ प्रमुख गोयलबीच भएको शिष्टाचार भेटवार्तालाई लिएर आपत्ति जनाउनुपर्ने कारण नरहेको नेता पौडेलले बताए । पार्टीभित्र देखिएको समस्या समाधानका लागि दोस्रो तहका नेताहरूले सक्रिय भूमिका खेल्नुपर्ने आवश्यकता रहेको उनले जनाए ।

नेकपा स्थायी कमिटीका सदस्य अष्टलक्ष्मी शाक्यले दुवै अध्यक्ष पार्टीको निर्णय र सहमतिअनुसार अघि बढ्नुपर्ने बताइन् । नेकपाका अर्का स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले सरकारले राम्रो काम गरिरहेको दाबी गरे । कोरोना भाइरसको महामारीका बीचमा समेत सरकारले प्रभावकारी काम गरिरहेको दाबी गर्दै उनले समृद्धि र सुशासनका क्षेत्रमा समेत सरकारले राम्रो काम गरेको बताए ।

‘झन्डै दुई तिहाई बहुमत प्राप्त सरकारका राम्रा कामलाई यहाँ ढाकछोप गर्ने र हिल्लो छ्याप्ने काम मात्रै भइरहेको छ,’ मण्डलले भने, ‘जनताको चाहना तथा जनमतअनुसार सरकारको कामलाई अझै प्रभावकारी बनाउन सकिने भए पनि पार्टीभित्रैका नेताको असहयोगका कारण पूरा गर्न नसकिएको हो ।’

पार्टीभित्रैबाट सरकारलाई असहयोग गर्ने काम पटक पटक भइरहेको बताउँदै उनले सरकारका कामलाई अझै प्रभावकारी बनाउने प्रयास जारी नै रहेको बताए । पार्टीमा शृखंलाबद्ध तरिकाले विवादका घटना बढ्दै गएपछि अहिले अध्यक्षद्वय ओली र दाहालले आफू निकटका नेतासँग गम्भीर छलफलसमेत जारी राखेका छन् ।

नेकपा स्रोतका अनुसार केही समययता अध्यक्षद्वय ओली र दाहाल आफू निकटका नेताहरूसँग दिनहुँजसो छलफलमा छन् । अध्यक्ष दाहाल निवास खुमलटारमा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, सचिवालय सदस्य नारायणकाजी श्रेष्ठलगायतका नेताहरूले छलफल गरिरहेका छन् भने प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङसँग छलफल गर्ने गरेको नेकपा स्रोतको दाबी छ । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ७ : ०२ बजे

सुरक्षा चुनौती निस्तेज पार्ने रणनीति बनाउन महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा देखापरेको सुरक्षा चुनौतीको

काठमाडौं अवतरण हुन नसक्दा नेपाल वायुसेवा निगमका जहाज अव भैरहवा ‘डाइभर्ट’ हुने

काठमाडौं । विभिन्न कारणले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण हुन नसक्दा

नेपालगन्जमा सर्वाधिक कर तिर्ने वेष्टर्न अस्पताललाई कर कार्यालयको सम्मान

नेपालगन्ज । आन्तरिक राजश्व कार्यालय नेपालगन्जबाट आर्थिक वर्ष २०८०/०८१ मा

जेनजी आन्दोलनका क्रममा नेपालगन्जमा तोडफोड, आगजनी र लुटपाट गर्ने ६ जना पक्राउ

नेपालगन्ज । गत भदौ २४ गते जेनजीको आन्दोलनका क्रममा नेपालगन्ज

प्रधानाध्यापक र अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित श्री विश्वमैत्री आधारभूत