७ आश्विन २०८३, बुधबार | September 23, 2026

सप्तरीमा जङ्गली हात्तीको आतङ्क



सप्तरी । कोशी टप्पु वन्यजन्तु आरक्षबाट दैनिक निस्किने जङ्गली हात्तीका कारण चिसो मौसममा पनि सप्तरीका उत्तरी क्षेत्रका बासिन्दालाई जागराम बस्नुपर्ने चिन्ताले पिरोलिएको छ ।

जङ्गलबाट अहारको खोजीमा निस्किएर बस्ती आउने हात्तीको समूहले आक्रमण गर्ने, घरबार तोडफोड र क्षति गर्ने गरेको हुँदा उनीहरूलाई हात्ती आतङ्कबाट बच्न जागराम बस्नुपर्ने चिन्ताले पिरोलिएको हो । पछिलोपटक सोमबार सप्तरीको सुरुङ्गा नगरपालिकास्थित दौलतपुरमा जङ्गली हात्तीको आक्रमणमा परी एक जना वृद्धको मृत्यु भएको थियो ।

जिल्लाको सुरुङ्गा नगरपालिका-३ दौलतपुरमा राति उठेर पिसाब फेर्न घरबाहिर निस्केका बेला जङ्गलबाट निस्केको दुई वटा हात्तीले एक्कासि लखेटेपछि भाग्ने क्रममा स्थानीयवासी ७० वर्षीय सीताराम साहको लडेर मृत्यु भएको थियो । लडेर अचेत अवस्थामा भेटिएका उनको सिरहास्थित सप्तऋषि अस्पताल लहानमा उपचारका क्रममा मृत्यु भएको थियो ।

केही दिनयता कोशी टप्पु वन्यजन्तु आरक्षबाट दैनिक निस्केका जङ्गली हात्तीको कारण जिल्लाको सुरुङ्गा, रुपनी, शम्भुनाथ, कञ्चनपुर, रुपनगर र वेरवासहित विभिन्न ठाउँका मानिस रातिको समयमा जागराम बस्नुपरेको वीरेन्द्र बजारका बृजमान तामाङले बताए ।

हात्तीले दैनिक आतङ्क मचाउँदै आएका अवस्थामा कुन बेला हाम्रोतिर आउने हो भन्दै रातको समयमा जागेर बस्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । त्यस्तै सप्तरीको सुरुङ्गा नगरपालिका-६ श्रीपुरमा विगत केही दिनदेखि हात्ती आतङ्क बढेको छ ।

राति करिब १२ बजेको समयमा तीन वटा हातीको समूहले पाँच जनाको घरमा तोडफोड गरी अन्नपात खाएको स्थानीयवासी रविलाल चौधरीले बताए । हातीको समूहले दुई दिन रातिदेखि पटक-पटक गाउँ पसेर आतङ्क मचाइएको उनको भनाइ छ ।

हात्तीले स्थानीय इन्द्रनारायण चौधरी, उमाकान्त चौधरी, भोलाप्रसाद चौधरी, शिवनारायण राम र बद्रीनारायण साहलगायतका घर तोडफोडसमेत गरेका छन् । यसबाट बच्ने उपाय छिटोभन्दा छिटो खोज्नेतर्फ सबै मिलेर लाग्नुपर्ने नगरप्रमुख मुक्तनाथ चौधरीले बताए ।

यस्तै कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीले दुई दिन अघि मात्रै राति सप्तरीको शम्भुनाथ नगरपालिकाको आधा दर्जन घर भत्काउनुका साथै लाखौँको अन्नबाली नष्ट गरेको छ ।

हात्तीको समूहले शम्भुनाथ नगपालिका वडा नं २ र ७ मा आधा दर्जनभन्दा बढी फुसको घर भत्किनुका साथै लाखौंको खाद्यान्न र खेतमा लगाइएका अन्नबाली नष्ट गरेका छन् । चार/पाँच वटा समूहमा रहेको हात्तीले शम्भुनाथ नगरपालिका-२ का मो. जाहागिर, मो असराद्दिन, मो. हजरादिन तथा वडा नं ७ का सिमरित दास, सुकमार दास, भीम दास, राजकुमार दास, काशीकुमार दासलगायतको घर भत्काइदिएको पीडितले बताएका छन् ।

हात्तीको आतङ्कपछि गाउँले त्रासमा जाग्राम बस्न समेत थालेका छन् । सो क्षेत्रका बालबालिका पनि घर बाहिर निस्कन डर मानिरहेका छन् । हात्ती आतङ्कबाट सर्वाधिक प्रभावित मानिएको शम्भुनाथ नगरपालिका, कञ्चनरुप नगरपालिका, सुरुङ्गा नगरपालिका, सप्तकोशी नगरपालिका, खडक नगरपालिका, हनुमाननगर कङ्कालिनी नगरपालिका, रुपनी गाउँपालिका र अग्निसाइर कृष्णासवरण गाउँपालिकाका बासिन्दाले वर्षौंदेखि नियन्त्रण र क्षतिपूर्ति माग गर्दैै स्थानीय प्रशासन र आरक्ष प्रशासनलाई ज्ञापनपत्र बुझाए पनि हालसम्म कुनै ठोस पहल नभएको उनीहरूको गुनासो छ । कोशी टप्पु वन्यजन्तु आरक्षका हात्तीले छ महिनायता मात्रै जिल्लामा दर्जनौँ घर भत्काएर लाखाैं मूल्यको धनमाल क्षति पु-याएको प्रहरी तथ्याङ्कले देखाएको छ ।

अन्नबाली खान र चिसो मोसममा हात्ती धरै बाहिर निस्कने भएकाले अहिलेको समयमा जिल्लाको पश्चिमी, पूर्वी तथा उत्तरी भेगमा आतङ्क मचाउन थालिएको स्थानीयवासीको भनाइ छ । जङ्गली हात्तीले घर मात्र होइन, खेतबारीमा लगाएको अन्नबाली धान, गहुँ, मकै, केरा, तरकारीसमेत खाने र कुल्चेर नष्ट गर्ने गरेको पीडितहरूको भनाइ छ ।

धनमाल, सम्पत्ति र परिवारजनको ज्यान जोगाउनका लागि टर्च लाइट, आगो बालेर, लाठीसहित घरेलु हतियारले हात्ती लखेट्ने प्रयास गर्दा पनि सफलता नपाएको उनीहरूको गुनासो छ । रासस

 

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ५ : ३५ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज