१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

घरबासले ल्यायो महिलाहरुको जीवनमा परिर्वतन



गलकोट । घरधन्दामा मात्रै सीमित हुने यहाँका महिलाहरु घरबासका कारण जीवन नै परिवर्तन हुन थालेको बताउँछन ।

घाँस, दाउरा र मेलापातमा मात्रै सीमित हुँदा आर्थिक सङ्‍कट भोग्दै आएका यहाँका महिलाहरु घरबास सञ्चालनसँगै सक्षम बन्दै गएका छन । घरबासले आर्थिक मात्रै होइन सामाजिक जीवनमासमेत परिवर्तन ल्याएको घरबासका महिला सञ्चालकहरु बताउँछन ।

जिल्लामा सञ्चालित २८ सामुदायिक घरबासमा महिलाको सक्रियता बढी छ । सामाजिक कार्यमा सहभागी नभएका महिलाहरु घरबास सञ्चालकसँगै बोल्न सक्ने, तालिममा सहभागी हुने, पर्यटनको विकासमा लाग्नसमेत थालेका छन । सुरुमा घरबास सञ्चालनबारे अनभिज्ञ रहेका महिलाहरु आफ्नो दैनिकीसँगै घरबासमा आएको पाहुनाको स्वागत तथा सत्कारमा जुट्ने गरेका छन ।

घरखर्च चलाउनसमेत श्रीमान् र परिवारका सदस्यको भरमा पर्ने महिलाहरु घरबास सञ्चालनसँगै आर्थिकरूपमा समेत सबल बन्दै गएको र गाउँलाई फरक पहिचानमा चिनाउन सफल भएको काठेखोला गाउँपालिका-३ धम्जास्थित बेलढुङ्‍गा सामुदायिक घरबासकी सञ्चालक माया श्रीसले जानकारी दिइन ।

“दुई वर्ष अघिबाट घरबास सञ्चालनमा ल्याए पनि एक वर्ष अघिबाट मात्रै पाहुना आउन थालेका छन्,” श्रीसले भनिन्, “सुरुमा निकै अन्योलपूर्ण अवस्था थियो, अहिले हामीमा समेत परिवर्तन ल्याउन थालेको छ, घरबासले आन्तरिक पर्यटक बढाउँदा आयआर्जनका साथै घरबास नजिकै रहेको पर्यटकीय स्थल बेलढुङ्‍गाको प्रचार प्रसार भएको छ ।” बेलढुङ्‍गामा आएका पर्यटकहरुले खान बस्नको राम्रो प्रबन्ध खोज्न थालेपछि महिलाहरुको अगुवाइमा घरबास सञ्चालनमा ल्याएको बेलढुङ्‍गा सामुदायिक घरबासका सञ्चालक गोपाल श्रीसले बताइन ।

जनजातिको बाहुल्य रहेको बागलुङका विभिन्न स्थानमा घरबास फस्टाउँदै गएका छन । जिल्लाको पहिलो घरबासका रूपमा रहेको पर्यटकीय गाउँ भकुण्डेमा अहिले दुई घरबास छन । यहाँका महिलाहरुले घरायसी कामबाहेक घरबास सञ्चालन गरी राम्रो आम्दानी मात्रै होइन व्यक्तित्व विकाससमेत गर्दै आएको घरबासकी सञ्चालक अप्सरा थापाले बताइन ।

विसं २०६९ मा खुलेको बागलुङको पहिलो घरबास अथिति सत्कार घरबासले बागलुङमा घरबासको अवधारणा ल्याएको थियो । त्यसपछि घरबास सञ्चालन गर्ने अधिकांश महिलाहरुको जीवनमा उल्लेख्य परिवर्तन आउन थालेको सञ्चालकहरुले नै बताउँदै आएका छन ।

“गाउँमा घरबास सञ्चालनमा आएपछि गाउँघरका दिदीबहिनीहरुको दैनिकी परिवर्तन भएको छ, हाम्रो काम गर्ने शैली, बोलीचाली र लवाइखवाइसमेत सुधारिएको छ,” गलकोट नगरपालिका-२ स्थित तोरीखोला सामुदायिक घरबासका सञ्चालक सीता पुनले भनिन्, “तीन वर्ष अघिदेखि सञ्चालनमा आएको घरबासमा कोरोनापछि पुनः पाहुना आउन थालेका छन्, विस्तारै व्यावसायिकरूपमा लाग्दैछौँ, धेरै पाहुना आउँदा सबै गाउँका महिला मिलेर स्वागत सत्कार तथा नाचगान गर्ने हुँदा गाउँमा एकताको भावनासमेत जाग्दै आएको छ ।” पुनका अनुसार सुरुमा बोल्नसमेत हिचकिचाउने बागलुङका महिलाहरुमा घरबास चलाउन थालेपछि आमूल परिवर्तन आउन थालेको छ ।

घरबासले समयको व्यवस्थापन, सामाजिक भावनासँगै आर्थिक उपार्जन तथा गाउँको प्रचारप्रसारको माध्यम बन्दै गएको अर्का सञ्चालक रजिकला श्रीसले बताइन । सुरुमा बोल्नसमेत लजाउने धम्जाका महिलाहरु अहिले नाचगान गर्ने पाहुनालाई मनोरञ्जन दिन थालिसकेका छन ।

दुई वर्ष अघिदेखि सञ्चालनमा आएको बेलढुङ्‍गा सामुदायिक घरबास १२ घरमा सञ्चालित छ । एकै रातमा ५० भन्दा बढी पाहुना राख्ने क्षमता घरबाससँग रहेको छ । घरबासमा आलुका विभिन्न परिकार, कोदोको सेल, कोदोको ढिँडो, लोकल खसी बोका, लोकल कुखुरा, सिन्की, भट्ट, मकैलगायतका घरबासमा मुख्य परिकार रहेको घरबास व्यवस्थापन समितिका सचिव गोपाल श्रीसले बताइन ।

घरबास सञ्चालकहरुले पाहुनालाई सालैजो, यानीमाया, ठाडो भाकालगायतका विभिन्न गीत तथा नाचले स्वागतसमेत गर्दै आएका छन । घरबास नजिकै म्याग्दी र बागलुङको सिमानामा पर्ने पर्यटकीय क्षेत्र बेलढुङ्‍गा भएको हुँदा यहाँ घुम्न आउने पर्यटकहरु सिधै घरबासमा आउने गरेका छन । रासस

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  ७ : ३० बजे

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु

सुर्खेत । कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने उद्देश्यले निर्माण कार्य

दुर्गा प्रसाईंको हतियारको इजाजतपत्र र नवीकरण बारे छानबिन गर्न समिति गठन

काठमाडौँ । गृहमन्त्रालयले  दुर्गा प्रसाईंको नाममा रहेको हतियारको इजाजतपत्र र

जलवायु परिवर्तनको सबैभन्दा बढी असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको

सुनको मूल्यले बनायो अहिले सम्मकै नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको भाउले शुक्रबार अहिले सम्मकै नयाँ रेकर्ड

चीनको ‘जीडीआई’बाट नेपालले पनि लाभ लिनसक्छ : एमाले उपाध्यक्ष पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले