३ आश्विन २०८३, शनिबार | September 20, 2026

आजदेखि २०७८ साल सुरू, एकापसमा शुभकामना आदानप्रदान गरेर मनाइँदै



काठमाडौं । नेपालीहरूको नयाँ वर्ष २०७८ आज सुरू भएको छ ।

आज विक्रम संवत २०७८ को पहिलो दिन वैशाख १ गते नेपालीहरूले एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाउँदै छन् ।

आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा माधव भट्टराई बताउँछन् ।

“विक्रम ६० संवत्सरमध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत् भनिएको हो, सूर्यको गति र स्थितिअनुसार विक्रम संवत् चल्दछ, शक संवत्का विशेषतादेखि इश्वी संवत्का व्यावहारिक गुण यसभित्र समावेश गरिएको छ”, उनले भने ।

सूर्य मेष राशिमा प्रवेश गर्दा शुरु भएर मीन राशि छोड्दा यो संवत्को पुरानो वर्ष सकिएर नयाँ वर्ष शुरु हुने भएकाले वैज्ञानिक रहेको विद्वान्को भनाइ छ ।

सौरमान र चान्द्रमानको समन्वय पनि यो संवत्मा भएको छ । कलि युग शुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् शुरु भएको हो ।

हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता/असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्दछन् ।

आज बिहानै नुहाउने, घरकोठा-आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसङ्गाती तथा इष्टमित्रसँग भेटघाट गरी एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँछन् ।

 

पशुपतिनाथमा दर्शनको विशेष व्यवस्था

नयाँ वर्षका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने भक्तजनलाई विशेष व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले बताउँछन् ।

पश्चिम मूल ढोकाबाट दर्शन गर्न चाहने भक्तजनका लागि प्रवेश गराउने तयारी छ । नयाँ वर्षका अवसरमा विशेष पूजा गर्न चाहने भक्तजनका लागि पनि व्यवस्था मिलाइएको उनले सुनाए ।

पछिल्लो समय वैशाख १ गते पनि पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लाग्ने गरेको थियो । दर्शनार्थीको चापलाई हेरेर पशुपति क्षेत्रको सुरक्षा व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

नयाँ वर्षका अवसरमा नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवं शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ ।

काठमाडौँको उत्तरी भेगस्थित गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको सङ्गममा रहेको वाग्द्वार (वाग्मती नदीको उद्गमस्थल), टोखा नगरपालिकास्थित सपनतीर्थ, भक्तपुरमा मनाइने बिस्केट जात्रा, कीर्तिपुरस्थित चम्पादेवीमा लाग्ने जात्रालगायत देशभर लाग्ने मेला पनि कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षाका विधि अपनाएर भौतिक दूरी कायम गरी मनाइँदै छ ।

चान्द्रमानअनुसार चैत्र शुक्ल प्रतिपदाका दिन नै शुरु हुने नयाँ संवत्सर भने चैत ३१ गतेदेखि नै शुरु भइसकेको छ । चैत ३१ गतेदेखि राक्षस नामको संवत्सर शुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा.डा रामचन्द्र गौतमले बताए ।

वैदिक सनातन हिन्दू धर्मअनुसार ६० संवत्सर छन् । यी संवत्सर आदि अनादिकालदेखि घुम्दै आएका छन् । षष्टि संवत्सरमध्येको पहिलोको नाम प्रभव हो । अहिले चलिरहेको राक्षस ४९ औँ संवत्सर हो । प्रत्येक संवत्सरको बेग्लाबेग्लै फल हुने ‘षष्टि संवत्सर’ नामक पुस्तकका लेखक वेदराज पन्त बताउँछन् ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ६ : २० बजे

अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न

कार्यदल मै नरहेका प्रदीप ज्ञवालीले लेखे पुनर्गठनसम्बन्धी कार्यदलको तेस्रो प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठनसम्बन्धी एजेण्डामा तेस्रो प्रतिवेदन

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब