२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

नयाँ पर्यटकीय गन्तव्य बन्दै दोलखाको हनुमन्तेडाँडा



दोलखा । दोलखाको वैत्येश्वर गाउँपालिका र जिरी नगरपालिकाको सिमानास्थित हनुमन्तेडाँडा यतिखेर आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनेका छन् ।

ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकसित भइरहेको हनुमन्तेडाँडामा पछिल्लो समय दैनिक पर्यटकको चहलपहल बढेका हुन् । समुन्द्री सतहदेखि तीन हजार २०० मिटर उचाइमा पर्ने सो क्षेत्रमा नयाँ वर्ष-२०७८ मनाउनका लागि अत्याधिक आन्तरिक पर्यटक पुगेका छन् ।

नयाँ पर्यटकीय गन्तव्यको रुपमा उदाउँदै गरेको हनुमन्तेडाँडा बिदामा घुम्ने उपयुक्त गन्तव्य समेत बन्न पुगेको छ । नयाँ वर्ष २०७८ मनाउन बुधबार मात्रै करिब पाँच हजार आन्तरिक पर्यटक हनुमन्तेडाँडा पुगेको वैत्येश्वर गाउँपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्यले बताए ।

नयाँ वर्षको अवसरमा दोलखाबाट निर्वाचित प्रदेशसभा सदस्य पशुपति चौलागार्इँ र विशाल खड्काको उपस्थितिमा दोलखाको घुम्नैपर्ने पर्यटकीय क्षेत्रमध्ये एक रहेको भन्दै हनुमन्तेश्वर पर्यटन विकास क्षेत्रसमेत घोषण गरिएको छ ।

प्रदेशसभा सदस्यद्वय चौलागाईँ र खड्काले खावाडाँडामा निर्माण भएको हनुमन्ते प्रवेशद्वारको उद्घाटन गर्दै हनुमन्ते पर्यटन क्षेत्र घोषणा गरेका हुन् । सोही अवसरमा हनुमन्तेश्वर डाँडामा निर्माण गरिएको हनुमानको मूर्तिसमेत अनावरण गरिएको थियो । “बिदामा घुम्ने उपयुक्त गन्तव्यको रुपमा हनुमन्तेडाँडा विकास भइरहेको छ”, प्रदेशसभा सदस्य चौलागाईँले भने, “त्यहाँको रमणीय दृश्यावलोकनका लागि पनि आन्तरिक पर्यटक आउने गरेका छन् ।”

हनुमन्ते क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउनका लागि वाग्मती प्रदेश सरकारले समेत विशेष चासो राख्दै आएको छ । उक्त क्षेत्रमा भ्रमण गर्न आउने पर्यटकलाई लक्षित गरी वाग्मती प्रदेश सरकारको सहयोगमा खावाबजारबाट हनुमन्तेको बेसक्याम्प मानिने मेहेलेसम्म सडक मार्ग निर्माण गरिएको छ भने मेहेलेबाट हनुमन्तेडाँडासम्म पदमार्ग सिँढी निर्माण गरिनुका साथै विभिन्न क्षेत्रमा पर्यटकीय संरचना निर्माण गरिएको छ ।

हनुमन्तेडाँडाको छुट्टै धार्मिक मान्यता रहेका कारण धार्मिक पर्यटक हनुमन्ते क्षेत्रमा पुग्ने गरेको पाइन्छ । हिन्दू धर्मशास्त्रानुसार हनुमानले हुमन्तेडाँडाको पहाडबाट नै सञ्जीवनीको बुटी लगेको उल्लेख गरिएको छ । परापूर्वकालमा हनुमन्तेडाँडामा हनुमानको मूर्ति आफै उत्पत्ति भएको किंवदन्ती पाइन्छ भने उक्त मूर्ति त्यस क्षेत्रबाट पछि चोरी भएको स्थानीयवासीले बताएका छन् ।

हनुमन्तेडाँडामा हिन्दू धर्मावलम्बीहरूको आस्था जोडिएको र यसलाई अब रामायण सर्किटसँग जोडेर धार्मिक पर्यटकको आकर्षक गन्तव्य बनाउने योजना रहेको प्रदेशसभा सदस्य चौलागाईँले बताए ।

हनुमन्तेमा जान चाहने पर्यटक सहजै उक्त क्षेत्रमा पुग्न सकिन्छ । चरीकोट-जिरी सडकखण्डअन्तर्गत खावाबजारबाट बेस क्याम्प मेहेलेसम्म यातयातका साधनमार्फत र केही घण्टा पैदलयात्रापछि हनुमन्तेमा पुग्न सकिन्छ ।

हनुमन्तेमा हनुमानको पूजा गर्न पाउनुका साथै उक्त क्षेत्रबाट विभिन्न हिमाल, रोलवालिङ हिमशङ्खला तथा आकर्षक प्राकृतिक सौन्दर्यको अवलोकन गर्न सकिन्छ । पर्यटकको चहलपहल बढ्न थालेसँगै त्यस क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण पनि शुरु भएको बताइएको छ । रासस

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ७ : १६ बजे

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ११ जना नियन्त्रणमा, चार मदिरा पसल सिल

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा

सत्कारले लोभिन्छन् भकुण्डेको घरबासका पाहुना

बागलुङ । साँझमा घरधन्दा सकेका घरबास सञ्चालकहरू सयपत्री फूलको माला

मनोबल बोकेर निर्वाचन सुरक्षामा खटियो नेपाल प्रहरी

रुपन्देही । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित

मौन अवधिमा सिरहा-३ का जसपा उम्मेदवार पक्राउ

सिरहा । प्रतिनिधिसभा निर्वाचनको मुखैमा जनता समाजवादी पार्टी (जसपा) नेपालका

इरानद्वारा कतारस्थित अमेरिकी अल उदैद सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार

काठमाडौं । इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डा अल उदैद