१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

सकियो कोरोना बीमा अवधि



काठमाडौं । २०७७ साउन १ बाट परीक्षणका रूपमा सुरु गरिएको कोरोना बीमा २०७८ साउन १ देखि बन्द भएको छ तर अझै पनि कोरोना बीमा गरेका सयौँ कोरोना पीडितले बीमाबापतको दाबी भुक्तानी पाउन सकेका छैनन् ।

विशेष गरी सामूहिक कोरोना बीमा गरेकाहरूको बीमा रकम भुक्तानीमा ढिलाइ भइरहेको छ । कुनै पनि महामारीको बीमा गर्ने प्रचलन विश्वका अन्य देशमा नभए पनि नेपालमा भने लघु बीमाअन्तर्गत परीक्षणका रूपमा कोरोना बीमा थालिएको थियो ।

आर्थिक वर्ष २०७७/७८ को बजेटमा नै कोरना बीमासम्बन्धी व्यवस्था गर्ने उल्लेख भएपछि बीमा समितिले कोरोना बीमा मापदण्ड २०७७ जारी गरेर प्रतिव्यक्ति ५० हजार र एक लाख गरी दुई किसिमको बीमा लेखमार्फत बीमा गर्न सुरु गरेको थियो ।

यसरी गरिएको बीमाको दायित्व बेहोर्न एक अर्ब रुपियाँसम्मको दायित्व बीमकले, एक अर्बदेखि दुई अर्ब रुपियाँसम्म नेपाल पुनर्बीमा कम्पनीले, दुई अर्बदेखि साढे दुई अर्ब रुपियाँसम्म बीमकको महाविपत्ति पुलबाट बेहोर्ने व्यवस्था गरेको थियो । त्यस्तै साढे दुई अर्बदेखि साढे तीन अर्ब रुपियाँसम्म बीमा समितिले र साढे तीन अर्ब रुपियाँभन्दा माथिको हकमा नेपाल सरकारले बेहोर्ने उल्लेख छ ।

हालसम्म बीमक, नेपाल पुनर्बीमा कम्पनी, बीमकको महाविपत्ति पुल र बीमा समितिले बेहोर्ने बीमा दाबी रकमको दायित्व पूरा भइसकेको र नेपाल सरकारको दायित्व बाँकी रहेको बीमा समितिले जनाएको छ । उक्त दायित्व बेहोर्न समितिले सरकारलाई पटकपटक अनुरोध गर्दै आएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

उनका अनुसार सरकारले सात अर्ब रुपियाँभन्दा बढी भुक्तान गर्न बाँकी छ । उनी भन्छन्, “हामीले सरकारलाई पटकपटक अनुरोध गरेका छौँ । भुक्तानीको प्रक्रियामा रहेको छ । केही दिनमा भुक्तानी होला ।”

बीमा गर्न अनुदान उपलब्ध गराउँदा सामूहिक कोरोना बीमा गर्दा लाग्ने बीमा शुल्कमा नेपाल सरकारले ५० प्रतिशत अनुदान उपलब्ध गराउने तर सरकारी कर्मचारीको भने शतप्रतिशत बीमा शुल्क अनुदान सरकारले नै उपलब्ध गराउने कोरोना बीमा मापदण्ड २०७७ मा उल्लेख गरिएको थियो ।

बीमा समितिले २०७७ चैत ३० गते सार्वजनिक गरेको तथ्याङ्कअनुसार ९१ हजार ६७३ जनाको बीमा दाबी भुक्तानीको फाइल परीक्षण पूरा भएको छ । त्यसमध्ये ६० हजार ५८७ जनाले पाँच अर्ब ८५ करोड १५ लाख रुपियाँ प्राप्त गरिसकेका छन् ।

चैत पछाडिको विवरण भने समितिले सार्वजनिक गर्न सकेको छैन । शनिबारको तथ्याङ्कअनुसार नेपालमा २५ हजार ९२५ कोरोनाका सङ्क्रमित देखिएका छन् भने नौ हजार ५२७ जनाको मृत्यु भइसकेको छ । त्यस्तै छ लाख ३० हजार ४०७ जना कोरोनाका बिरामी निको भएका छन् । आजको गोरखापत्र दैनिकमा राधा चालिसेले लेखेकी छन् ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ७ : २७ बजे

माइन, मिसाइल र लामो समुद्री तट : हर्मुज जलडमरूमा इरानको बलियो पकड

पश्चिम एशियाको हर्मुज जलडमरु लगभग चार हप्तादेखि प्रभावकारी रूपमा बन्द

मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै

महोत्तरी । मिथिलाञ्चलमा आज विविध धार्मिक अनुष्ठान गरेर रामजन्मोत्सव धुमधामका

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौं । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट

शैक्षिक गुणस्तर सुधार्न विद्यालयमा पूर्वाधार विकास

सिरहा । यहाँको लहान नगरपालिका-८ स्थित सिद्धार्थ आधारभूत विद्यालयमा बिहीबार

बाह्र वर्षपछि दोदा नदीमा पुल निर्माण

दोधारा चाँदनी । कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका जोड्ने दोदा