२० मंसिर २०८२, शनिबार | December 6, 2025

परिपक्क वैचारिक नेतृत्व, तर सधैं एक्ला नेता – पुष्पलाल



साउन ७ गते, पुष्पलाल स्मृति दिवस । कर्मकाण्डी शैलीमा पुष्पलालको स्मरण गर्नु नेपालका कम्युनिष्ट भन्ने पार्टी र नेताहरुको वार्षिक क्यालेण्डर भित्रै पर्छ । आज पनि पुष्पलालको नाममा उनको शालिकको फूल चढाउने र उनको स्मरणमा आफु अनुकुलका केही भाषण ठोक्ने काम हुन्छ । तर पुष्पलालको पदचाप पच्छयाउने अवस्थामा भने नेपालका कोही पनि कम्युनिष्ट छैनन् ।

 

को हुन् पुष्पलाल ?

नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्ने व्यक्तित्व पुष्पलाल श्रेष्ठ हुन् । वि सं २००६ सालमा कम्युनिष्ट पार्टी स्थापना गरी नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव भएका थिए । जीवनभर कम्युनिष्ट आन्दोलनमा अनवरत सक्रिय रहेका पुष्पलाल विसं सम्बत १९९७ मा राणाशासन विरुद्धको आन्दोलनमा आफ्ना दाजु गंगालाल श्रेष्ठलाई गोली हानी हत्या गरिएपछि उनी राणाविरोधी आन्दोलनमा सक्रिय भएका थिए । नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलालको नीतिले नै अग्रणी भूमिका खेलेको छ । उनको नीतिको विषयमा स्वयं तत्कालीन एमाले, मसाल, तत्कालीन माओवादी समेत अनुदार थिए । तर पछिल्लो नयां राजनीतिक परिस्थिति बनेपछि पुष्पलाल नेपाली कम्युनिष्ट आन्दोलनका युग पुरुष भन्ने पुष्ट्याई भएको छ ।

इतिहासलाई केलाउदा पुष्पलाल राणा शासनबाट मुक्त हुनुपर्छ भन्नेमा मात्रै सीमित थिएनन् । पुष्पलाल नेपाललाई सबैखाले सामन्तवादबाट कसरी मुक्त गर्न सकिन्छ भन्नेमा केन्द्रीत छन् । पुष्पलाल सामान्य परिवारका मानिस थिए, सामान्य परिवारको यूवाका अगाडि समकालीन राजनीतिमा शक्तिशाली बिरासत बोकेर आएका डिल्लीरमण रेग्मी, विश्वेश्वरप्रसाद कोइराला, मातृकाप्रसाद कोइरालाहरु निकै बलिया थिए । पुष्पलालसंग सहिद गंगालालको भाइ भन्नेबाहेक केही थिएन । उनीहरूको तुलनामा पुष्पलाल सामान्य एउटा युवा मात्र देखिन्थे, जबकि उनको तुलनामा कांग्रेसका नेता बौद्धिक थिए, ठूलो पारिवारिक पृष्ठभूमिका थिए । तर, जम्मा डेढ/दुई प्रतिशत जनता साक्षर भएको मुलुकमा बिरासतविना जन्मिएका पुष्पलालले मार्क्सवाद र ज्ञान–विज्ञानको दुनियाँमा त्यति ठूलो पहुँच राख्नु आफैमा असाधारण र असंभव जस्तै थियो ।

भारतीय कम्युनिस्ट नेताहरु नेपालमा कम्युनिस्ट पार्टी नै चाहिँदैन भन्दै थिए । कांग्रेसस“ग मिलेर क्रान्ति गर्दा राम्रो हुन्छ भन्ने उनीहरूको बुझाइ थियो । यस्तो जटिल अवस्थामा कम्युनिस्ट पार्टी गठन गर्ने कुरा इतिहासमा चानचुने विषय होइन । पुष्पलालले ००४ सालतिर भारत बसाइका क्रममा ‘कम्युनिस्ट पार्टीको घोषणापत्र’, ‘लेनिनको गाउँका गरिबलाई अपिल’, र कयैन चिनिया तथा सोभियत रचनाहरू अनुवाद गरिसकेका थिए । जबकि उनी त्यतिवेला पुस्तक बेचेर आफ्नो जीविका चलाउथें । उनको तुलनामा राष्ट्रिय कांग्रेसको सचिव भइसकेका अन्य मान्छेले त्यसरी गुजारा गर्नुपर्ने अवस्था थिएन । उनी झन्डै २१ वर्षको उमेरमा राष्ट्रिय कांग्रेसको सचिव भएका थिए । यी सबै समस्यामा टेकेर उनैले कम्युनिस्ट पार्टी गठन गरे । यसर्थ उनी इतिहासको चुनौतीलाई स्वीकार गर्दै त्यहाँसम्म आइपुगेका थिए, जुन सामान्य परिघटना थिएन होइन पनि  ।

२०१७ सालपछिको अन्तराष्ट्रिय परिस्थितिले विश्व मानचित्रमा रुस–चीन विवादलाई सतहमा ल्याइदिएको थियो । त्यसको असर नेपालमा नपर्ने कुरै थिएन । रुसी खेमाको नेतृत्व केशरजंग रायमाझीले गर्थे भने चिनियाँ खेमा रुसी अभियानलाई सोभियत साम्राज्यवाद भन्थ्यो । रुसी खेमामा रहेका रायमाझी राजालाई समर्थन गर्थे, भन्नुको अर्थ पार्टीको बहुमत सदस्यको समर्थन दरबारलाई थियो । अरू केही समूह पनि सक्रिय थिए, जसले संविधानसभाको माग गर्थे, तर पुष्पलाल न त दरबार न संविधानसभाको पक्षमा थिए । उनी संसद् पुनस्र्थापनाको माग गरिरहेका थिए । यो मूलतः कांग्रेसको संसद् थियो, जहाँ कम्युनिस्टका जम्मा चारजना सदस्य मात्र सहभागी थिए ।पुष्पलालले त्यही कांग्रेसको संसद् पुनस्र्थापनाको माग गरिरहेका थिए, जसले ००७ सालको क्रान्तिमा ‘हामीलाई पनि सहभागी गराऊ’ भन्दा मानेको थिएन । तर, कांग्रेसले किनारा लगाएको कम्युनिस्ट नेता पुष्पलाल संसद् पुनस्र्थापनाको माग गरिरहेका थिए । यसबाट पुष्पलालले आफूलाई प्रजातन्त्रको पक्षमा उभ्याउँछन् । उनका आफ्ना केही सीमा छन् र मौलिकता पनि । उनी न त रुसी प्रभावमा रहेको नेतृत्वसँग दरबार पस्छन् न चिनिया“ प्रभावमा परेर सोभियत साम्राज्यवाद भन्छन् । यही उनको मौलिकता हो । यसै बेलामा कांग्रेसका अधिकांश नेता भारत निर्वाासित भए, भने कैयौँ जेल गए । भारत निर्वासनमा रहेको कांग्रेसले राष्ट्रियताको सवालमा स्पष्ट अडान लिन सकेन । राजा पनि राष्ट्रियताको मुद्दा देखाएर कांग्रेसलाई लखेट्दै थिए । त्यतिबेला पुष्पलाल भारतसँग राष्ट्रिय मुद्दाको वकालत गर्दथे ।

त्यतिबेलाको पुष्पलालको दृष्टि र अडान असाधारण देखिन्छ । तर विडम्बना पाटीभित्र पुष्पलालको अवस्था भने निकै कमजोर थियो । पार्टीभत्र कमजोर यसमानेमा थिए कि २००६ सालमा पार्टी गठन गरेको व्यक्ति ००९ सम्म आइपुग्दा पार्टीबाट बेदखल हुन पुगेका थिए । ०१० सालमा मनमोहन अधिकारी पार्टी नेतृत्वमा आइसकेका थिए, तर राजाप्रति नरम हुने सर्तमा । ०१२ सालको महाधिवेशनमा नीति पुष्पलालकै पारित भयो, तर नेतृत्वमा केशरजंग रायमाझी आइपुगे । तरपनि यी यावत् उतारचढावबीच पुष्पलाल आफ्नो अडान छाडेनन् । उनी राष्ट्रियताको पक्षमा उभिएका थिए, तर राजतन्त्रको विपक्षमा उभिए । उनी प्रजातन्त्रको पक्षमा थिए, तर कांग्रेसको विपक्षमा उभिए । सबै उनका विरुद्धमा भएपनि पुष्पलाल कहिल्यै झुकेनन् । भारतसँग सम्झौता गरेर अघि बढ्न उनी तयार भएनन् । यही नै उनको आधारभूत राजनीतिक विचार थियो ।
मूलतः पुष्पलालको नयाँ जनवादको मर्ममा राष्ट्रियता, जनवाद र प्रजातन्त्र रहेको छ । यसका लागि उनी आफू क्षतविक्षत भएर पनि कम्युनिस्ट पार्टी टिकाउन पछि परेनन् । जसको स्पष्ट झल्को पुनर्गठनको अवस्थामा देखिन्छ । किनभने १९ जना केन्द्रीय समितिमा पार्टी पुनर्गठित गर्दा जम्मा ६ जनाले मात्र उनलाई साथ दिएका थिए । यस्तो अवस्थामा पनि नेपाली कम्युनिस्ट आन्दोलन र पार्टीलाई जोगाउन भने पुष्पलालकै प्रशिक्षणले काम गरेको छ ।

पुष्पलालको मुख्य मुद्दा नै जनताको जनजीविकाको सवाल थियो । पुष्पलालले राष्ट्रियता, प्रजातन्त्र र जनजीविकाको सवाललाई एकैपटक उठाए । यो उनको मौलिक नारा थियो, जसले गर्दा देशमा लोकतान्त्रिक आन्दोलन, राष्ट्रिय हितको आन्दोलन र जनपक्षीय आन्दोलनलाई बाँचिरहने भूमि तयार भयो । यसको जस पुष्पलाललाई नै जान्छ । उनैले तयार पारेको सैद्धान्तिक जगमा आजको नेपाली कम्युनिस्ट आन्दोलन उभिएको छ  । उनले उठाएका तीन प्रधान सैद्धान्तिक आधार मध्येको एक प्रजातन्त्रको नाराले नै कम्युनिस्ट शक्ति लोकतन्त्रको पक्षमा उभिन्छ भन्ने स्पष्ट भयो । झापा आन्दोलनदेखि मोहनविक्रम सिंह हु“दै माओवादीको जनयुद्धसम्मको सबै आधार उनै पुष्पलालको सैद्धान्तिक धरातलमा उभिएको छ चाहे उनलाई गद्दार नै घोषणा गरिएको किन नहोस । त्यसैले त गद्दार पुष्पलाल भन्ने मोहनविक्रम सिंहहरु समेत कालान्तारमा त्यो विश्लेषण गलत थियो भनेर स्वीकार गर्न बाध्य भए ।

 

वैज्ञानिक विचार

पुष्पलालले विचार, दर्शन र सामाजिक मूल्य–मान्यताको तहबाट एउटा नयाँ वास्तविक र सम्पूर्ण रूपमा क्रान्तिकारी, परिवर्तनकारी, वैज्ञानिक विचार प्रारम्भ गरेका थिए । नेपालको राजनीतिक धरातलमा पुष्पलालको पहिलो महत्व त्यो हो, जुन उनले सारेको सामाजिक न्याय र समानतासहितको समृद्धि  प्राप्त सुदृढ लोकतन्त्र । पुष्पलालले विचार मात्रै निर्माण गरेनन्, विचारलाई व्यवहारमा लागु गर्न शक्तिशाली संगठनको आवश्यकता समेत औल्याए । समाजको तत्कालीन अवस्थाको विश्लेषण, समाज र राजनीतिलाई मार्गदर्शन गर्ने विचार, दर्शन र संस्थाको स्थापनामा पुष्पलालको नेतृत्वदायी भूमिका रह्यो । मार्क्सद्वारा प्रतिपादित कम्युनिष्ट घोषणापत्रलाई नेपालीमा अनुवाद गरेर दार्शनिक तथा सैद्धान्तिक आधार प्रस्तुत गरे । नेपाली समाजमा परिवर्तन र रूपान्तरणको लागि पुष्पलालको योगदानसँग तुलना गर्न सकिने व्यक्तित्व छैन । पुष्पलालको योगदान नेपालको वामपन्थी आन्दोलनमा मात्रै होइन, लोकतान्त्रिक आन्दोलनमा पनि सर्वोच्च छ ।

 

कमजोर बनाउने प्रयास

वाम–लोकतान्त्रिक आन्दोलन र रूपान्तरणका व्यवस्थित विचारमा पुष्पलालस“ग अरु कसैको तुलना हुन सक्दैन, तर विडम्वना नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्पलाल विचार संगठनले जति दुरदर्शी र व्यवहावादी नेता थिए, उती आन्तरिक पार्टीभित्रको स्वार्थ समूहको चेपुवा पर्दै आएका थिए । नेपालको वाम लोकतान्त्रिक आन्दोलनमा पुष्पलालको श्रेष्ठता रहेको सत्य हो, तर पुष्पलाललाई एक्ल्याउने, कमजोर पार्ने प्रयासबाट कम्युनिस्ट आन्दोलनको असफलता प्रारम्भ भयो । पुष्पलाललाई कमजोर बनाउने र विचारबाट विमुख बनाउने षड्यन्त्रका केही नजिरमूलक घटनाहरु छन् । त्यसको ताजा इतिहास नेकपाको ०८ सालको पहिलो सम्मेलन होस् वा २००९ सालमा धनुषामा भएको विस्तारित बैठक । त्यसैगरि २०१० सालको पहिलो महाधिवेशन पनि पुष्पलालले धक्का खानु परेका थियो । विसं २०१४ सालको दोस्रो महाधिवेशन होस या ०१९ सालको तेस्रो महाधिवेशन यी सबै विशेष सन्दर्भमा पुष्पलालाई एक्ल्याउने, अलग पार्ने, नेतृत्वमा आउन वा रहन नदिने प्रयासमै नेताहरूको ध्यान र शक्ति खर्च भयो । त्यस्तो संकीर्णताले आन्दोलन सफलताका साथ अगाडि जानै सकेन ।

पुष्पलालका केही सांगठनिक कमी पनि नभएका होइनन् तर कम्युनिष्ट चेतना एउटा उपलब्धी हो । जुन २००६ सालमा उनले रोपेको विचारको फल हाल कम्युनिष्टहरु भन्ने पार्टीहरुको राजनीतिक हैसियत हो । संघीय नेपालका तीनै तहमा बलियो पकड बनाएको कम्युनिष्ट पार्टीले उनको विचारअनुसार पार्टी र मुलुक संचालन गर्न नसक्दा आज आफै छिन्नभिन्न भैसकेको छ । पुष्पलालले प्रतिपादन गरेको नेपाली माक्र्सवादी सोच र विचारलाई सापेक्षमा नेतृत्वले समय काल परिस्थिति अनुसार व्यवहारवादी विचारलाई स्वीकार्न नसक्ने जडता, अहंमता, व्यक्तिवादी अराजकता, कुण्ठा र अस्थिरता नै मुख्य बाधक रहेको देखिन्छ । पुष्पलालको विचार र दर्शनमा जति दक्खलता भएपनि पछिल्लो पुस्ताले त्यसलाई सही ढंगले लागु नगर्दा पार्टीभित्रको संकीर्णता वैचारिक ध्येयले नेकपालाई छिन्नभिन्न बनायको छ । गलत मान्छेको हातमा नेतृत्व पुगेपछि कम्युनिष्ट पार्टीको हैसियत कस्तो हुन्छ भन्ने कुरा एकाध वर्षका घटनाक्रमले पुष्टि गरको छ । जसको नीति उसको विचार भन्दा विचारविहीन अराजक व्यक्तिवादी प्रवृत्तिहरु हावी हुदै जाँदा कम्युनिष्ट आन्दोलन अहिले रक्षात्मक हुँदै लगभग विघटनको अवस्थामा पुगेको छ । दुई तिहाई बहुमत नजिकको शक्तिशाली कम्युनिष्ट पार्टी विभिन्न चिरा र उपचिरहरुमा फेरि फर्किएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहिबार  १० : ३४ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय