१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

माओवादी नेता कुलप्रसाद केसी ‘सोनाम’ बने लुम्बिनी प्रदेशका मुख्यमन्त्री, को हुन् ‘सोनाम’ ? (जीवनी सहित)



बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले नेकपा माओवादी केन्द्रका संसदीयदलका नेता कुल प्रसाद केसी(सोनाम)लाई लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका छन् । बुधबार २२ घण्टाको समयसिमा तोकेर संविधानको धारा १६८(२) अनुसारको सरकार गठन गर्न प्रदेश प्रमुख शेरचनबाट आह्वान भए अनुसार ४२ सांसदको समर्थन रहेको हस्ताक्षर सहित माओवादी केन्द्र संसदीयदलका नेता केसीले दाबी प्रस्तुत गरेपछि प्रदेश प्रमुख शेरचनले केसीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

अविश्वासको प्रस्तावको सामाना नगरि मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिए पछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि प्रस्ताव आह्वान गरेका थिए । आज बिहान १०ः३० बजे नै माओवादी केन्द्रका नेता केसीलाई समर्थन रहेको पत्र सहित गठबन्धनका संयोजक कांग्रेस संसदीयदलका नेता बिरेन्द्र कनोडिया सहित ४२ सांसदको हस्ताक्षर लिएर नेताहरु प्रदेश प्रमुखको कार्यालय पुगेका थिए ।

लुम्बिनी प्रदेशसभाका ३४ सांसदको समावेदनका आधारमा २७ गतेका लागि बोलाईएको विशेष अधिवेशनमा अविश्वासको प्रस्ताव टेवल हुँदै गर्दा मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख समक्ष राजीनामा बुझाएका थिए । विपक्षी गठबन्धनले अविश्वासको प्रस्ताव दर्ता गर्ने बेलामा नै केसीलाई नयाँ मुख्यमन्त्रीकारुपमा प्रस्ताव गरेका थिए । केसी नेकपा सरकारमा मुख्यमन्त्री पोखरेल नेतृत्वको मन्त्रिपरिषदमा आन्तरिक मामिला तथा कानुन मन्त्री थिए ।

को हुन् कुल प्रसाद ?

२०२७ साल माघ १० रोल्पाको कोटगाउँ २, जिबाङमा सामान्य किसान परिवारमा कुल प्रसाद केसीको जन्म भएको हो । बुवा टिकाराम केसी र आमा रजमता केसीको गर्भबाट जन्मेका केसीको पुख्र्यौली पेशा किसानी नै हो । सदरमुकाम लिबाङस्थित बालकल्याण उच्च माध्यमिक विद्यालयबाट प्रवेशिका उत्तिर्ण गरेका केसीले दाङको महेन्द्र बहुमुखी क्याम्पसबाट प्रविणता प्रमाणपत्र तह उतिर्ण गरेका छन् ।

केसीका आमा बुवा र अन्य परिवार अहिले पनि रोल्पामा खेतीपाती गर्दै आएका छन् । जनयुद्ध जारी रहेकै अवस्थामा ताराकुमारी घर्तीमगरसँग बिबाह गरेका केसीको एक छोरी र एक छोरा छन् । निरन्तर जनयुद्ध र पार्टीकाममा अलग अलग मोर्चामा खटिनु परेकै परिणाम केसीको छोरी १६ वर्ष पुगेकी छिन् भने छारो जम्मा ४ वर्षका छन् । नेकपा मशालबाट राजनीति शुरु गरेका केसी हाल नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य छन् ।

राजनीतिक यात्रा

मुख्यमन्त्री केसीले २०४३ सालबाट राजनीति सुरु गरेका हुन् । तत्कालीन मशालको विद्यार्थी संगठन अनेरास्ववियूबाट शुरु गरेका केसीले अहिले सम्म अविचलित राजनीतिक यात्रा गर्दै आएका छन् । अखिलको साधारण सदस्य बनेका केसी सदस्यता पाएकै वर्ष बिद्यार्थी संगठनको जिल्ला सदस्य बनेका थिए । दिनभरी शिक्षण पेशामा देखिने केसी रातभरी मसालको संगठन बनाउन हिंड्ने गर्दथे । २०४६ देखि २०४७ पार्टीको विद्यार्थी संगठनको दाङ जिल्ला सचिवको जिम्मेवारीको रुपमा काम गरे । केसीले औपचारिक रुपमा पार्टीको सदस्यता भने २०४७ सालमा प्राप्त गरे । २०४८ मा पार्टीले एरिया सेक्रेटरीको जिम्मेवारी दियो ।

२०४८ सालमा केसी स्थायी शिक्षकमा रुपमा स्थानीय विद्यालयमा पढाउँन सुरु गरेका थिए । उनले शिक्षण पेशासँगै राजनीतिको मार्गलाई छोडेनन् । अध्यापनसँगै पार्टीले दिएको जिम्मेवारी र विभिन्न कार्यक्रममा भाग लिनु केसीको जिवनचर्या जस्तै बन्दै गयो । राजनीतिमा अगाडि बढेपनि उनले शिक्षण पेशालाई भने निरन्तरता दिन सकेनन् । २०५० सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जिल्ला भ्रमणमा कालो झण्डा देखाएको अभियोगमा उनलाई राजनीतिक मुद्दा लगाएर शिक्षकबाट निष्काशन गरियो ।

केसीले २०५० सालबाट केसीले भुमिगत राजनीति शुरु गरेका थिए । २०५२ सालमा पार्टीले जनयुद्ध शूरु गर्दा केसी दोस्रो जिल्ला सम्मेलनबाट जिल्ला समिति सदस्यमा चयन भईसकेका थिए । भुमिगत राजनीतिक गतिबिधिकै क्रममा सोनाम र ताराकुमारीका बीच २०५२ फागुन ११ गते जनबादी बिबाह भएको थियो । पार्टीले आयोजना गरेको सोहि जनबादी बिबाहको कार्यक्रममा वर्षमान पुन र ओनसरी घर्ती तथा रणबहादुर मगर र आशा पुनको पनि बिबाह भएको थियो । तत्कालीन माओवादीको युद्ध अभ्यास स्वरुप पहिलो औपचारीक होलेरी आक्रमण गर्दा उक्त मोर्चामा केसी पनि सहभागी भए । होलेरी आक्रमणमा केसीसँगै वर्षमान पुन अनन्त, ओनसरी घर्ती, ताराकुमारी घर्ती लगायत सहभागी थिए ।

माओवादी आन्दोलनले विस्तारै गति लिन थालेपछि २०५५ सालमा दाङ–सल्यान–प्यूठान संयुक्त जिल्लाको सेक्रेटरीको जिम्मेवारीमा केसीले नेतृत्व गरेका थिए । २०५६ सालमा भेरी–कर्णाली शैन्य कमिसार हुँदै केसी २०५७ सालमा माओवादी पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यमा निर्वाचित भए ।

भारतीय जेलमा ३ वर्षे जेल यात्रा

२०६० सालमा पार्टीको बैठकको लागि भारत जाँदा केसी भारतको पटनाबाट गिरफ्तार भए । बैठक सहित अल्सरबाट ग्रस्त बिरामी रहेकी केसी पत्नी ताराकुमारी पनि सँगै गिरफ्तार भएकी थिईन् । सोनामले ३ वर्ष ३ महिना र श्रीमती ताराले ३ वर्ष भारतको बक्सर जेलमा कैदी जिवन बिताएका थिए ।

जेलबाट फर्केपछि पुनः राजनीति

२०६३ सालमा जेलमुक्त भएपछि सोनाम पार्टीको कामीडाँडा बैठकबाट जनमुक्ति सेनाको तेस्रो डिभिजन कमिसार भए । साथै उनी नारायणी–भेरी –कर्णाली–सेती र महाकाली ब्यूरो इन्चार्चको जिम्मेवारी समेत सम्हाले । शान्ति प्रक्रिया सुरु भएपछि सेना समायोजनको क्रममा पार्टीले उनलाई वाइसिएलको इन्चार्जको जिम्मेवारी दिएको थियो । २०५९ सालमा ,एकीकृत माओवादीको पोलिटव्यूरो सदस्य चुनिएका थिए ।

माओवादी पार्टीको विभाजन भएपछि भने केसी केहि समय रामबहादुर थापा बादलसँगै मोहन वैद्य समूहमा आवद्ध भए । बैद्य नेतृत्वको पार्टीमा स्थायी समितिमा रहेर काम गरे ।

विभाजनले माओवादी आन्दोलन कमजोर हुने आँकलन गरेपछि २०७३ सालमा माओवादी केन्द्र गठन हुँदा केन्द्रीय कार्यालय सदस्य भए । त्यसपश्चात २०७४ सालको प्रदेशसभा निर्वाचनमा उनलाई पार्टीले रोल्पा जिल्ला निर्वार्चन क्षेत्र नं. १ (क)बाट उम्मेदवार बने र प्रदेशसभा सदस्यमा निर्वाचित भए ।

संयुक्त घोषणापत्रका आधारमा चुनावी मैदानमा गएपनि एमाले र माओवादी एक नहुँदा सम्म सोनाम माओवादी केन्द्र संसदीयदलको नेता बने र पार्टी एकिकरण भएर नेकपा बनेपछि पार्टीको प्रदेश सह ईन्चार्ज सहित संसदीयदलमा उपनेता बने । पार्टीको तर्फबाट सरकारमा नेतृत्व गरेका उनी शंकर पोखरेल नेतृत्वको प्रदेश नम्बर ५ प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानून मन्त्री बने । सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र पुरानै अस्तित्वमा आएपछि केसी पुनः पार्टीको संसदीय दलको नेता बने र सोही आधरमा गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

शंकर पोखरेल नेतृत्वको सरकारमा उनले मन्त्रिपरिषद्को सदस्यका रुपमा काम गरे । पछिल्लो समय प्रदेशको नामाकरण र राजधानी तोक्ने विषयमा उनले उल्लेखीय भूमिका खेलेका थिए ।

 

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहिबार  ३ : ४८ बजे

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका