उद्योगका पर्यायवाची नवराज, कपडा छाडेर प्लास्टिकमा देखाए चमत्कार

स्वस्तिक श्रेष्ठ/शरण कर्माचार्य
५ भाद्र २०७८, शनिबार
                 

बुटवल । पछिल्लो समय अन्य जाति र समुदाय पनि उद्योग व्यापारमा आए पनि कुनै बेला नेपालमा नेवार समुदायलाई उद्योग र व्यापार क्षेत्रमा अब्बल मानिन्थ्यो । पुख्र्यौली पेशा नै उद्योग व्यापार भएका कारण नेवार समुदायमा बाउबाजेको पेशा पुस्तान्तरण हुने गरेको छ । समान्यतयाः नेवार समुदायका युवाले आफ्नो पुर्खाले गरेको पेशलाई नै निरन्तरता दिएको पाइन्छ । पुस्तान्तरणकै श्रृङ्खलामा बुवाको काखबाटै व्यापार सिकेका एक जना व्यक्ति हुन् उद्योगी नवराज श्रेष्ठ । कपडा व्यापारी बुवाको काखमै बसेर व्यापार सिकेका नवराज अहिले सफल उद्योगी बनेका छन् ।

पाल्पा, भैरवस्थानमा जन्मेका श्रेष्ठले सानैदेखि व्यापारमा लागे । त्यसो त पाल्पा र बुटवलको सम्बन्ध व्यापारका लागि कुनै बेला निक्कै ख्यातियुक्त थियो । पाल्पाका अधिकांश व्यापारीहरु दशैंको टीका लगाएर बुटवल झर्थे । झण्डै ५–६ महिना बुटवलमा व्यापार व्यवसाय गरेर फागुन चैत्रतिर उनीहरु पाल्पा उक्लन्थे । चिसो र उपयुक्त मौसमका व्यापार गर्न झरेकाहरु बुटवलमा गर्मी चढेसँगै पहाड उक्लने एउटा परम्परा जस्तै थियो । गर्मीसँगै बुटवलमा शुरु हुने औलो, हैजा जस्ता रोगबाट बच्न उनीहरु पहाड जाने गर्दथे । ‘यहाँ फागुन लागेपछि ढाक्रेहरुको फोहोर मैलाले लाग्ने रोगहरुबाट बच्न घर फिर्ता हुन्थे,’ नवराजले स्मरण गर्छन्, ‘दशैंमा टिका लगाएर बुवाहरु बुटवल झर्नु हुन्थ्यो, चैते दशैं मनाउन फेरि पाल्पा पुग्नु हुन्थ्यो ।’

पाल्पा बस्ने बुबा कृष्णलाल बुटवलमा १९९० देखि नै बुटवलमा कपडा व्यवसाय गर्थे । बुबा कृष्णलाल श्रेष्ठको उठबस र संगतमा रमाएका नवराज पनि सानैदेखि व्यापारमा होमिए । बि.सं. २०१३ भाद १३ गते पाल्पा भैरवस्थानमा परिवारका आठौं सन्तानका रुपमा उनी जन्मिएका थिए । पाल्पा भैरवस्थानमा कक्षा ५ सम्म अध्ययन गरेका श्रेष्ठ त्यसपछि बुटवल झरे । उनी बुटवल माविमा एसएलसीसम्म अध्ययन गरे । एसएलसी सकेर थप अध्ययन गर्न पाल्पा त्रिभुवन विश्वविद्यालयअन्तर्गत पाल्पा क्याम्पसमा भर्ना भए । अध्ययनसँगै उनी बुबाको व्यापारमा पनि साथ दिन्थे । बि.सं .२०२५ सालदेखि २०४५ सालसम्म उनी पुख्र्यौली कपडा पसलमा बसे । केही समयपछि दाजुभाईले काम बाँडफाँट गर्ने क्रममा कपडा पसल दाइलाई प¥यो । नवराज रेडिमेड कपडा पसलतिर लागे । रेडिमेड नवराजको आकर्षण बन्न सकेन । रेडिमेड व्यापारले चित्त नबुझेपछि रेडिमेड बेच्ने होइन अव रेडिमेड बनाउनु पर्छ भन्ने सोँच आयो र नवराज लागे गार्मेन्टतर्फ । २०४१ सालमा रेडिमेड कपडाको व्यापार छाडेर गार्मेन्ट उद्योग शुरु गरे । उद्योगमा नवराजको यो नै पहिलो उद्योग थियो । गार्मेन्ट उद्योग यति चल्यो कि उनले सोँचेको भन्दा पनि धेरै गुणा चल्यो । पैसा पनि मनग्य कमाएको स्मरण गर्छन नवराजले । टन्न आम्दानी भएपछि र केहि पैसा सञ्चित पनि भएपछि नवराज गार्मेन्ट उद्योगमा मात्र सीमित हुन चाहेनन् ।

त्यसो त राम्रो आम्दानी भईरहेकै अवस्थामा ०४६ सालको जनआन्दोलन शुरु भएपछि लगातारको बन्द र हड्तालका कारण उद्योगबाट पुर्ववत आम्दानी दिन सकेन । २०४६ सालमा राजनीतिक परिवर्तनका लागि भएको आन्दोलनसँगै उनको व्यापारमा नकारात्मक प्रभाव पर्यो ।

गार्मेन्टमा मन्दी आएपछि उद्योगमा आँखा गाडिइसकेका नवराज त्यत्तिकै बसेनन् । २०४९ सालतिर उनको ध्यान छिमेकीले चलाएको रिसाइकल प्लास्टिक उद्योगतिर गयो । नवराजका साथी प्रमोद उपाध्यायले प्लाष्टिक रिसाइकल उद्योग चलाएका थिए, जुन तत्कालिन समयमा निक्कै महत्वका साथ खोलिएको थियो । ‘रिसाइकलमा विद्युत, लेभर र मर्मत खर्च बढि हुने हुँदा उद्योगीहरु यसमा प्रायः आकर्षित हुँदैनन्, तर मेरो मनले त्यो उद्योग चलाउन पर्छ भन्यो’, नवराज भन्छन् ।

०५१ सालतिर मेशिन झिकाएर उनले बुटवल मिलनचोकमा उद्योग शुरु गरे । जुन उद्योगले राम्रो पिकअप पनि लियो । त्यसबेला श्रेष्ठ प्लास्टिक प्रडक्टको नामबाट यो उद्योग स्थापित भयो । सम्भवतः श्रेष्ठ प्लास्टिक (रिसाइक्लिङ) तत्कालिन समयमा लुम्बिनी अञ्चलमा नै पहिलो आधुनिक रिसाइक्लिङ उद्योग भएको नवराजको दाबी छ ।

नवराजको उद्योग मोह :

उद्योगमा सफलता मिल्दै गएपछि उनले उद्योग विस्तार गर्ने योजना बनाए तर त्यसका लागि जग्गाको अभाव थियो । उद्योग विस्तारमा रहर पलाएपछि उनले आफन्त निर्मल कसजुसँग सगोलमा शुरुवातमा ज्ञानी पोलिट्याङ्कमा समेत लगानी गरेर अनुभव बटुले । सोही अनुभवका आधारमा उनी आफै पोलिट्याङ्क उद्योगमा लागे । बुटवल–भैरहवा हिँड्ने क्रममा पथ्थरडाँडामा रहेको एक जमिनमा उनको आँखा लाग्यो । उनले २०६६ सालमा ४० कठ्ठा जग्गा लिए, जहाँ पोलिट्याक सहित पाईपहरुको समेत उद्योग विस्तार गरे ।

तिलोत्तमा नगरपालिका वडा नं १५ पथ्थरडाँडामा अहिले नवराजको नवनेपाल प्लास्टिक उद्योग प्रालि र सिर्जना प्लाष्टिक प्रालि नामबाट दुई उद्योग संचालनमा छन् । यहाँबाट प्लाष्टिक ट्याङ्की तथा पाईपहरुको उत्पादन भैरहेको छ । बजारको माग अनुसार उद्योगमा नयाँ नयाँ पाईप र फिटिङ्सका आइटम पनि उद्योगले उत्पादन गर्न थालेको छ ।

समस्यै समस्याबीच खडा हुन्छ नेपालमा उद्योग :

‘उद्योग गर्नु नै चुनौती हो’, नवराज भन्छन, ‘यसलाई अवसरका रुपमा बदल्न जरुरी छ ।’ नेपालमा विद्युतको सबैभन्दा समस्या रहेको उनी दुःखेसो गर्छन । अन्य क्षेत्रमा रहेका व्यक्तिहरु नबुझी उद्योगमा आउँदा धेरै समस्या ब्यहोर्नुपरेको उनको अनुभव छ । उद्योगमा सबैको ध्यान गएपनि अध्ययन, अनुसन्धान पनि नगरी लाग्नु सबैभन्दा ठूलो चुनौती भएको उनी बताउँछन् ।

‘उद्योग नीतिमा धेरै त्रुटी छन, जसलाई सच्याउनुपर्ने छ । योसँगै दर्ताबाट नै समस्या छ । बैकको व्याज, आम नागरिकले प्रयोग गर्ने वस्तुमा पनि ५ प्रतिशतभन्दा बढि कर लागेको छ । यसैगरी अन्य धेरै कठिनाईहरु छन, जसले उद्योग संचालनमा बाधा उत्पन्न गर्छन्’, नवराजले भने । अन्य छिमेकी देशमा उद्योगका लागि नयाँ भवन बनाउने, सवारी किन्नुपर्दा पनि न्यून ब्याज रहेको तर नेपालमा त्यस्तो कुनै सहुलियत नभएकाले लागत बढी पर्न जाने उनको भनाई छ ।

‘भुकम्पको खतरा नभएको स्थानमा समेत सरकारले भुकम्प बिमा अनिवार्य गराउँछ’ नवराज गुनासो आश्चर्य व्यक्त गर्छन् । सरकारको यस्तै नीतिका कारण भारतीय बजारबाट आउने सीपीभीसी जस्ता पाईपहरु नेपाका उत्पादन भन्दा सस्तो पर्न गएको उनी बताउँछन् ।

उद्योगीका रुपमा नयाँ आउन चाहनेहरुलाई नवराजले राम्ररी बुझेर मात्र प्रवेश गर्न सुझाव दिन्छन् । उद्योगमा राम्रो सम्भावना भएपनि यस क्षेत्रमा आउनुअघि सम्भावना अध्ययन गरेर, भन्सारमा आयात, निर्यातबारे जानकारी लिने, भारतीय बजारको अध्ययन गरेरमात्र नयाँ उद्योगमा लाग्नु श्रेयस्कर हुने उनको सुझाव छ ।

यस्ता छन् नवराजको उद्योगका उत्पादनहरु :

नवराज श्रेष्ठको उद्योगमा अहिले पोलीट्याङ्क एनएस २ सय लिटरदेखि २ हजार लिटरसम्म, एचडीपीई एनएस १६ एमएमदेखि १ सय १० एमएमसम्म, पीपीआर पाईप तथा फिटिङ्स ४ वटा साईज (हाफदेखि ढाई ईन्चसम्म), सीपीभीसी पाईप तथा फिटिङ्स ४ र ३० आईटमहरुको उत्पादन हुन्छ ।

त्यसैगरि युपीभीसी पाईप तथा फिटिङ्स ५० एमएमदेखि ६ ईन्चसम्म उत्पादन हुन्छ भने त्यसका २० आईटम फिटिङहरु पनि उद्योगबाटै उत्पादन हुन्छ ।

उद्योगबाट बिरुवा तयार गर्नका लागि स्पेशल प्लाष्टिकका आईटम (जर्मिनेसन प्याक) तयार गरिन्छ । घर ढलाईको अवस्थामा मसला झर्ने समस्या कम गर्न ढलान प्लाष्टिक पनि उद्योगबाट उत्पादन गर्ने गरिएको छ ।

प्लास्टिक आइटमहरुमा नवराजले उद्योग शुरु गर्दा नेपालमा प्रत्येक व्यक्ति प्रतिवर्ष आधा केजी खपत थियो । तर चीनमा ६ केजी प्रतिवर्ष खपत देखेर पनि आफु यसमा आकर्षित हुँदै उद्योग खोलेको उनी बताउँछन् ।

नवराज श्रेष्ठले आफ्नो उद्योगमा करिब १ सय जनालाई रोजगारी दिएका छन् । उद्योगमा उनको करिब २० करोड लगानी भैसकेको छ ।

सामाजिक अभियन्ता :

नवराज श्रेष्ठ उद्योगीसँगै सामाजिक अभियन्ता पनि हुन् । बुटवल उद्योग वाणिज्य संघ र नेपाल जेसिसमा लामो समय काम गरेको अनुभवबाट धेरै सिकाएको उनी बताउँछन् । रुपन्देहीका अधिकांश सामाजिक संघसंस्थाहरुमा उनी आवद्घ छन् । उनले लायन्स, रोटरीमा समेत योगदान गरेका थिए । रुपन्देहीको बहुचर्चित मोतिपुर औद्योगिक करिडोरका मुख्य अभियन्ता समेत रहेका नवराजले पाल्पा दोभानदेखि भैरवस्थानसम्मको बाटो निर्माणको अगुवाई समेत गरेका थिए ।

उनी जीवनको सफलताका गुणहरु सिक्न जरुरी हुने बताउँछन् । नेवारहरुमा घरबाट नै संस्कार संस्कृति सिक्ने भएका कारण अन्य समुदाय भन्दा फरक हुन्छन् । धेरै साथीहरु आ-आफ्नो बाटोमा लागेपनि उनी भने निरन्तर उद्योगमा नै छन् । उद्योगबाहेक नवराजले अरु कल्पना नै गरेनन् !

 

भिडियो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*