२ पुस २०८२, बुधबार | December 17, 2025

महँगीको मारमा उपभोक्ता, सरकार मूकदर्शक



काठमाडौं । अबको तीन सातापछि दसैं सुरु हुन्छ । दसैं अर्थात् अधिकांश नेपाली जनताको प्रमुख चाड । दसैंपछि लगत्तै सुरु हुन्छ तिहार, त्यसपछि छठ । तर, यी प्रमुख चाड नेपाली जनताका लागि सुखद् बन्ने स्थिति देखिँदैन ।

बढ्दो महँगीका कारण अधिकांश जनता सहज ढंगले यी चाड मनाउन सक्ने अवस्थामा छैनन् । एकातिर कोरोना महामारीका कारण उपभोक्तासँग पैसा छैन, त्यसमा पनि दिन प्रतिदिन बढ्दो महँगी ।

यो अवस्थामा महँगी नियन्त्रण गर्न सरकारले पहलकदमी लिनुपर्ने हो तर सरकार मूकदर्शक बन्दा जनता भने मारमा परिरहेका छन् । अब जाऊँ हालको बजार भाउतिर । अहिले बजारमा हरियो तरकारीको मूल्य प्रतिकिलो १ सय ५० रुपैयाँभन्दा बढी पुगेको छ । खाने तेलको मूल्य प्रतिलिटर २ सय ६५ देखि ३ सय ५० रुपैयाँसम्म पुगेको छ ।

गत वर्षको लकडाउन अघिसम्म सनफ्लावर तेल प्रतिलिटर १ सय ६५ रुपैयाँमा पाइन्थ्यो । तर, अहिले लिटरमै १ सय रुपैयाँभन्दा बढी तिर्नुपर्ने अवस्था छ । गत वर्षको दसैंताका चिनी प्रतिकिलो ८५ देखि ९० रुपैयाँसम्म पाइन्थ्यो । तर, अहिले ९५ देखि सय रुपैयाँसम्म पुगिसकेको छ ।

नेपाल खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्रकुमार ब्रजाचार्य अहिलेको बजार भाउ सामान्य रूपमा लिन सकिने कारण देख्दैनन् । ‘कुनै कारणबिना नै ठूला थोक व्यापारीहरूले मनपरी ढंगले मूल्यवृद्धि गरिरहेका छन्,’ उनको भनाइ छ ।

बज्रचार्यका अनुसार चिनी प्रतिकिलो १० देखि १५ रुपैयाँ वृद्धि भएर ९५ देखि १ रुपैयाँ पुगेको छ । खाने तेलको मूल्य लकडाउनयता मात्र प्रतिलिटर सय रुपैयाँ बढेको छ । सनफलावर तेल लकडाउनअघि १ सय ६५ रुपैयाँ पाइन्थ्यो भने अहिले २ सय ६५ रुपैयाँ पुगेको छ ।

पूर्वअध्यक्ष बज्राचार्यले भने, ‘खानेतेलको मूल्यमा सातामै प्रतिलिटर २५ रुपैयाँसम्म वृद्धि भएको छ । एक साताअघि २ सय ३० देखि २ सय ४० रुपैयाँ प्रतिलिटरमा बिक्री भइरहेको खानेतेल २ सय ६५ देखि २ सय ७० रुपैयाँ पुगेको छ । सबैभन्दा बढी धारा तेल ३ सय ५० रुपैयाँसम्म पुगेको छ । कुनै कारणबिना नै ठूला थोक व्यापारीहरूले मनपरी रूपमा मूल्यवृद्धि गरेका छन् । बाध्यताले साना खुद्रा व्यापारीले पनि बढाउनुपरेको छ ।’
अहिले बजारमा दैनिक उपभोग्य वस्तु हरियो तरकारी, चिनी, खाने तेल, दाल, चामल, गेडागुडीसमेत सबैको मूल्यवृद्धि भएको छ । मूल्यवृद्धि नियन्त्रण गर्ने काम सरकारको हो । तर, सरकारले नियनत्रणका लागि आवश्यक पहल नगर्दा कालोबजारीको मनोबल झन् बढ्दै गएको छ ।

बजार अनुगमन र कारबाहीको अधिकार पाएका सरकारी कर्मचारीलाई नै ठूला उद्योगी र व्यापारीले आफ्नो खल्तीमा राख्ने गरेको आरोप लाग्दै आएको छ । तर, यो आरोप चिर्नका लागि पनि उनीहरूले चित्त बुझ्दो पहल गरेको देखिँदैन । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बेलाबेलामा बजार अनुमगन त गर्छ तर दोषी व्यापारीलाई केही नगर्दा पनि समस्या भएको हो ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन चाडपर्वका मुखमा दैनिक उपभोग्य वस्तुको अस्वाभाविक वृद्धि हुनुमा सरकार नै दोषी रहेको बताउँछन् । सरकारको नेतृत्वमा बसेका राजनीतिक दलहरू नै ठूला व्यापारीसँग मिलर उपभोक्ताको ढाड सेक्न अग्रसर हुने गरेको उनको भनाइ छ ।

‘उपभोक्ताको भान्सामा दैनिक नभई नहुने खाने तेल, चिनी, हरियो तरकारी, दाल गेडागुडीमा व्यापारीले मूल्य बढाइरहेका छन् । तर, सरकारले अस्वभाविक मूल्यवृद्धि नियन्त्रण गर्न छाडेर व्यापारीलाई नै साथ दिएपछि कसको के लाग्छ रु’ महर्जन भन्छन् ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक तथा प्रवक्ता शिवराज सेढाईं भने विभागले ठूलासाना सबै व्यापारीलाई अनुगमन गर्ने गरेको बताउँछन् । अन्तर्राष्ट्रिय बजारमै कच्चा तेलको मूल्यवृद्धि हुँदा खाने तेलको मूल्यवृद्धि भएको उनको भनाइ छ ।

प्रवक्ता सेढाईंले भने, ‘उद्योगीहरूसँग तेल के कारणले बढेको हो सबै कागजपत्र बुझाउन निर्देशन दिइएको छ । तेलको मूल्यवृद्धिबारे अध्ययन गर्न विभागको एउटा टोली उद्योगमै पुगेर अनुसन्धान गरिरहेको छ । अनुसन्धानले दोषी ठहर गरे उपभोक्ता संरक्षण ऐनबमोजिम कारबाही हुन्छ ।’
विभागले बजार अनुगमनलाई व्यापक बनाएको र कैफियत भेटिएका व्यापारिक फर्मलाई कानुनबमोजिम कारबाही गरिरहेको पनि प्रवक्ता सेढाईंको भनाइ छ । आजको राजधानी दैनिकमा कौशिला कुँवरले यो समाचार लेखेकी छन ।

प्रकाशित मिति : ३१ भदौ २०७८, बिहिबार  ६ : ५२ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष