५ पुस २०८२, शनिबार | December 21, 2025

पर्यटकीय गन्तव्य बन्दै रामपुरको सिद्धबाबाधाम



रामपुर । कालीगण्डकीको किनारमा फराकिलो चउरसँगै जोडिएको रमणीय सिद्धबाबाधामले धेरैको मन तान्ने गर्छ । रामपुर नगरपालिका-८ भुजातमा अवस्थित सिद्धबाबाधाम क्षेत्र राम्रो पर्यटकीय गन्तव्यस्थल बनेको छ । यहाँ कालीगण्डकीको चिसो हावाको मज्जा लिँदै तस्बिर खिच्ने र टिकटक बनाउने बढ्दैछन् ।

महामारी कम भएसँगै हिजोआज मन्दिर दर्शन र अवलोकनका लागि यहाँ चहलपहल बढेको मन्दिरका पुजारी अनन्तराज न्यौपाने बताउँछन् । विशेषगरी शनिबार र बिदाका दिन यहाँ आन्तरिक पर्यटक पुग्ने गर्छन् । पर्यटकलाई लक्षित गरी विभिन्न भौतिक पूर्वाधार थप गर्दै पर्यटकीय संरचना बनाउने काम थालिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष त्रिलोचन अधिकारीले बताए । “पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न थालेपछि अहिले यो क्षेत्र पर्यटकको धार्मिक गन्तव्यका रुपमा चिनिएको छ, एकान्त र रमणीय ठाउँमा अवस्थित भएकाले पनि यस स्थलको विशेष आकर्षण छ”, उनले भने ।

यस क्षेत्रमा यहाँका स्थानीयको सक्रियतामा मन्दिर प्रवेशद्वार, मन्दिर घेराबार, ऋषिमुनिको मूर्ति, तीनवटा पौवा, सार्वजनिक शौचालय, टर्मिनल, चारवटा चौतारी, पुजारी आवासगृह, १०८ शिवलिङ्ग निर्माण गरिएको छ । यो स्थान अवलोकन भ्रमणका लागि मात्र नभएर विवाह, ब्रतबन्ध, वनभोजलगायत लागि पनि आकर्षक गन्तव्य बनेको छ ।

यस आर्थिक वर्षमा रामपुर नगरपालिका-८ को कार्यालयबाट सिद्धबाबा मन्दिर जाने बाटोमा नाली निर्माणका लागि रकम विनियोजन गरिएको वडाध्यक्ष बोमबहादुर नामजाली बताउँछन् । पर्यटकीय प्रचुर सम्भावना बोकेको यहाँ प्याराग्लाइडिङ र जलयात्राका लागि पनि संरचना निर्माण गर्न सकिने यस क्षेत्रका मानिस बताउँछन् ।

कालीगण्डकीको नदी किनारैमा रहेको ओढारमा स्थानीयवासीले सिद्धबाबाको उत्पत्ति हुनुपूर्व पानी पर्दा ओत लाग्ने गर्दथे । सोही ओढारमा विसं २०५१ असार १४ गते भुजातका स्थानीयवासी दिनेश अधिकारीले राति सपनामा सिद्धबाबाको मूर्ति देखेपछि भोलिपल्ट ओढारमा गएर हेर्दा मूर्ति भेटिएको किंवदन्ती छ । त्यस समयपछि यस ओढारलाई संरक्षण गर्दै यहाँका स्थानीयवासीले अहिले पर्यटकीय क्षेत्रका रुपमा सिद्धबाबाधाम क्षेत्रलाई चिनाउन सफल भएका छन् । ओढारका भित्री तथा बाहिरी भूभागमा विभिन्न देवीदेवताका आकृति प्रशस्तै देख्न सकिन्छ । ओढार नजिकै नवज्योति आमासमूह भुजातद्वारा निर्मित मन्दिरमा दुर्गाको मूर्ति रहेको छ भने आसपासमा शिवजीको मूर्ति, बसाहा, १०८ शिवलिङ्ग निर्माण गरिएको छ ।

शिवरात्रि पर्वका अवसरमा विशेष मेला लाग्ने गर्दछ । मन्दिरको उत्तरी भेगमा पवित्र कालीगण्डकी, पश्चिमतर्फ पीपलपाटा सामुदायिक वन, उत्तर पश्चिमतर्फ हरियाली खुला चउर, खेलमैदानले यो स्थान सुन्दर बनाएको छ । रामपुर नगरपालिकाले वडा नं ७ को बाहुनडाँडामा प्याराग्लाइडिङ उडान सुरु गरेर यही सिद्धबाबा परिसरमा अवतरण गर्ने योजनाका साथ व्यावसायिक प्याराग्लाइडिङ सञ्चालन गर्ने योजना बनाएको छ । शौचालय, खानेपानी थप व्यवस्थापन गर्ने, जीर्ण बनेको मन्दिर पुनःनिर्माण, प्रवेशद्वारदेखि मन्दिरसम्म जाने पैदलमार्ग व्यवस्थापन जस्ता भौतिक पूर्वाधार तत्काल गर्नुपर्ने देखिन्छ ।

मन्दिरको आफ्नै आयस्रोत नहुँदा पनि पूर्वाधार विकासको काममा आर्थिक समस्या छ । रामपुर नगरपालिकाले गत आर्थिक वर्षमा विनियोजन गरेको रु पाँच लाख बजेटबाट मन्दिर परिसरमा ट्रस्ट निर्माण गरिएको छ । स्थानीय पीपलपाटा सामुदायिक वन र नवज्योति आमासमूहले यहाँ लाग्ने मेला, विभिन्न पर्वमा सघाउँदै आएका छन् । रासस

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ८ : ०३ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ