२१ चैत्र २०८२, शनिबार | April 4, 2026

आज काग र कुकुर तिहार मनाइँदै



काठमाडौं । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो मीठो चीजवीज खान दिएर मनाइँदैछ ।

बिहान त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

आज बिहान ७:१४ बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी तिथि लाग्छ । बिहानै कागलाई पूजा गरी मीठा खानेकुरा खान दिनुपर्छ । कागलाई विशेषगरी दही भात खुवाइन्छ ।

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् एवं समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौमतले बताए । कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो मीठो खान दिई खुसी पार्ने गरिएको हो ।

कार्तिक कृष्ण त्रयोदशीकै दिन शुरु हुने यमपञ्चक भने हिजैदेखि सुरु भएको छ । यस वर्ष तिथिको घटबढका कारण सायंकालमा कार्तिक कृष्ण त्रयोदशी परेका दिन शुरु हुने यमपञ्चक हिजो बेलुकीदेखि नै शुरु भएको समितिले जनाएको छ ।

यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १ कागेश्वरी धाम, पशुपति क्षेत्रस्थित कागेश्वरी मन्दिर र हनुमानढोका दरबार क्षेत्रस्थित कागेश्वरी मन्दिर क्षेत्रमा पनि कागेश्वर महादेवको पूजा आराधना गरी मीठा मीठा खानेकुरा खुवाउनेको भीड लाग्छ ।

यसैगरी आजै यमपञ्चकको दोस्रो दिन कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरूपमा बाटो छोडिदिने धार्मिक विश्वास छ ।

आज बिहान ७:१४ बजेपछि चतुर्दशी तिथि लाग्ने भएकाले त्यसपछि कुकुरको पूजा गरी मीठा मीठा खानेकुरा खान दिनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

काग र कुकुरलाई यमदूतका रूपमा मानिन्छ । कार्तिक कृष्ण चतुर्दशीकै दिन मनाइने नरक चतुर्दशी पर्व भने भोलि कात्तिक १८ गते बिहीबार बिहान मनाउनुपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

सूर्योदयकालभन्दा अघि चतुर्दशी तिथि परेका दिन यो पर्व मनाइन्छ । आज बिहान अरुणोदयकालभन्दा अघि चतुर्दशी तिथि नपरेकाले भोलि बिहीबार मनाउनुपर्ने निर्णय गरिएको समितिले जनाएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ७ : ०१ बजे

पचास प्रतिशत सहकारीले पनि बुझाउँदैनन् नियमित प्रतिवेदन

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्र करिब एक हजार ९०० सहकारी

आज अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

काठमाडौं । बारूदी सुरुङ तथा युद्धका विस्फोटक अवशेषबाट उत्पन्न जोखिमप्रति

इरानले एकपछि अर्को विमान खसाल्दा युद्धविरुद्ध अमेरिकामा विरोध बढ्दै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति राष्ट्रलाई सम्बोधन गर्दै इरानसँगको

फेवाताल किनारमा चल्यो डोजर, कर्ण शाक्यको रिसोर्टका संरचना पनि भत्काइए

पोखरा। पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत निर्माण गरिएका अस्थायी संरचनाहरू

कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ

काठमाडौं। कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ परेका छन्।