२१ चैत्र २०८२, शनिबार | April 4, 2026

बाँझो बारीमा ढकमक्क सयपत्री



तनहुँ । दुई वर्ष अगाडिको तिहारमा दिदीले पोखराबाट सयपत्रीको माला किनेर ल्याएर लगाइदिइन् । घरको आँगनको डिलमा सयपत्री र मखमली फुल्न छाडेपछि बजारबाट ल्याएर तिहारमा माला लगाइदिनुको विकल्प थिएन ।

एउटाको दुई सय रुपैयाँ तिरेर दिदीबहिनीले गलामा माला पहिराइदिए । भाईटीका सकिएपछि दिदीबहिनी र दाजुभाईबीच छलफल चल्यो, ‘हाम्रै बारीमा यस्तै फुल फुलाउन किन नसकेको रु’ यो प्रश्नले तनहुँ भिमाद नगरपालिका-८ धरमपानीका गोविन्द अधिकारीको मन अमिलो भयो र त्यतिबेलै उनले प्रण गरे अर्को साल जसरी पनि आफ्नै बारीमा सयपत्री फूलाउँछु ।

दिदीले ल्याएको मालालाई नै उनले बिऊ बनाएर बारीमा परीक्षण स्वरुप लगाए । त्यही सयपत्री बारीमा ढकमक्क फुलेन मात्रै आम्दानी पनि रहर लाग्दो भयो । ‘त्यही वर्ष मालाको सयपत्रीलाई बिऊ बनाएर बिरुवा लगाउँदा ६० हजार रुपैयाँ जतिको व्यापार गरे होला,’ गोविन्द सम्झन्छन् ।

कोदो खेती गरेर मरिमेटी गर्दा मुस्किलले एक मुरी नफल्ने बारीमा ६० हजार रुपैयाँको फुल फुलेपछि उनी हौसिए । गोविन्दले यसपालि बर्षौदेखि बाँझिएको साढे चार रोपनी बारी फोरेर व्यवसायिक तवरले सयपत्री लगाएका छन् । बाँझिएको बारी मात्रै होइन धान फल्ने खेतमा पनि उनले सयपत्री फुलाएका छन् ।

चितवनबाट कलकत्ते (सुन्तले रंगको) सयपत्रीको दश हजार बिरुवा ल्याएर उनले बाँझो रहेको बारीमा लगाएका छन् । भदौ दोस्रो साता लगाएको सयपत्री तिहारको संघारमा ढकमक्क फुलेका छन् । बर्षौदेखि कोदो समेत फुल्न छाडेको बारीको गह्रामा ढकमक्क फुल फुल्दा वातावरण नै मनमोहक बनेको छ । रपर सयपत्रीले मगमग सुवास छरेको छ । ढकमक्क सयपत्रीको दृश्य र मगमगाएको शुवासले गोविन्दलाई पनि सन्तुष्टि दिलाएको छ ।

उनले लगाएको एउटै बोटमा ६० वटासम्म सयपत्रीको थुंगा छ । तिहारमा मात्रै सयपत्री बेचेर दुई लाखभन्दा बढी आम्दानी हुने अनुमान गरेको गोविन्दले सुनाए । सयपत्रीले बजार पनि सजिलै पाउने उनी बताउँछन् । उनले फूलको प्रचारका लागि सामाजिक सञ्जालको प्रयोग गरेका छन् । ‘फुल देखेपछि हामी लैजान्छौँ भनेर व्यापारीको फोन आइरहेको छ,’ उनले भने, ‘बर्षेनी तिहारका लागि भारतबाट करोडौँको फूल नेपाल ल्याइन्छ भनेपछि बजार पाउन दुःखै छैन् । उत्पादन गरेमात्रै भो, पैसा लिएर व्यापारी घरमै आउने भए ।’ माग धेरै आएपछि आफुले लगाएको फूलले मात्र नपुग्ने भएकाले चितवनबाट ल्याएर सप्लाइ गर्ने योजना रहेको अधिकारीले बताए । गत बर्ष लगाएको सयपत्री फुल सबै घरबाटै विक्री भएको उनी बताउँछन् ।

एसएलसी सकाएपछि गोविन्द वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब हानिए । १० बर्षको बसाइपछि नेपालमै केही गर्ने सोचले फर्किए । त्यसपछि यातायात व्यवसायमा हात हाले । सोचे जस्तो सन्तुष्टी मिलेन । उनको व्यवसायिक यात्रा फेन्सी पसलमा मोडियो । फेन्सीमा पनि सोचे जस्तो नभएपछि किराना पसल चलाए । जुन अहिले पनि छ । त्यतिमा मात्र उनको मन रम्न सकेन, कहिले तरकारी खेती गरे त कहिले केराको व्यापार । कुनैमा आम्दानी नहुने, कहिले बजार नपाउने समस्या भएपछि उनको मन कतै अडिएन । गत बर्ष लगाएको सयपत्री फूलमा भने उनको मन अडिएको छ ।

सयपत्रीमा सम्भावना देखेका उनी अब फूल खेतीलाई निरन्तरता दिने पक्षमा छन् । यसपालि व्यवसायिक तरिकाले लागेका उनी अर्को बर्ष फूल खेतीलाई अझ विस्तार गर्ने योजनामा छन् । ‘यहाँका धेरै युवा फूल खेतीमा आकर्षित देखिन्छन् । सम्भवत अर्को बर्ष सामूहिक रुपमै लाग्छौँ होला,’ अधिकारीले योजना सुनाए । गाउँमा रहेका बाँझा बारीमा ढकमक्क सयपत्री फुलाएर विदेशबाट ल्याउने फूललाई प्रतिस्थापन गर्ने सुर कसेको उनले बताए । तिहारको बेला मात्र नभएर हरसमय फूल खेती गर्ने योजना बनाएको अधिकारीले सुनाए ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ९ : ३३ बजे

पचास प्रतिशत सहकारीले पनि बुझाउँदैनन् नियमित प्रतिवेदन

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्र करिब एक हजार ९०० सहकारी

आज अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

काठमाडौं । बारूदी सुरुङ तथा युद्धका विस्फोटक अवशेषबाट उत्पन्न जोखिमप्रति

इरानले एकपछि अर्को विमान खसाल्दा युद्धविरुद्ध अमेरिकामा विरोध बढ्दै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति राष्ट्रलाई सम्बोधन गर्दै इरानसँगको

फेवाताल किनारमा चल्यो डोजर, कर्ण शाक्यको रिसोर्टका संरचना पनि भत्काइए

पोखरा। पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत निर्माण गरिएका अस्थायी संरचनाहरू

कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ

काठमाडौं। कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ परेका छन्।