२१ चैत्र २०८२, शनिबार | April 4, 2026

संस्कृतिसँग जोडिएको घुमाउने घर लोप हुँदै



लमजुङ । ढुंगाको छपनीले छाइएका, ढुंगामाटोको गारो, कलात्मक शैलीका काठका झ्यालढोका । चिम्ट्याइलो रातोमाटो र सेतो कमेरोले लपक्क पोतिएको आकर्षक घुमाउने घर । हेर्ने जोसुकैको मन लोभ्याउँछ, घुमाउने घरले । तर, पछिल्लो समय यस्ता मौलिक घरहरू लोपोन्मुख अवस्थामा छन् । विगतमा गुरुङ समुदायको बाक्लो बसोबास रहेको गाउँ÷ठाउँमा यस्ता घरहरू देख्न सकिन्थ्यो । मानिसहरू घुमाउने घरमै बस्थे अनि रमाउँथे, अहिले मौलिक पारामा बनाइएका यस्ता घुमाउने घरहरू नमूनाका रूपमा मात्र गाउँघरमा कहीँकतै मुस्किलले देख्न/भेट्न सकिन्छ ।

मान्छेहरूले समयको क्रमसँगै आधुनिक पारामा घर बनाउन थालेकाले मौलिक पाराका घरहरू ओझेलमा परेको बेसीसहर नगरपालिका-११ चितीमा बस्दै आएका ६७ वर्षीय भवदत्त कमलीले बताए । ‘म घुमाउने घरमा जन्मे हुर्केको मान्छे, ६७ वर्षसम्म घुमाउने घरमै बसेको अनुभव छ मसँग’, उनले भने, ‘अहिले पनि घुमाउने घरमा बस्छु, हाम्रा लागि बस्न त उही पुरानै शैलीका ढुंगामाटाकै घर जाति ।’

उनका अनुसार पहिले गाउँमा सातवटा घुमाउने घर थिए । तर, अहिले आफ्नो घरमात्र छ । विगतमा गुरुङ गाउँमा थुप्रै घुमाउने घरहरू रहेका उनले बताए । विस्तारै गाउँमै मान्छेले बंगाले (पुतली गारो) घर बनाउन थाले । घुमाउने घर बनाउन गाह्रो हुन्छ । त्यसैले पनि घुमाउने घरहरू हराउँदै गए । ‘अहिलेका मान्छे गाउँमा बस्नै छाडे, झनै घुमाउने घरको त के कुरा’, भवलत्त कमलीले भने, ‘अहिलेका मान्छेलाई नक्कले (आधुनिक) घर चाहिन्छ, यस्तै घर मन पराउँछन्, पुराना शैलीका घरहरू कहिँकतैमात्र देख्न सकिन्छ, घुमाउने घर बनाउने मान्छे पाउन पनि गाह्रो हुन्छ होला अहिले त ।’ जिल्लाका केही पर्यटकीय गाउँ घलेगाउँ, गिलुङ लगायतका गाउँठाउँमा मुस्किलले यस्ता घरहरू देख्न पाइन्छ । त्यहाँ पुग्नेहरूले यस्ता घरहरूलाई खुब चासोले हेर्छन् । मन पराउँछन् ।

‘नयाँ पुस्ताका मान्छेले विस्तारै आफ्ना मौलिक कला, पराम्परा संस्कृति भुल्दै गएका छन्, त्यसकारण घुमाउने घर पनि हराउँदै गएका छन्, अव ईतिहासमै सीमित हुने डर छ,’ क्होलासोंथर गाउँपालिका-६ कि रसमाया गुरुङले चिन्ता व्यक्त गरिन् ।

उनका अनुसार पुराना शैलीका घरहरू धमाधम हराउँदै गएका छन् । जनजाति समुदायको संस्कृतिसंग जोडिएको छ, घुमाउने घर । त्यसैले बाबुबाजेको सीप, पहिचानलाई जोगाइराख्न नयाँ पुस्ता जुट्नु आवश्यक रहेको सरोकारवालाहरू जोड दिन्छन् । घुमाउने घरमा बस्नुको छुट्टै मज्जा हुने अनुभव सुनाउँछन् बेसीसहर नगरपालिकाका वसन्त अधिकारी ।

‘मैले घलेगाउँमा २०५८ सालमा घुमाउने घरमा रात बिताएको छु’, विगत सम्झँदै अधिकारीले भने, ‘अहिले त घुमाउने घरमा बस्ने परको कुरा देख्नसमेत मुस्किल पर्छ ।’ मौलिक संस्कृति बोकेका यस्ता घरहरूको संरक्षणमा सबै जुट्नुपर्ने उनी बताउँछन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ४ : २२ बजे

नयाँ शैक्षिकसत्र वैशाख २ गतेदेखि, पाठ्यपुस्तक विद्यालयमा पु-याइँदै

काठमाडौं । आगामी वैशाख २ गतेदेखि प्रारम्भ हुने नयाँ शैक्षिकसत्रका

कांग्रेसलाई एकढिक्का बनाउन अन्तिमसम्म प्रयास गर्छु : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसलाई एकढिक्का

युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौं । पश्चिम एसियाको युद्धका क्रममा संयुक्त अरब इमिरेट्स (युएई)मा

ओखलढुङ्गामा आगलागी, ५७ लाख बढीको क्षति

ओखलढुङ्गा । जिल्लाको सिद्धिचरण नगरपालिका–२, केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेण्टल