२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

आलु ब्लककै याे हालत : गत वर्षभन्दा आधा मात्र आलु रोपियो



झापा । झापाको कमल गाउँपालिकामा सबैभन्दा बढी आलु उत्पादन हुँदै आएको छ । कमलका किसाना आलुमा आत्मनिर्भर छन् । त्यसैले कमल-२ मा सरकारले आलु ब्लक कार्यक्रम नै सञ्चालन गरेको थियो ।

सरकारले पाँच वर्षसम्म आलु पकेट र ब्लक कार्यक्रम कमल-२ मा चलायो । यस वर्षदेखि आलुमा कार्यक्रम सकिएको थियो । उक्त कार्यक्रम आइपिएम कृषि सहकारीले संचालन गर्दै आएको थियो । सरकारी कार्यक्रम सकिए पनि कृषकलाई सहकारीले सहयोग गर्दै आएको थियो ।

पाँच वर्षसम्मको सरकारी सहयोगले उत्साहित किसान आलुमै केही गर्ने लक्ष्यका साथ आलु खेतीमा लागेका थिए । तर, आलुबाट आत्मनिर्भर हुने किसानको सपना चकानाचुर भएको छ । गत वर्ष उत्पादन भएको आलु बिक्री गरेर बीउका लागि दमक-४ स्थित शान्ति कोल्ड स्टोरमा भण्डारणमा केही आलु राखेका थिए । आइपिएम कृषि सहकारीकै मातहतमा कमल-२ का कृषकले सात सय बोरा आलु कोल्ड स्टोरमा राखेका थिए । तर, गत कात्तिक अन्तिम साता रोप्नका लागि बीउ कोल्ड स्टोरबाट निकाल्दा कुहिएको पाएपछि किसान चिन्तामा परे । कुहिएपछि उनीहरूले सबै आलु डोजर लगाएर पुरे ।

आलु रोप्ने समय लगभग सकिएको छ । तर, अहिलेसम्म गत वर्षको तुलनामा आधा मात्र आलु लगाइएको छ । बीउ अभावमा कृषकले आधा मात्र आलु रोपेको आइपिएम कृषि सहकारीका कोषाध्यक्ष तथा आलु ब्लक कार्यक्रम संयोजक टंक कट्टेल बताउँछन् । कृषकले गत वर्ष १३९ विघा क्षेत्रमा आलु रोपेका थिए । तर, यस वर्ष कोल्ड स्टाेरमै आलु कुहिएपछि किसानले ५० प्रतिशत मात्र आलु रोपेको कट्टेलले बताए । ‘यसपटक त आलु ५० प्रतिशत मात्र रोपियो । त्यो पनि सहकारीको पहलमा चिप्स उद्योगसँग सापटीमा बीउ मागेर रोपेका हौँ,’ उनी भन्छन्, ‘यस वर्ष आलुको उत्पादनमा ५० प्रतिशत कमी हुन्छ । आलु खेतीमै केही गर्ने सपना बोकेर आएका कृषकलाई ठूलो चिन्ता परेको छ ।’

कोल्ड स्टोरमा प्रतिबोरा ३६५ रुपैयाँ तिरेर कृषकले आलु राखेका थिए । कृषकको आलुको बीमा गरिएको कोल्डस्टोरले जनाएको छ । यद्यपि अझैसम्म कृषकले क्षतिपूर्ति भने पाएका छैनन् । ‘हामीले सबै कागजात कोल्ड स्टोरलाई पठाएका छौँ । उसले पनि बिमा कम्पनीलाई कागज पठायो भन्ने चाहिँ सुनेका छौँ,’ कट्टेलले भने, ‘अब क्षतिपूर्ति त पाउँछौँ होला । तर, रोप्ने बेलामा बीउ पाएनौँ । साह्रै दुःख लागेको छ ।’

कृषक लोकेन्द्र पाण्डेक केही वर्ष यता आलु खेती गर्दै आएका छन् । पकेट र ब्लक कार्यक्रम सञ्चालन भएपछि आलु खेतीमा उत्साहित पाण्डेले यस वर्ष खेती विस्तार गर्ने योजनाका साथ १८ बोरा बीउ आलु कोल्ड स्टोरमा राखेका थिए । तर, उनको सबै आलु कुहिएपछि आधा पनि खेती गर्न नपाएको उनी बताउँछन् । ‘यसपटक त धान पनि वर्षाले धेरै बिगार्‍यो । आलुको बीउ यस्तो भयो । आलुबाट त केही हुन्छ होला भन्ने सोचेका थियौँ,’ उनले भने, ‘सधैँ यतिबेला आलु उम्रने बेला हुन्थ्यो । बीउ नपाएर यसबेलासम्म आधा मात्र खेती भएको छ ।’

आलुको बीउ कुहिएपछि आलुमा आत्मनिर्भर कमलका कृषकलाई ठूलो क्षति पुगेको गाउँपालिका अध्यक्ष मेनुका काफ्ले बताउँछिन् । कृषकले आलु पुरेको समयमा आफू पनि पुगेको बताउँदै मन खिन्न भएको अध्यक्ष काफ्लेले बताइन् । उनले आलु कृषकलाई क्षतिपूर्तिका लागि पहल गर्ने बताइन् । यसका लागि संघ र प्रदेश सरकारसँग समन्वयको काम भइरहेको उनको भनाइ छ ।

कोल्ड स्टोरमा कमल-२ का मात्र हैन झापा र मोरङका कृषकको पाँच हजार बोरा बढी आलु कुहिएको कोल्ड स्टोरले जनाएको छ । आलु रोप्ने समयमा वर्षा भएको र कृषकले ढिला मात्र बोरा लैजाँदा आलु कुहिएको अवस्थामा फेला परेको कोल्ड स्टोरको दाबी छ ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ८ : ३१ बजे

लक्ष्यअनुसार राजस्व सङ्कलन नभएपछि प्रदेश र स्थानीय तहमा जाने अनुदान कटौती

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा

सिद्धबाबा मन्दिरमा महाशिवरात्री मेला तयारी पूरा, ६० हजार भक्तजन भित्र्याउने लक्ष्य

बुटवल । महाशिवरात्री पर्वको अवसरमा पाल्पाको तिनाउ गाउँपालिका-३, दोभानस्थित सिद्धबाबा

पाल्पाको तिनाउमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवाको मृत्यु

बुटवल । बुटवल-पाल्पा सडक खण्डअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ मा शनिबार

निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराउन प्रधानसेनापतिको निर्देशन

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई शान्तिपूर्ण

६६ जिल्लाका १४२ निर्वाचन क्षेत्रका एक करोड ८२ लाख ३० हजार मतपत्र छापियो

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि