म अर्ध–पागल

दीनानाथ शर्मा
१५ माघ २०७८, शनिबार
                 

म अर्ध मान्छे । अपूर्ण मान्छे । जीवनमा कहिल्यै पनि पूर्ण हुन सकिनँ । सधैं अधकल्चो, आधा । सधैंको सिकारु, जिज्ञासु । पूर्ण हुने रहर अधुरै रहने भयो जीवनमा ।

म अर्ध भएँ । अर्ध नै रहेँ । जीवनपर्यन्त अर्ध नै रहनेछु कि भन्ने लाग्न थालेको छ । मेरो मनले हरेस खाने त होइन ? पूर्ण मान्छे हुने रहर पुगेको छैन अझै । हिम्मत हारेको छैन । पूरा मान्छे बन्ने प्रयत्न निरन्तर जारी छ ।

मलाई अर्ध मान्छे भन्न लाजसरम केही छैन तर म अर्ध–पागल भने होइन । पागल पनि हुन सकिनँ । मलाई पागल हुने चौपट्टै रहर थियो । त्यो सपना पनि अधुरै रहने भयो ।

आजभोलि पागल बन्ने तिर्खाले बिछट्टै सताउन थालेको छ । सडकमा बेफिक्री पल्टेर आकाशका तारा गन्ने र पोल्टाभरि टिपेर भित्र््याउने रहर अधुरै छ । जूनताराको कोसेली आमाको पोल्टामा राखिदिएर दूधको भारा कटाउने औधी रहर छ मेरो । निर्धक्क आमाको पाउ प्रच्छालन गरेर रातो टिकी लगाइदिन लजाउँदै छ मेरो परिवेश । छिमेकका दास हामी, परिवेश र परिस्थितिका पीडक, साँचो बोल्दैन सद्दे मान्छे ।

म आधा–अधकल्चो मान्छे । यो सद्देहरूको संसार हो । उनीहरूको सडकमा पल्टेर चिच्याउने र लडिबुडी खेल्ने अनुमति छैन मलाई । मलाई निर्धक्क दिल खोलेर साँचो बोल्ने रहर छ । त्यसैले साथी मलाई पागल बस्तीतिर पठाइदेऊ । मलाई उतै रमाउन चौपट्टै रहर छ ।

सडकमा लड्खडाउँदै बेफिक्री हिँडेको अर्ध–पागललाई देख्छु । उसलाई कुनै चिन्ता छैन जीवनको । परिवारबाट स्वतन्त्र छ । समाजबाट स्वतन्त्र छ । पागलको आँखाले हेर्छ समाजले । पागल भैदिन्छ सबैका लागि । पागल सधैँ साँचो बोल्छ, सत्य खोज्छ । सत्य र न्यायका लागि पागल बन्छ । लपनछपन छैन कसैको । कतै फालेको टालो भेटिए भिरिदिन्छ शरीरमा । नपाए नाङ्गै हिँडिदिन्छ सडकमा । उन्मुक्त मान्छे । घर, परिवार र यो पापीहरूको संसारबाट आजित भएर पागलको दुनियाँमा प्रवेश गरेको हो । जीवनसित हारेर होइन । थाकेर पनि होइन । उसको लक्ष्य र उद्देश्य छ । एउटै ओजपूर्ण आवाज बोकेर चिच्याउँदै राजधानीसम्म आइपुगेको छ । एक स्वरले कराउँदै मेरो देश, मेरो धरती भन्दै बर्बराउँछ घरिघरि अनि धुलोमा लडिबुडी खेल्छ । उतिखेरै माटो दलिदिन्छ शरीरभरि । सुस्ताको एक धुर माटो बिहान उठ्दा आफ्नो रहेन । यो खबर सरकारलाई पत्तै भएन । त्यसैले माटोको खोजीका लागि यता छिरेको भन्छन् गाउँलेहरू ।

माटो–ढुङ्गो भेटे टुपुक्कै ढोगिदिन्छ । रूख–बिरुवाहरूलाई प्यारले अँगालो मार्छ । सयौँपटक म्वाइँ खाइदिन्छ पीपलको बोटलाई । माथि हेरेर दुई थोपा आँसु झारेर सिँचिदिन्छ जराहरूलाई । उसको हजुरबाले रोपेको बरपीपल हे-यो । उसलाई औधी माया छ यसको । हजुरबाले सजाएको आँपको बगैँचा साँझसम्म आफ्नै थियो । बिहान उठ्दा छिमेकीको भैदिएछ । छिमेकीले आँठो मिच्यो । घरबास लुट्यो । सुकुमबासी भयो । न्यायका लागि भिख माग्दै यता छि-यो । हजुरबाको स्वाभिमान खोज्दै छ ऊ । पुर्खाको पौरख लुटियो भन्दै कराउँछ, फहरिन्छ । आफूले आफैँलाई चिर्थोछ । यो देखेर पागल भन्न थाले सबैले । पागल भैदियो माटोको खोजीमा । स्वाभिमानको खोजीमा । घरबासको खोजीमा । आफ्नै माटो बनिदिँदैछ यहाँ न्याय र सत्यका लागि ।

म उसको नजिक पुगेँ । उसका सबै गतिविधि नियालेँ । उसको आत्माको चीत्कार सुनेँ । मैले उसलाई न्याय दिलाउन सकिनँ साठी वर्ष अविराम लडे पनि । मेरो देशको कानमा पुगेन उसको आवाज । त्यसैले म पनि उसैसित भौँतारिन थालँे । एउटा चोकबाट अर्को चोकमा पुग्छ अनि कराउँछ– ‘ए मान्छे ! यता सुन, म मेरो देशको खोजीमा निस्केको छु । मेरो माटोको खोजीमा निस्केको छु । मेरा ती साना नानीहरू र सँगै अँगालोमा सुतेकी श्रीमतीको खोजीमा निस्केको छु । मेरा लिम्पियाधुरा, लिपुलेक र कालापानी कतै देखेको छस् भने देखाइदे । यी मेरो घोक्रोभरि नारा बटुलेको छु, उपहारका लागि र जून टिपेर ल्याएको छु तँलाई दिन ।’ यसो भन्दै बर्बराउँदै काँधमा बोकेको धोक्रोभित्रका काँच, काठ र केकेका टुक्राहरू सडकमा छरिदिन्छ ।

कतिले तिरस्कारको आँखा फ्याँक्छन् उसलाई देखेर । भुस्याहा कुकुरहरू भुक्दै लखेट्न आउँछन् वरिपरि । कतिले फोस्रो दया देखाउँदै कठैबरी भन्छन् उसको हालत देखेर । यो दुनियाँसित कुनै साइनो–सम्बन्ध छैन उसको । लिनु–दिनु पनि केही छैन । ‘स्वाभिमान गुमाएको पातकी’ भन्दै सराप्छ अगाडि पर्नेलाई ।

मेरो देश कता छ ? भन्दै गोजी छाम्छ । धोक्रो टक्टक्याउँछ । कतै केही भेट्दैन । आक्रोशित हुँदै पर फ्याँक्छ । थोत्रा टालाटुलीको पोको फुकाउँछ अनि खोज्न थाल्छ गुमाएको माटो, हराएका लालाबालाहरू ।

चैते धूप, असारे झरी, हिउँदको ठिहीले छोएन उसलाई । देशको खोजीमा लठ्ठिएको एउटा पागल । एउटा पागलको बस्तीलाई पालेको छ प्रकृतिले । उसले के खान्छ ? कसरी बाँचेको छ ? किन बाँचेको छ ? कसले बचाएको छ ? कसैलाई मतलब छैन । सोध्ने फुर्सद पनि छैन ।
उसको मुटुमा यति गहिरो खत कसरी लाग्यो ? मलाई नालीबेली छाम्ने विचार आयो । सोध्दै–खोज्दै गएँ । दुई साना नानी र श्रीमतीसमेतको चारजनाको एउटा सुन्दर परिवार पैतृक आँपको बगैँचाभित्रको एक कट्ठा जमिनमा पुस्तौँदेखि सुस्ताको सीमा क्षेत्रमा रमाउँदै आएको थियो । एक साँझ पारितिरबाट एक हुल आयो । आँखाकै अगाडि दुई नानीको निर्मम हत्या भयो । श्रीमतीको पालैपालो बलात्कारपछि हत्या भयो । उसलाई निर्घात कुटेर पर जङ्गलमा फालियो । एक धुर जग्गामा उनीहरूकै कब्जा भयो । छरछिमेक चस्मदिद दर्शक भए । केही दिनपछि तङ्ग्रियो । चलफिर गर्न सक्ने भयो । गाउँ–छिमेक गुहार्न थाल्यो । न्याय–निसाफ खोज्न थाल्यो । सिंहदरबारको अधिकार गाउँ–गाउँ पुगेको छ भन्ने सुनेको थियो । सबैतिर गुहार लगायो । बलियो छिमेकीका अगाडि सबै मौन रहे । समाज र समय निरीह बन्यो ।

अनि माटोको खोजीमा राजधानी छि¥यो । सिंहदरबारको दक्षिण ढोकाअगाडि देखा पर्न थाल्यो । भित्र छिर्न बल ग-यो । सबैले पागल आयो भने । आखिर पागल घोषित भयो । बस्, यतिमै कथा सकियो ।

मेरो मनमा देशको एउटा निरीह बिम्बको मुटु छाम्ने विचार आयो । यहाँ सद्दे मान्छेले न्याय दिन सक्दैन । न्याय पाउन पनि सक्दैन । त्यसैले यहाँ पागलहरूको बस्ती बसाउनुपर्छ साँचो बोल्न, न्याय खोज्न र दिलाउनका लागि । जनसङ्ख्या बढाउनु छ पागलहरूको । हजार पागलमा एक थपिँदा एक हजार एक हुनेछ । म पागलको पछि लाग्ने अर्ध–पागल । पूर्ण पागल भैसकेको छैन अझै । मभित्र समयको छाप छ अझै । समाजको विरासतले छाडेको छैन । म अर्ध–मान्छे, अपूर्ण पागल, अर्ध–पागल ।

उसको मनमा छलकपट छैन । स्वार्थ छैन । उसको संसारमा कसैप्रति रिसराग छैन । तेरोमेरो छैन । लिनु–दिनु केही छैन । जीवन माटोलाई सुम्पेको छ र खोजी माटोको गर्दैछ । सबैतिरबाट मुक्ति पाइसकेको छ । ऊ उन्मुक्त मान्छे । मलाई पनि उसलाई जस्तै उन्मुक्ति चाहिएको छ ।
ऊ बुद्धू होइन । उसलाई बुद्धू ठान्ने स्वयम् पटमूर्ख हो । ऊ बुद्ध हो । उसलाई बुद्धत्व प्राप्त भएको छ । उसको मुटुभित्र देशका लिपुलेक, लिम्पियाधुरा, कालापानी र सुस्तासमेतको सग्लो नक्सा कोरिएको छ । माटोको माया बगेको छ धमनीमा । ज्ञानको दियो जलेको छ मनको गहिराइमा । त्यही प्रकाशमा स्वाभिमानको खोजी गर्दैछ । माटोको खोजी गर्दैछ । माटोमा मिसाएको पसिनाको बास्नाको खोजी गर्दैछ । विश्व–मानचित्रमा मेरो देश छ कि छैन भनेर कराउँदै छ गल्ली र चोकहरूमा । ऊ स्वाभिमान गुमेको मान्छे होइन । ऊ पागल हो, हामी सद्दे मान्छेभन्दा धेरै माथि उठेको पागल ।

आफन्त त्याग्यो । इष्टमित्र त्याग्यो । उसले गाउँ–समाज त्याग्यो । बुद्धले दरबार त्यागेजस्तै । उसको मनमा पनि वैराग्य चल्यो । वैराग्य विद्रोहमा परिणत भयो । बुद्धले ध्यान गर्न थाले । ऊ कराउन थाल्यो । न्याय माग्न थाल्यो । एउटा दुष्टले ऊ पागल आयो भनेको उसको कानमा प-यो । झन् ठूलो स्वरले चिच्यायो । माटोको माया गर्ने धरतीपुत्रलाई पागल भन्छ यो स्वार्थी दुनियाँले । केटाकेटीहरू पागल आयो भन्दै कराउँछन् । एक टकले हेर्छ । छोप्न खेज्छ आफ्नै हराएका नानी सम्झेर । डरले परपर भाग्छन् पागल आयो भन्दै । एकै ठाउँमा बस्दैन ऊ । उसको भूगोल छैन । भूगोलको सीमा पनि छैन । ऊ अन्तर्राष्ट्रिय जाति भैसकेछ । गाउँ, बस्ती र सहरहरूमा भौँतारिन्छ । यतातिर आइपुगेछ आजभोलि । उसको कथा यति मात्रै हो । ऊ एउटा सच्चा देशभक्त पागल ।

अब कथा मेरो सुरु हुन्छ । म सधैँको अर्ध, अपूर्ण मान्छे । मेरो पूर्ण हुने रहर कहिल्यै पूरा नहुने भयो । म सधैंको सिकारु, सधैंको विद्यार्थी । परीक्षा दिँदैमा जीवन जाने भयो । मैले जानिनँ, मैले सकिनँ भन्न मलाई कुनै लाजसरम छैन । कमजोरी लुकाउने ढोँगीको अनुहार हेर्न पनि मन छैन । खेताला कज्याएर पुरस्कार थाप्नु छैन मलाई । अरूलाई कज्याएर खान संस्कारले दिएन । पसिना रोपेर सुन फलाउने धरतीपुत्रको सन्तान हुँ भनेर घमण्ड पनि छैन ।

म पूर्ण मान्छे बन्न जीवनमा निकै प्रयत्न गरेँ तर कहिल्यै सकिनँ । म सानै हुँदा बूढी आमैले ‘ऊ अर्ध आयो’ भनेको झलझली सम्झेको छु । ‘ऊ कैयाको अर्ध–बौलाहा आयो, अब लैजान्छ’ भनेर डराउन दिएको बिर्सेको छैन । मेरो कलिलो बालमनोविज्ञानमा अर्ध–पागल भन्ने शब्दले गहिरो प्रभाव पारेको थियो । अर्ध भन्ने शब्द सुन्नासाथ भागेर भित्र छिर्थें तर आज त्यही अर्ध शब्द मलाई औधी मीठो छ । त्यसले पछ्याइरहेको छ ।

कैयाका अर्ध निकै वर्ष बाँचे । म ठूलो हुँदै गएँ । जान्नेसुन्ने भएँ । तलमाथि गर्दा हाम्रो घरमा पस्ने गर्थे । बूढा बा–बूढी आमा दयालु थिए । बस्न–खान दिएर सहानुभूति राखेको देखेँ । म पनि क्रमशः झ्याम्मिन थालेँ । उनलाई असल मान्छे ठान्न थालेँ । नजिकिएँ । माया गरेर काखमा लिएँ । म लाडिएँ । बुझ्दै गएँ– उनी पूर्ण पागल हुन सकेका रहेनछन् । पारिवारिक बिछोडले विरक्तिएको बेला टोलाएर हिँड्न थालेछन् । छिमेकले अर्ध–सिल्ली, अर्ध–पागल करार ग¥यो । त्यसैले अर्ध बनेका रहेछन् भन्ने बुझ्दै गएँ । घुम्दै–फिर्दै मोदीबेनीतिर पुगेछन् । उतै उनको मृत्यु भयो रे भन्ने खबर पनि बूढी आमैको मुखबाट सुनेँ । मलाई कस्तो–कस्तो भयो । उनी अर्ध–पागल थिए । पूरै पागल भएर होसहवास छाडेनन् ।

मैले पनि होसहवास छाडेको छैन अझै र पूर्ण पागल हुन सकेको छैन । मेरो मुटुको घाउ अझै निको भैसकेको छैन । निरक्षर बूढाबालाई मुखियाले दुई दिन आफ्नै कोठामा थुनेर राजीनामा जबर्जस्ती सहीछाप गर्न लगाए । दस मुरी धान फल्ने खेत आफ्नो बनाए । ‘ऊः त्यो हाम्रो लुटिएको खेत हो’ भनेर देखाउँथे बूढाबा । छिमेकीलाई चोरीको आरोपमा त्यसरी नै लुटेको अन्याय सानैमा देखेँ । मनले सहन सकेनछ । बाको स्वभाव पनि विद्रोही खालको थियो । म पछिपछि लागेँ सानैदेखि । ‘बाघको छाउरो बाघै हुन्छ’ भन्थे गाउँलेहरू । मलाई नशा चढ्यो सामन्तको सिकार गर्ने । सिकारको सर्जाम खोज्न बनारस ठोकिन पुगेँ । क. पुष्पलाललाई भेटेँ । हतियार भेटियो । यता मोहनविक्रमसित सङ्गत भयो लामो समय । ‘स्याल मार्नु बाघको सर्जाम लिएर’ भन्छन्, मोहनविक्रमसित केही भेटिनँ । आखिर जनयुद्धमा ठोकिन पुगेँ सिकारका लागि ।

सिकारीलाई काँडाले कोप्छ जङ्गलमा । दस हन्डर खानुपर्छ पाटे बाघ ढाल्न । निशाना चुक्यो भने आफैँलाई झम्टन्छ भन्ने कुरा सिकारीलाई मात्रै थाहा हुन्छ । आखिर ठूलै सिकार ढालियो । बिलो लगाउने बेला हानथाप भयो । यात्रा बाँकी नै रह्यो । पूर्ण हुने सपना बाँकी नै रह्यो । हामी अर्ध–देशका अर्ध–सिल्ली मान्छे ।

म सधैँको अर्ध । सधैँको सिकारु । सधैँको विद्यार्थी । सिक्दै र परीक्षा दिँदैमा जीवन बित्ने भयो । म अपूर्ण मान्छे । मलाई लाज छैन अपूर्ण भन्न । मलाई सरम छैन अर्ध–पागल हुँ भन्न । मलाई सिकारको नशाले छोडेको छैन अझै । अझै ठूलो बाघ ढाल्न बाँकी छ । माटोको मूल्य चुकाउन बाँकी छ । ऊजस्तै चोकमा उभिएर सत्य र न्यायका पक्षमा चिच्याउने रहर मेटिएको छैन अझै । विचारमा पाइन लगाउन भनेको छ समयले । नयाँ विश्व–परिस्थितिको पहिचान गर्न भनेको छ युगले ।

ढोंगीको बजारमा पाखण्डको व्यापार मौलाउँदै छ बनमारा झारझैँ । छाती खोलेर सत्य देखाइदिनेलाई सहँदैन कसैले । पागल भनेर दुत्कारिन्छ सत्य र न्यायलाई । ऊ माटो गुमाउनु परेकाले पागल भयो । चुइटी श्रीमान् गुमाउँदाको पीडाले पागल भइन् तर आजसम्म कुनै पागलले झुटो बोलेको मैले भेटेको छैन । अरूको लुटेर खाएको वा ठगेको पनि थाहा छैन । सच्चा वर्गमित्र हो पागल । बादशाहलाई नाङ्गै देख्छ सडकमा र पोल खोलिदिन्छ पाखण्डको । त्यसैले साथी मलाई पागल बन्ने रहर छ र सत्य बोल्ने रहर छ अबोध बालकले झैँ ।

मैले सकिनँ । मैले जानिनँ । मैले सिकेर भ्याइनँ । मेरो सिकाइ पुरानो भयो । युग फेरियो । बाटो अल्मलियो । मेरो क्रान्तिको सपना अधुरै रह्यो । मेरो वर्गको झोपडीमा दियो बलेन । साँझबिहान चुलो जल्न बाँकी छ कतिको घरमा । लुतो कन्याउँदै रोएका छन् कतिका नानीहरू ।

बलात्कारपीडितहरूको चीत्कार उस्तै छ । । लुटको छुट छ सद्देहरूको संसारमा । त्यसैले साथी सत्यको उजागार गर्न मलाई पागल हुने रहर छ ।

युग फेरियो, आदत फेरिएन । सामन्त ढल्यो, कुशासन ढलेन । नयाँ कानुन बन्यो, संस्कार–संस्कृति बदलिएन । चालक फेरियो, थोत्रो गाडी फेरिएन । मागेको सातुले गुजारा चल्दैन । हुनेखानेको गोठालो लागेर देश समृद्ध हुन सक्दैन । त्यसैले साथी म बदल्ने औजारको खोजीमा अर्ध–पागल बनेको छु । मेरै माटो उधिनेर उकास्नु छ गौँडा–गल्छेँडाहरू । फेरि एकपटक पागल बन्नुपर्ने भयो अन्याय र विभेदको अन्त्येष्टिका लागि ।
समय निरन्तर बगेको छ कालीको छालझैँ । समयको छालले हिर्काउँछ सचेत तन्तुलाई र पागल बनाइदिन्छ मन्छेलाई । चुप लागेर बस्ने जात होइन मानिस । लुटिएको मान्छेको आत्मामा विद्रोहको ज्वाला दन्केको हुन्छ । प्रतिरोध, प्रतिकार र प्रतिशोधले प्रकट हुने अवसर पर्खेर बसेको हुन्छ । प्रतिवादको सचेत रूप हो पागलपन । एकाङ्गी, एकोहोरो र एकलकाटे बनिदिनुपर्छ लक्ष्य भेदनका लागि । राइट दाजुभाइको समर्पणलाई बहुलट्ठी भनेका थिए कतिले । देवकोटा स्वयम् बहुलट्ठी पागल बनेका थिए स्रष्टाको बीचमा ।

म एकोहोरो बनिसकेको छु भित्रभित्रै । विगतमा धेरैपटक पागल भैसकेको छु इतिहासमा । पटकपटक तिरस्कृत र बहिस्कृत भएको अनुभव सँगालेको छु जीवनकालमा । युवा जोसको अर्धचेतना बोकेर बनारस पुगेँ । चालीसको दशकमा पागल बन्ने नशा चढ्यो । पञ्चायतले सहेन । भूमिगत हुँदा पागल ठान्यो स्वार्थी समाजले । बाउन्नपछि पुनः पागल बन्ने रहर जाग्यो । पागल बनेर जङ्गल पसेँ। जनयुद्धको सौन्दर्यमा रमाउने साहसी पागल बन्न सफल भएँ । आजभोलि किनकिन फेरि पागल बन्ने रहर जागेर आएको छ । मलाई पनि अन्तर्राष्ट्रिय पागल बन्ने रहर छ ।

विचारको खडेरी छ राजनीतिको फाँटमा । मूल्य, मान्यता, नैतिकता र अुनशासन स्खलित भैसेकको छ । स्वार्थको प्रतिस्पर्धा छ । सत्य र न्याय निरीह बनेको स्वयम्भूका दुई आँखाले टोलाएर हेरिरहेका छन् । युग घेराबन्दीमा छ । अगुवा सिङ जुधाउँदै छन् । आँठो मिचिएको छ । स्वाभिमान गुमेको छ । देश कैदी बन्दैछ । दर्शन र सिद्धान्त कुनातिर थन्किएका छन् । त्यसैले साथी मेरो घाइते मन अर्ध–पागल भएको छ । फेरि एकपटक पूर्ण पागल बनेर स्वच्छन्द आकाशमा उडान भर्न मन छ जीवनको  उत्तरार्धमा ।

 

(यो निबन्ध राजनीतिज्ञ एवं साहित्यकार दीनानाथ शर्माको हालै प्रकाशित एक सम्बोधन समयमाथि नामको निबन्ध संग्रहबाट लिइएको हो । स.)

 

यसमा तपाइको मत

Your email address will not be published.


*