१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

लालचीको संसार



सुनखानीभित्र छिरेको मानिस सुनको थैलो बोकेर निस्कँदै गर्दा सुरुङभित्र अचानक पहिरो खस्छ । बाटो थुनिन्छ । उद्धार गर्ने कोही हुँदैन । आखिर सुनको थैला च्यापेर उतै चिसो मृत्युवरण गर्छ । उसको इहलीला उतै अँध्यारो सुरुङभित्र थन्किन्छ र सुनले घर सिँगार्ने सपना सबै सदासदाका लागि उतै तुहिन्छ । अनुहार देख्न पाएनन् छोराछोरीले । अन्तिम संस्कारको धोको अधुरै रह्यो उनीहरूको । मलाम जाने अवसर पाएनन् साथीभाइ र आफन्तजनहरूले । चिहानघारी ओगटेन विचराको लासले ।

लोभी मानिसको लोभको भकारी कहिलै भरिँदैन । लालची मन साँखुम हुँदैन जति भए पनि । ‘सबै जोगी मर मेरै तुम्बाभर‘ भन्ने उखान चरितार्थ हुन्छ लालचीको संसारमा । लालचीको संसार सधैँँ उजाड, उदासीन र शुष्क छ । कहिले हराभरा र रसिक हुन सकेन तिर्खालु आँखा । तिर्सनाको तिर्खा मेटिएन कहिलै पनि । मरुभूमिको चक्कर काटिरहेको हुन्छ काकाकुल बनेर । अतृप्त आत्मा साँखुम हुन मान्दैन जति भए पनि । घाटे वैद्यको पोल्टामा लालचाको पोको थमाएर अन्तिम सास फेर्छ जैमिनि घाटमा । पे्रतात्मा बनेर भौंतारिन्छ उसैगरी ।

लालची बारबार मरिसकेको हुन्छ जीवनमा । लोभी आँखा सधैँ लोलाउँछ अरूको धन, दौलत, वैभव र रूप देखेर । ईष्या, डाहा र आत्मा जलेर राख हुन्छ पटकपटक । स्वत्व गुमाउँछ र स्वाभिमान बेचिन्छ बजारमा लोभको भकारी भर्न । बहुमूल्य गरगहना र परिधानमा सजिएर श्रेष्ठ र सुन्दर देखाउन प्रयत्न गर्छ लोकका अगाडि ।

इमान, जमान, मान, सम्मान सबै बिर्सिदिन्छ उसले । सुनौलो वैभवको सपनामा रमाउन चाहन्छ सधैँ । प्राकृत सौन्दर्य मन पर्दैन नक्कली दुनियाँलाई । धनको लालसा, पैसा, पद र कुर्चीको लालसाको भरिया बनेको छ लालचीको जीवन र करिया बनेर पाउ प्रछ्यालन गरिदिन पछि पर्दैन त्यसका लागि । आमाको प्यारो हातले बनाएको रोटीभन्दा विदेशीको खुट्टाले माडेको पाउरोटी मिठो लाग्न थालेको छ आजभोलि । आफ्नै झोपडीको राजा हुनुभन्दा विदेशीको दरबारको चाकर हुने रहर बढेको छ अचाक्ली । गुलाम बनाएको छ उपभोक्तावादले । ‘धन देखेपछि महादेवका तीन नेत्र’ भन्ने उखान चरितार्थ भएको छ उत्तरआधुनिकताको युगमा । यसैलाई आधुनिक सभ्यता भनेर परिभाषाको उपहार पठाएका छन् हामीलाई ।

यो लालचीको युग हो । लोभीको संसारमा करोडौँ अतृप्त लालची आँखा असरल्ल पोखिएका छन् निर्धाको आङ्मा । राजनीति गर्नेका आँखा कुर्चीमा केन्द्रित छन् । सोझो बाटो हिँड्नेहरू पछि छोडिएका छन् । कर्के नजर लगाउनेहरूका धेरै समूह बनेका छन् र तिनै समूहको भ-याङ चढेर माथि पुग्नेको हानथाप छ । न्याय खरिद बिक्रीको माल बन्न थालेको छ लालचीको बजारमा । अस्मिताले खुलेआम व्यापारको मान्यता पाउँछ आधुनिक लोकतन्त्रमा । यो सम्पन्न र सम्भ्रान्तहरूको लोकतन्त्रको सभ्यता हो रे आधुनिक युगको । संस्कार, संस्कृति र परम्परा पुरानो हुँदैछ । नयाँको नाममा समय नाङ्गै हिँड्न थाल्यो । नाङ्र्गिने अधिकार हो भन्ने परिभाषा हुन थाल्यो स्वतन्त्रताको नाममा । स्वच्छन्दताको होड चलेको छ सामाजिक सञ्जालमा ।

पद र पैसाका लागि मरिहत्ते गर्छन् राष्ट्र सेवकहरू । झण्डाको छहारीमुनि जथाभावी हुन थालेको छ हाकाहाकी । निष्ठाको मूल्य खोज्ने सहिदहरू टोलाउन थालेका छन् लालचीको संसारमा । युग फेरियो । व्यवस्था बदलियो । सोच फेरिएन । नियत फेरिएन । मानिस उही । मति उही । नयाँ बोतलमा पुरानै रक्सी लालचीको संसारमा ।

लालचीको रङ्गमञ्चमा लडखडाउन थालेको छ राजनीति । हिजो राजनीति देश र जनताका लागि थियो । वर्ग र वर्गीय निष्ठाका लागि थियो । सम्पूर्ण सत्ता जनताका लागि भनेर लागियो राजनीतिमा । त्यसकै लागि हजारौँ सहिदको रङले रङ्गियो नेपाल आमाको छाती । तर आज स्वर फेरियो । वर्ग भुलियो । स्वर्णिम वैभवका लागि सुरुङभित्र छिर्दैछ कि राजनीति भन्ने डर हुन थालेको छ ।

त्यसैले होला आजभोलि अख्तियारको सुरुङभित्र छिरेछन् कति । कति अदालतको कठघरामा उभिएकाछन् लालची आँखाहरू । पलायन हुँदैछन् कति कहिले नफर्किने गरी । हामी युगले सिर्जेको रमिता हेर्दैछौँ । यसरी त कति दिन चल्ला र ?

प्रत्येक युगले निर्लोभी मनको पनि जन्मदिएको छ इतिहासमा । बुद्ध लालची थिएनन् । शुद्धोधनको दरबार सजिलै त्यागिदिए हाँसिहाँसी । भौतिक वैभवले सन्तुष्टि दिएन उनलाई । ज्ञान साधनामा निर्लिप्त रहेर आखिर बुद्धत्व प्राप्त गरिछाडे । भौतिकत्व बाहेक ब्रह्माण्डमा अरू कुनै चीज सत्य छैन त्यसैले ज्ञानको शरणमा जाऊ, सङ्घमा बस र असल काम गर भनेर अर्थाए ।

गान्धी, नेहरू, लेनिन र माओहरू पनि लालची थिएनन् । लपनछपन गरेनन् । आफ्नो पराइ भनेर पनपक्ष पनि गरेनन् । पुष्पलाल, वीपी र गणेशमानहरूले पनि लालसा देखाएनन् । सहयोद्धालाई पछि धकेलेर ठुलो भाग खोस्न सहतिएनन् । त्यसैले उनीहरूको विचारले युगको नेतृत्व ग¥यो । परिवर्तनको वाहक बन्यो उनीहरूको विचार र आदर्श । वर्तमान युग पनि त्यसैको जगमा उभेको छ भन्ने कुरा पुष्टि हुँदैगएको छ । असहिष्णु, लालची र लोभीमन विचारको वाहक बन्न सक्दैन । युगको नेतृत्व पनि हुन सम्भव छैन ।

बुद्ध जीवित छन् आधुनिक विश्वमा । माक्र्स र लेनिनलाई पनि विश्वसामु उपस्थित छन् । हाम्रो सभ्यता शान्ति र अहिंसाको धरातलमा उभेको छ । हिंसा रुचाएन हाम्रो माटोले । ‘अरूको बुद्धिले राजा हुनुभन्दा आफ्नो बुद्धिले जोगी हुनु जाती’ भन्छ हाम्रो नीतिले । तर लोकाचार बिर्सिदिन्छ लालची मनले । अरूको बुद्धि, विवेक र विचारको भरिया बन्न रुचाउँछ लालची मन । आयातित संस्कृतिको गुन गाउँछ ढोंगीको जमातले ।
हामी उपभोक्तावादको डरलाग्दो सुरुङभित्र छिरिसकेछौँ । एकाइसौँ शताब्दीको सुरुङभित्र अथाह खजाना छ उत्खनन गर्न सक्नेका लागि । कसले कुन औजार बोकेर जाने भन्ने मात्रै हो । उपभोक्तावादीहरूले हिरा, मोती, जुहार र सुनचाँदीको खोजी गर्लान् । ज्यामी, मजदुर र किसानहरूले फलाम, ग्याँस, पेट्रोल र कोइलाको उत्खनन् गर्ने होलान् ।

सुनको खोजीमा सुरुङभित्र छिर्नेहरू उपभोग गर्नकै लागि मात्र हो यो जीवन भन्ने नयाँ परिभाषा बोकेर छिरेका छन्। तिनकै बोलावाला छ चारैतिर । समाज विचलित र पलायन हुँदैछ त्यसैकारण । जन्मदिने आमा र जन्मभूमि भुल्न थाल्यो नयाँ पुस्ताले । प्रदूषित पश्चिमा वायुले दूषित गर्दैछ विश्वलाई । जलवायु परिवर्तन र पर्यावरणको विनासको चपेटामा छ हाम्रो भूगोल । संस्कार संस्कृति प्रदूषित हुँदैछ दिन प्रतिदिन । आयातित राजनीतिले कोल दिएन हामीलाई ।अरिस्टोटल भन्छन् ‘समय परिवर्तनविना अस्तित्वमा रहन सक्दैन ।’ समयको गति रोकिँदैन ।
सुन ननिकाल भनेनन् लेनिनले । शौचालयको कमोटमा प्रयोग हुन सक्ने असल धातु हो भनेर सुझाए । तर आज सुनको ओसार पसारमा बुद्धि विकेक खर्चिँदैछ लालचीको । सुनको छाना हाल्ने सपना देखेर सुरुङभित्र छिरेको मान्छे कफनभित्र बन्द भएर फर्केको दुःखद पीडा भोगिरहेको छ हामो युगले ।

स्वयं विश्व ब्रह्माण्ड एउटा डरलाग्दो सुरुङ हो । सुरुङभित्र छिरेको लालची मान्छेले केवल चिसो मृत्यु सिवाय अरू केही देख्नसकेको छैन । उत्खनन्का अथाह अनुभव पत्थरको अक्षरमा कोरेर अँध्यारोमा चिनगारी देखाउनेहरू मात्रै फर्किएका छन् पटकपटक ।

आइन्सटाइनको सापेक्षतावादको सिद्धान्तको धरातलमा टेकेर स्टेफेन्सहकिन्सले अध्यारो सुरुङको परिभाषा दिए । ऊर्जा उत्सर्जन गर्ने अचुक औजार माने अँध्यारो सुरुङ (Black Hole)लाई । ब्रह्माण्डलाई सुरुङभित्र छिराएर विज्ञानको नयाँ ढोका खोलिदिए । ज्ञानीहरू अहिले त्यसको पछि लागेका छन् ।

अँध्यारो सुरुङभित्र ज्ञानको अथाह भण्डार छ भन्नेबुझ्नसकेन अज्ञानीमनले । लालचीमन सधैँ धन दौलततिरै कुद्यो जीवनभर । आपसमा हानथाप र लुछाचुँडी ग-यो सीमित स्रोत साधानलाई । प्रकृतिको गर्भमा अथाह खजाना छ भन्ने भेउ पाउन सकेन लोभी दिमागले ।

वर्तमान विश्वको मूलप्रवृत्ति धनको प्रतिस्पर्धा, भौतिक संरचनाको प्रतिस्पर्धा र हतियारको प्रतिस्पर्धा बनेको छ । प्राकृत स्रोत, साधन र सम्पत्तिको दोहनमा लुछाचुँडी छ पाखुरेहरूको बीच । खाडी मुलुकहरूको ग्याँस र पेट्रोलियममा एकाधिकारका लागि फिरङ्गीको फौज तैनाथ छ । एसिया प्यासिफिक रणनीति दक्षिण चीन सागरमा नियन्त्रण गर्न आएको भन्ने प्रस्टै छ । विश्व प्रभुत्ववादको डरलाग्दो सुरङभित्र छिर्दै छ एककाइसौँ सदी । तेस्रो विश्वयुद्धको बुँदाबाँदी हुन थालेको हो कि भनेर अनुमान लगाउन थालेका छन् मानिसहरू । ‘साँढेको जुधान पाडा बाच्छाको मिचान’ हुने खतरा छ लालचीको संसारमा । आणविक शक्तिको सनकी दुरुपयोगले मानव जातिकै विनास त हुने होइन भन्ने शङ्का हुनथालेको छ । लालचीको अहं झन् पछि झन् बढ्दै गएको छ ।

विचार र विवेक पखालिइ सकेको छ लालचीको मनबाट । दर्शन, सिद्धान्त र विचार बिर्सिंदै छ । नीतिका कुरा गर्न छाडिएको छ । शास्त्र हराउँदै गएको छ । शास्त्रका पुस्तक बोक्ने हातले शस्त्र उठाउन थालेका छन् लुटेराको संसारमा । बौद्धिक बहस र शास्त्रार्थका कुरा इतिहास बन्दै छन् । होडबाजी छ लुटको । लुटका लागि गुटको विकास भयोे बिसौँ शताब्दीको उत्तरार्धमा । नेटो, सिटो आदि गुटहरू त्यसैकारण स्थापित भए । त्यसको सिको विश्वले गर्दै गयो । त्यसले विश्व राजनीतिक प्रणालीमा मिहिन असर प-यो । पछिल्लो समयमा राजनीतिक दलभित्र गुट उपगुट पैदा भए । स्वार्थ समूहको कुनै वैचारिक धरातल हुँदैन र छैन । निहित लालसा प्राप्तिका लागि दौडधुप र होडबाजी चलेको छ आजभोलि सबैतिर ।
दयामायाको रङ उडेको छ लालचीको मनमा । प्रेम, सद्भाव र सहानुभूतिको सङ्केतसम्म भेटिँदैन । कति कठोर बन्न सकेको होला । हिंसा, व्यभिचार र बेइमानी सामान्य दिनचर्या भैदिन्छ उसलाई । कटुप्रपञ्चको दाउमा बुद्धि विवेकप्रयोग हुन्छ साँझबिहान । लोभीको आँखाले अरूको भाउमात्र ठूलो देख्छ ।

विवेक गुम हुन्छ । लाज, सरम, नैतिकता ह्रास भएपछि लालचीको संसारमा आमा, बहिनी र आफन्तको अस्मिता अपहरण गरेर हत्या गरेका घटना आउन थालेका छन् अखबारमा । चोखो प्रेमको हत्यालाई मलजल गर्दैछ सामाजिक सञ्जालले । कतिका घरबासै उडाइदियो फेसबुकको मोहले । लालचीको लम्पट स्वभाव भन्थिन् आमाले सानैमा ।

लालचीको हातमा हतकडी लागेको देखेका छौँ हामीले । जीवनभरिको कमाइ मानसम्मान र इज्जत सबै एकै छिनमा धूलिसात भएको सजीव दृश्य सबैको अगाडि छँदैछ । गलामा फाँसीको फन्दा परेको समाचार पनि सुनिएकै छ । तर पनि मानिस किन यतिविधि लालची बनेको होला ?
मानिस कर्मयोगी हो । सत् कर्म गर्न जन्मेको हो मानिस । उसको सत् प्रयत्नले मानव चेतनाको विकास भएको छ । जनावरबाट माथि उठ्न सफल भयो त्यसै कारण । सत् कर्म गर्नेको बाटो अलग्गै छ । कर्मयोगी आफ्नै पाखुरी बजार्छ । पसिना बगाउँछ । आफ्नै श्रममा रमाउँछ । सिप र क्षमताको विकास गर्छ । श्रम, पसिना, सिप र क्षमता साझा सम्पत्ति बनाउन पाउँदा रमाउँछ । शुक्ल कर्मले उसलाई जीवन दिन्छ । मृत्युपछि सम्म पनि बाँच्न सक्छ ।

असत् कर्ममा अभ्यस्त लालची मनले असत् कर्ममा उद्यत गर्छ । उसको आत्मा सधैँ तड्पेको हुन्छ अतिरिक्त आर्जनका लागि । देश र जनताप्रतिको दायित्व भुलिदिन्छ जीवनमा । मरेर बाँचेको कर्मवीरको वीचमा बाँचेर पनि मरेको हुन्छ पटकपटक । लालची मन र अतृप्त आत्मा छट्पटाइ रहेको हुन्छ जीवन पर्यन्त । गन्तव्यहीन यात्रा, बाटो भुलेको यात्री ।

हिरोसिमा र नागासाकीमा परीक्षण भएको औजार थपिँदै छ भन्ने सुनिँदै छ । मानव जातिको सम्हार गरेर श्रेष्ठता कायम हुन्छ भन्ने मान्यता पालेका छन् कतिले । हिमवत्खण्डतिर देवताको वास थियो भन्छन् हाम्रो वैदिक ग्रन्थहरूले । आत्मिक चेतनाको विकास यतैबाट भएको थियो मानव सभ्यताको आरम्भमा । ज्ञानी, सन्त, महन्तका सन्तान हुन पाएकोमा गौरव छ हामीलाई । हाम्रो रगतमा शान्ति र अहिंसाको निर्झरिणी बगेको छ । ‘बसुधैव कुटुम्वकम्’को मूल मान्यताबाट हाम्रो माटो विचलित छैन । ‘अतिथिदेवो भव’ भन्न हाम्रो संस्कारले सिकायो । शान्ति, सद्भाव र दयामायाको संस्कृतिबाट प्रशिक्षित छ हिमवत्खण्ड । अन्यायका बिरुद्ध हतियार उठाउँन पनि पछि परेन कुनै बेला । मानवताका लागि दानवको उछितो काढेको कथा पाइन्छ पुराणहरूमा । ज्ञानको उत्खनन गर्न गुफाभित्र छिर्ने सन्तका सन्तान हौं हामी ।

तर आजभोलि आयातित संस्कृतिले नराम्रोसित गाँज्न थालेको छ नयाँ पुस्तालाई । ज्ञान चेतनाको खोजी गर्नेका सन्तानहरू सुरुङभित्र छिर्न थालेका छन् सुनको थैलो भर्न । कति सदासदाकालागि पातालतिर भासिँदै छन् । देशको माटो उप्काएर डेरा सार्न पे्ररित गर्दैछन् हाम्रो देशका ठालुहरू । यो तपोभूमि पुण्यभूमिलाई परित्याग गरेर विदेशीको दरवान बन्न रुचाउँदै छन् लालची मनहरू ।

जनताले जीवन दिए परिवर्तनका लागि । परिवर्तनको परख हुन सकेन कि ? सत्ता र शक्ति लालचीको रक्षाकवच बनेर उभिने हो कि भन्ने डर लाग्न थालेको छ आजभोलि । युगलाई सरापेर सुस्ताउने सुख छैन हामीलाई । हाम्रो सन्तानको बाटो कतातिर सोझाउने भन्नेबारे सोच्नुपरेको छ । ज्ञान चेतनाकालागि हिमवत् खण्डतिर उक्लेका थिएहाम्रा पुर्खाहरू । धनदौलतका लागि मत्र्यलोक चम्केको छ आजभोलि । पाताल प्रिय लाग्न थालेको छ सबैलाई । लालची आँखामा उतैको सपना सवार हुने बनाएको छ आयातित शिक्षा प्रणालीले । आफ्नो बारी हराभरा बनाउनुभन्दा ज्याला थापेर भट्टीतिर छिर्न सजिलो ठान्न थालेको छ परिस्थितिले । लालची मनले आफ्नी आमालाई नराम्री देखेर अर्काकी आमातिर आँखा लगाउन थालेको छ आज ।

निष्ठाको रङ पखालिँदैछ राजनीतिक वृत्तमा । नीतिको रङ उग्लिसकेको छ नेताको अनुहारमा । मूल्य, मान्यता र आदर्श शिथिल भएको छ । इमानको दोहोलो हुँदैछ । मूल सङ्लो भए कुलो सङ्लो हुन्छ भन्छन् । अगुवाको मन सङ्लो भए यात्रा सहज हुन्छ । मूलभित्र लालची गँगटा छिरेर मूल धमिल्याउँदै छन् । पानी भर्न पँधेरामा लाम बसेका पँधेर्नीहरू दिक्क मान्दै धमिलो पानी भर्न बाध्य छन् ।

सुनको सञ्चिती सौन्दर्यको परिभाषाहोइन । उत्तर आधुनिकता र उपभोक्तावाद हाम्रो संस्कार संस्कृति पनि होइन । विश्व ब्रह्माण्ड र अन्तरिक्षको उत्खनन् गर्नेका सन्तान होऔँ हामी । पत्थर रगेटेर आगोको आविष्कार हामीले नै गरेको हो । शमीको सुकेको काठबाट आगो निकाल्न सिकायो हाम्रो शास्त्रले । हिमवत्खण्ड विश्व सभ्यताको उद्गमभूमि थियो कुनैबेला । ज्ञानचेतनाको अकुत भण्डार छ हामीसित ।

हामी हाम्रै भण्डारभित्र छिर्नु छ ज्ञानचेतनाको उत्खनन्का लागि । अरूको बहकाउमा पछि लागेर हामी भित्रको असीम ऊर्जा उत्सर्जन गर्ने समय होइन यो । आगामी युगको अगुवाइ गर्ने पर्याप्त चेतना र तागत छ हामीसित । पश्चिमा वायुको चापीय प्रभावले लालची सुरुङतिर धकेलिरहेको छ यतिखेर । अँध्यारो सुरुङ छिर्न सक्दैनौँ कसैको बहकाउमा लागेर । सुसभ्य, समृद्ध र सुसंस्कृत समाज निर्माणका लागिहाम्रो चोखो रगत पसिना यही माटोमा पोख्नु छ । हाम्रा पुष्ट पाखुरी बजार्नु छ आफ्नै खेतबारीमा । चोखो पसिनाले धरती सिंचन गरेर रमाउनु छ आनन्दी मनले ।

हातको मैला सुनको थैला के गर्नु धनले
साग र सिस्नु खाएको बेस आनन्दीमनले    भन्ने देवकोटाको भनाइले लालसाको संसारबाट माथि उठ्ने सन्देश दिएको छ ।

सुनचाँदी फलेको देश हो नेपाल । सुन बगेको छ हाम्रा नदीहरूमा । बिहानमा सुन टल्किन्छ हिमालमा । चाँदीले ढाकिएका छन उत्तरका टाकुराहरू । परदेशीका लालची आँखाहरू यतातिर लागेको भेउ पाउँदैनौँ हामीहरूले । हाम्रो दौलतको रक्षा गर्ने हामीलेनै हो । लालचीको संसारबाट माथि उठ्नु र उठाउनु छ देशलाई । यही हो समयको माग ।

(लालचीको संसार राजनीतिज्ञ एवं साहित्यकार दीनानाथ शर्माको हालै प्रकाशित एकसम्बोधन समयमाथि संग्रहको एक कृति हो ।)

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ११ : ०४ बजे

आजको : पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा