६ बैशाख २०८१, बिहिबार | April 18, 2024

आन्तरिक उडानको हवाई भाडामा विदेशी पर्यटकलाई छुट दिने सहमति



काठमाडौं । आन्तरिक उडानको हवाई भाडामा नेपाली नागरिक सरह नै विदेशी पर्यटकलाई छुट दिइने भएको छ ।

यसका लागि पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समिति, बुद्ध एअरलाइन्स र यति एअरलाइन्स प्रालिबीच सहमति भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा बसेको बैठकले गत माघ २ गते पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समिति गठन गरेको थियो ।

समितिले आन्तरिक उडानको हवाई भाडामा नेपाली नागरिक सरह नै विदेशी पर्यटकलाई छुटदिने सम्बन्धमा बुद्ध र यति एअरलाइन्स प्रालिबीच सहमति गराएको हो । यसैगरी पर्यटन क्षेत्र पुनरुत्थानमा सहयोग गर्न होटल सङ्घ नेपालले विदेशी पर्यटकलाई होटलको कोठा भाडामा कम्तीमा पनि २० प्रतिशतसम्म छुट दिने निर्णय गरेको समितिले जनाएको छ ।

विदेशबाट आउने नागरिकलाई हवाई भाडा चर्को भएको गुनासो बढेपछि समिति तथा एअरलाइन्सबीच हवाई भाडामा छुट दिने सहमति भएको समितिका संयोजक राजाराम गिरीले बताए । उनले भने, “विदेशबाट आउने पर्यटकलाई नेपाली नागरिक सरह भाडामा छुट दिने हाम्रो प्रयासमा दुई हवाई कम्पनीले सहमति गरेका छन्, अन्य हवाई कम्पनीसँग पनि छलफल बढाएका छौँ, उहाँहरुले पनि छुट दिनुहुने छ ।”

समितिले कोभिड १९ को प्रभावका कारण थला परेका उद्योग, पर्यटन क्षेत्रको पुनरुत्थान, पर्यटन उद्योगको नयाँ सम्भावनाको खोजी, पहिचान तथा प्रर्वद्धन गर्न र यस क्षेत्रमा लगानीको उपयुक्त वातावरण तयार गरी रोजगारी सिर्जना गर्दै अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान वृद्धि गर्ने उद्देश्यले सरोकारवालासँग समन्वय तथा सहकार्य गरी नीतिगत राय, परामर्श र सल्लाह सुझाव उपलव्ध गराउनका लागि आह्वान गरेको छ ।

यसैगरी समितिले हाल कोभिड सङ्क्रमण घट्दो क्रममा रहेकाले नेपाल सरकार मन्त्रिपरिषद्बाट जारी भएको विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश, २०७८ परिमार्जन गरी यात्रासम्बन्धी मापदण्डलाई थप सरलीकरण गर्न कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्रलाई अनुरोध गरिएको जनाएको छ । समितिका संयोजक गिरीका अनुसार समितिले सिफारिस गरेको नीतिगत राय, परामर्श र सल्लाह सुझाव बमोजिम कार्यक्रम तयार गरी कार्यान्वयन गर्ने कार्य प्रारम्भ गरिसकेको छ ।

समितिको गत माघ २४ गतेको निर्णयानुसार पर्यटन उद्योगसम्बन्धी सात वटा विषयगत क्षेत्रमा आवश्यक तयारी गरी सुझाव दिन छुट्टाछुट्टै कार्य समूह तथा प्रदेशस्तरबाट सल्लाह सुझाव लिन मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशबाट प्रदेश प्रतिनिधिसमेत तोकिसकेको छ । निकट भविष्यमै समितिले देशैभरिबाट पर्यटन क्षेत्रका सरोकारवालासँग वृहत अन्तक्र्रिया कार्यक्रमको आयोजना गर्ने र प्राप्त सुझावलाई समावेश गरी पर्यटन क्षेत्रको पुनरुत्थानको विस्तृत प्रतिवेदन तयार गरी सार्वजनिक गर्ने योजना बनाएको जनाएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ३ : २६ बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी