काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले नेपाली राजनीतिमा तीन धार हुने बताएका छन् ।
भट्टराईले नेपालमा उदारवादी लोकतन्त्र, कम्युनिस्ट ब्राण्ड (समाजवादी धार) र समावेशी लोकतान्त्रिक धार रहने बताएका हुन् ।
कांग्रेसले उदारवादी लोकतान्त्रिक धारको प्रतिनिधित्व गर्ने उनको भनाइ छ । उनका अनुसार जति टुक्रा भए पनि कम्युनिस्ट पार्टीहरूको एउटा धार रहने र जसपाको नेतृत्वमा समावेशी लोकतान्त्रिक धार हुनेछ ।
तर, उनले कम्युनिस्ट धार केही रहने र जसपाले प्रतिनिधित्व गर्ने धार भविष्यमा ठूलो हुने दाबी गरेका छन् ।
बिहीबार सामाजिक सञ्जाल ट्वीटरमा डा. भट्टराईले लेखेका छन्, ‘नेपाली राजनीतिको दुई हैन तीन धार हुनेछ है ! कांग्रेसको उदारवादी लोकतान्त्रिक धार कायमै रहने वस्तुगत आधार छ । कम्युनिस्ट ब्राण्ड जति टुक्रा भए पनि त्यो एउटै धार हो र केही समय रहन्छ । अर्को तत्काल सानो तर भविष्यमा बढ्दै जाने र मूलधार बन्ने समावेशी लोकतान्त्रिक धार हो । जसपा त्यसको भ्रुण हो ।’
नेपाली राजनीतिको दुइ हैन तीन धार हुनेछ है!कांग्रेसको उदारवादी लोकतान्त्रिक धार कायमै रहने बस्तुगत आधार छ।कम्युनिष्ट ब्राण्ड जति टुक्रा भएपनि त्यो एउटै धार हो र केही समय रहन्छ।अर्को तत्काल सानो तर भविष्यमा बढ्दै जाने र मूलधार बन्ने समावेसी लोकतान्त्रिक धार हो!जसपा त्यसको भ्रूण हो!
— Baburam Bhattarai (@brb1954) March 24, 2022
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनअघि विदेशी शक्तिहरूले नेपालमा दुई धारको पार्टी मात्र अस्तित्वमा रहनेगरीको खेल खेल्दै आएको टिप्पणी गरेका थिए ।
एमाले महासचिव शंकर पोखरेलले पनि नेपालमा कांग्रेसले प्रतिनिधित्व गर्दै पुँजीवादी र एमालेले प्रतिनिधित्व गर्ने समाजवादी धार मात्रै रहेको बताउँदै आएका छन् । यही पृष्ठभूमिमा डा. भट्टराईको अभिव्यक्ति आएको हो ।



















प्रतिक्रिया