काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक) को पाँचौँ शिखर सम्मेलनलाई यही चैत १६ गते श्रव्यदृश्यका माध्यमबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री देउवा नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा. नारायण खड्का, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानबहादुर देउवा, मुख्यसचिव शंकरदास वैरागी, परराष्ट्र सचिव भरतराज पौड्याल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्रमन्त्री खड्का चैत १५ गते श्रीलंकाको कोलम्बोमा हुने बिम्स्टेकको १८ औँ मन्त्रिस्तरीय बैठकमा सहभागी हुनेछन् । त्यहाँ रहँदा उनले बिम्स्टेक सदस्य राष्ट्रका समकक्षीहरूसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम रहेको छ । बैठकमा भाग लिन मन्त्री खड्का चैत १४ गते कोलम्बो प्रस्थान गर्ने तथा चैत १७ गते काठमाडौँ फर्कने कार्यक्रम छ ।
परराष्ट्र मन्त्रालयका सहसचिव तथा क्षेत्रीय संगठन महाशाखा प्रमुख घनश्याम भण्डारी नेतृत्वको नेपाली प्रतिनिधिमण्डल चैत १४ गते हुने बिम्स्टेकका वरिष्ठ अधिकारीहरूको २२ औँ बैठकमा सहभागी हुनेछ ।
पाँचौँ बिमस्टेक शिखर सम्मेलन र त्यसअघिका बैठकहरू कोलम्बोमा चैत १४ देखि १६ गतेसम्म आयोजना हुँदै छ । यस वर्षको शिखर सम्मेलनको नारा ‘स्वस्थ्य जनता, उत्थानशील क्षेत्र, समृद्ध अर्थतन्त्रतर्फ बिम्स्टेक’ रहेको छ ।


















प्रतिक्रिया