१० चैत्र २०८२, मंगलबार | March 24, 2026

फूलप्रसादसहित बडिमालिका पठाइयो सरकारी डोल



डोटी । सुदूरपश्चिमकै प्रसिद्ध बडिमालिका मन्दिरका लागि डोटीबाट फूलप्रसादसहितको एक सरकारी डोल ९पेटारो० पठाइएको छ । जनैपूर्णिमा अर्थात् यही साउन २७ गतेका दिन लाग्ने मेलाका लागि फूलप्रसादसहितको उक्त सरकारी डोल जिल्ला प्रशासन कार्यालयबाट पठाइएको हो ।

सिलगढीमा रहेको भैरवप्रशाद गण, सशस्त्र प्रहरीको ३६ नम्बर गण तथा जिल्ला प्रहरी कार्यालयको टोलीले शैलेश्वरी मन्दिरमा उक्त डोललाई सलामी दिएपछि सरकारी कर्मचारीसहितको सरकारी डोल बाजुरामा रहेको बडिमालिका मन्दिरका लागि प्रस्थान गरेको हो ।

राणा शासनकालदेखि तत्कालीन डोटी गौडा अर्थात् जिल्ला कार्यालय सिलगढीमा पूजाआजा गरी विधिवत्रुपमा सरकारी कर्मचारीले डोल लैजाने चलन रहेअनुसार उक्त डोल पठाइएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताए ।

उनले भने, “राणाकालदेखि डोल पूजाआजा गरेर सरकारी खर्चमै पठाउने चलन रहेछ, सोहीअनुसार हामीले पनि आज पूजाआजा गरेर आज विधिवत्रुपमा डोल पठाएका छौँ ।” उक्त सरकारी डोल बडिमालिका मन्दिरमा पुग्न कम्तीमा पनि एक हप्ता समय लाग्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बडिमालिका मन्दिरका लागि अछाम, बाजुरा, बझाङ तथा डोटीबाट बर्सेनि डोल लैजाने चलन रहेको छ ।

सुदूरपश्चिम प्रदेशको बाजुरामा रहेको बडिमालिका क्षेत्र धार्मिक तथा प्राकृतिक सम्भावना रहेको क्षेत्र भएका कारण जनैपूर्णिमामा उक्त मन्दिरमा भक्तजनको मेला लाग्ने गरेको शैलेश्वर क्षेत्र विकास समितिका अध्यक्ष तथा पुजारी प्रेमशङ्कर भट्टले बताए ।

उनले भने, “भक्तजनले चिताएको पुग्ने विश्वासका आधारमा बडिमालिका मेलामा बर्सेनि भक्तजनको भीड लाग्छ, यो सुदूरपश्चिमकै पवित्र तीर्थस्थल हो, हामीले पनि डोल पठाएका छौँ, बडिमालिकाले भक्तजनको मनोकामना पूर्ण गर्छ ।”

समुद्री सतहबाट करिब चार हजार २०० मिटर उचाइमा रहेको बडिमालिका जान जिल्ला सदरमुकाम सिलगढीबाट एक दिन गाडीमा या दुई दिन पैदल यात्रा गर्नुपर्ने सिलगढीका स्थानीयवासी तेजबहादुर खड्काले जानकारी दिए । उनका अनुसार सिलगढीबाट डोलको यात्रा सुरु हुँदादेखि नै गाउँलेले बाटोमा पूजाको थाली राखेर तीर्थयात्रीको यात्रा सफल होस् र बडिमालिकाले सबैलाई आशिर्वाद दिउन् भन्ने कामनासहित ठाउँठाउँमा पानीका घडा तथा फूलमालाले स्वागत गर्ने गर्दछन् ।

डोल लगेर बडिमालिका जान लागेका मालपोत कार्यालयका कर्मचारी नारद गिरीले भने, “तीर्थयात्रीको यात्रा सफल होस् भन्ने कामनासहित ठाउँठाउँमा फूलमाला र पानीका घडा राखेर स्थानीयले स्वागत गरेका हुन्छन्, फर्किने समयमा हामीले ती घडामा बडिमालिकाको प्रसाद राखेर आउछौँ ।” बडिमालिका जाने क्रममा बाटोमा खाने बस्ने व्यवस्थाका लागि भने समस्या रहेको छ । उक्त क्षेत्रमा जनैपूर्णिमाको मेलाबाहेक अन्य समयमा कमै मानिस घुम्न जाने गर्छन् । बडिमालिका जाने क्रममा बाटोमा थुप्रै साना मन्दिर, वन्यजन्तु, खोला, झरना आदि देख्न पाइने गरेको बडिमालिका मन्दिर गएका व्यक्ति बताउँछन् ।

बडिमालिका जाने बाटोमा त्रिवेणीधाम पर्छ । तीन नदीको सङ्गम रहेको उक्त धाममा अधिकांश तीर्थयात्रीले आफ्ना स्व बाबुआमाको श्राद्धसमेत गर्ने गरेको शैलेश्वरीका पुजारी भट्टले जानकारी दिए । उनकाअनुसार त्रिवेणीधामबाट कम्तीमा पनि छ घण्टा हिँडेपछि बडिमालिका पुगिन्छ । वर्षमा धेरै समय हिउँ पर्ने र लामो समयसम्म नपग्लिने बडिमालिकामा बर्सेनि जनैपूर्णिमाको समयमा नेपाल र भारतका थुप्रै भक्तजन मेला भर्न आउने गर्छन् ।

प्राकृतिक छटाले भरिपूर्ण बडिमालिका तथा खप्तड क्षेत्रको पर्यटकीय विकासका लागि सरकारले त्यति प्रभावकारी योजना भने बनाउन सकेको छैन । जनैपूर्णिमाका बेला चतुर्दशीका दिन बडिमालिकामा लाग्ने विशेष मेलामा पृथ्वीनारायण शाहकै पालादेखि नै सरकारीस्तरबाट पूजा गर्ने चलन रहेको सिलगढीका बासिन्दा बताउँछन् ।

बडिमालिकामा जनैपूर्णिमाको दिन राति १२ बजेदेखि नै तीर्थयात्री पूजा गर्न लाम लागेर बस्ने गर्दछन् । पौराणिक कथाअनुसार महादेवकी पत्नी सतीदेवीका पिता दक्ष प्रजापतिले यज्ञ गर्ने समयमा महादेवलाई आमन्त्रण नगरी अपमान गरेपछि क्रुद्ध भएकी सतीदेवी यज्ञकुण्डमा हाम फालेपछि उनको मृत शरीर बोकेर हिँडेका महादेवको काँधबाट सतीदेवीको अङ्गपतन भई बडिमालिका मन्दिर स्थापना भएको किंवदन्ती रहेको छ ।

रासस

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  १२ : ४७ बजे

यस्तो छ सभापति थापाले प्रस्ताव गरेको १५ औं महाधिवेशनको कार्यतालिका

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा सभापति गगन

आफ्नो देशको आणविक कार्यक्रम अपरिवर्तनीय : किम जोङ उन

सियोल । उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम कुनै हालतमा नछोड्ने

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौँ । नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि

हवाई उद्धारमा बिरामीको व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन

काठमाडौं । हेलिकप्टरमार्फत उद्धार गर्दा गम्भीर अवस्थाका बिरामीको सुरक्षित व्यवस्थापन

हतार वा हताशमा होइन, जवाफदेहिताका आधारमा राजीनामा दिएको हुँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले हतार वा