१६ मंसिर २०७९, शुक्रबार | December 2, 2022

डाँडामाथिको जुन



“हाम्रो दुःख बचेरा हुर्काउने त रहेछ । प्वाँख पलाएपछि पखेटा फटफटाउन थाल्छ । अलि समयपछि भुई उडेर जान्छ डाँडो काटेर । बचेरा हुर्केको गुड खाली पर्छ । छेवैको डालीमा बसेर जुनेलीको जोडीले वचेराको प्रतिक्षा गर्दै आँशु खसाल्दै रात बिताउँछ । समय बित्दै जान्छ । बचेरा हुर्काएको गुँड बिरानो हुँदै जान्छ । डालीको चरी डालीमै रात बिताउँछ ।”

‘चरीको काँ छ र घर काँ छ र घर रात काट्यो बरै डालीमा बसेर’ भन्ने बिरह सौन्दर्य पोखिने गर्छ डाँडा पखेरातिर । एकल छातीको गहिरो घाउ कसले देख्छ र ? छोराछोरी भन्नुपनि धिक्कार छ ।

बिहान झिसमिसैमा सडकमा पोखिएको पीडा हो यो । असीको दशकतिर उक्लिँदै गरेका अग्लोकद, बाँसको फुर्को झैँ नुग्दै गरेको दुब्लो शरीर, आधाआधी दाँत झरेको समबयस्क दुई बुढाहरूले आपसमा जीवनका तीतामिठा कथा साटासाट गर्ने क्रममा भन्दै गरेको कुरा मेरा कानभित्र ठोक्किन पुग्यो । बिहानको हिडाँइ शान्त सडक अघिअघि कुरा गर्दै हिँडेका छन् । म पछिपछि चालो चालो कान थाप्दैछु ।

यी काठमाडौंका रैथाने त होइनन । गोरखा, नुवाकोट वा कतैबाट आएर बसेको हुनुपर्छ । यहाँसम्म आउन, छोराछोरीको हातखुट्टा लगाइदिन, पढाउन र ठूलो मान्छे भएको देख्ने सपना साँचेर ती कठिन दिन भुले होलान । तर जीवनको अन्तमा सबै छोराछोरीले छोडेर गएपछि बेसहारा भएर उच्चरक्तचाप, मधुमेह जस्ता घातक रोगलाई बोकेर सडकमा निस्कँदै छन् । बिहानीपख निद्रा पर्दैन । अतितका कठिन दिन सम्झिन्छन्, टोलाउँछन् । दीर्घ रोगी बुढीलाई एक्लै छोडेर सडकमा निस्कन्छन् र आपसमा दुःख बिसाएर दिल शान्त गर्दैछन् । छोराछोरी युरोप अमेरिका तिर पठाउन निकै उत्साहित भए होलान त्यो बेला, तर समय वित्दै गयो । छोराछोरीले बिर्सँदै गए । यता नफर्किने निश्चित भयो । जीवनको अन्तिम बिसौनीमा एक्लै भए । मलामी र अन्तिम संस्कारको चिन्ता हुन थालेको छ । एकजनाले “एक्लै आएको हो एक्लै जाने हो जिन्दगी यस्तै रहेछ” भन्दै सुईंय लामो सास ताने ।

यी वृद्धका कुराले मनमा चसक्क छोयो । अगाडि बढेँ । घरमा छिरेर घोत्लिन थालेँ । काठमाडौं छिरेको मध्यमवर्गीय परिवारभित्रको पीडा हो यो । घर ठूलै छ । श्रीसम्पतिको कमी छैन । पेन्सन आउँछ । घरभाडा उठाउँछन् टन्नै । एक जनाको घरमा दीर्घरोगी बुढी छन् साथमा । अर्काको बुढी अमेरिकाको छोरा र क्यानडा बस्दै आएकी छोरीका छोराछोरीको गोठालिईं गर्न उता गएको चार पाँच वर्ष भएछ । उनले पनि बुढालाई बिर्सिसकेको रहेछन् । उजाड र उदासिन पीडा बोकेर अस्ताचलतिर नियाल्दै छन् असाहय बुढाहरूले । “यो पनि जीवन हो कुनै ? कस्तो युगमा जन्मिएछ हामी । न त पाहाडका इस्टमित्र दाजुभाइ राखियो न शहर पसेर २,४ जना मलामी बनाउन सकियो । न छोराछोरी साथमा रहे” भन्दै दुःख व्यक्त गरे । यीमेरो परिवेशका प्रतिनिधि पात्र हुन् । छोराछोरी विदेश पठाउन पाउँदा मख्ख पर्ने प्रत्येक आमाबाबुले आजभोलि पश्चाताप गर्न थालेका छन् । कुना पसेर रुन थालेका छन् ।

कौशीमा बसेर सडकमा भेटिएका बुढाएको कुराले मेरो मन बिखलबन्द परेकोछ । एकैछिनमा नजिकैको धुपीको फुर्केमा एक जोडा जुरेलीको जोडी आएर बस्यो । म जुरेलीको जीवन यात्राभित्र हराउन थालेँ । मेरो आँगनवरपर सधैंँ देखापर्ने यी भालेपोथी स्वतन्त्र छन् । डालीडाली चहारेर स्वतन्त्रतापूर्वक डुलेको देख्छौ बाहिरी आँखाले । तिनीहरूको मुटु सानो छ । सानु मुटु भएपनि पीडा र जीवन यात्रा एउटै मानिसको जस्तै ।

भोको मानिसले भोक शान्त गर्न लामो हात गर्न बाध्य हुन्छ । तर अतिरिक्त सम्पती थुपार्ने होडमा मानिसले दुर्वलको श्रम र स्रोतसाधन बौद्धिक सम्पत्ति चोरी गर्दै आएको छ । यो दण्डनीय छ, तर संसार त्यसकै प्रतिस्पर्धामा छ ।

 

गुँड बनाउन सुरक्षित स्थानको खोजीमा तड्पे जुरेलीको भालेपोथी । झोपिलो डालीकोखोजीमा पाखा परेरा चहारे । यता जुरेलीलाई हतार भैसकेको छ ओथारो पस्न उता भालेलाई हतार छ सन्तानको अनुहार देख्न । आखिर धुपीको झोपिलो डालीको छनोट गरे ।

चरीको जोडीले निकै दुःख गर्यो । कहाँकहाँ पुगेन झार कसेर बटुलेर ल्याउन । गुँड चिटिक्क पारेर सजाए । भाले पोथीले डालीमा चुच्चो जोडेर सल्लाह गरे । ओथारो पस्ने समय आयो । जुरेलीले गुँड तोप्न थाली । भालेले उत्साह र उमंगले प्रफुल्लित हुँदै जुडो र पुच्छर हल्लायो । भुर्र उडेर टाढाटाढा पुग्यो चारो खोज्न । चुच्चोमा किरा टिपेर ल्यायो । पोथीको मुखमा राखिदियो । चुचो भित्र पानी भरेर ल्याएर राखिदियो । यो मायाप्रिती, यो आत्मिक प्रेम प्रकृतिको नियती बनेको छ प्राणी जगतमा ।

मैले जुरेलीका गतिविधि नजिकबाट नियाल्दै आएको छु । पोथीलाई भरपुर पौष्टिक तत्वको शिकार गर्न टाढाटाढासम्म पुग्नेगर्छ भाले । यो बेला पोथीलाई पौष्टिक चारो दिनुपर्छ भनेर कसले सिकायो ? जुरेलीको भालेलाई । कति सचेत छ प्रकृति । यो प्रकृति प्रदत्त ज्ञान हो भन्ने निस्कर्ष छ मेरो । भालेको स्याहारसम्भार र समयको गतिसँगै पोथीले फुल खसाल्न सफल भई । छिर्केमिर्के हल्का आकाशे रंगका फुल देखेर भाले एकैचोटी जुरो र पुच्छर हल्लाउँदै खुशी प्रकट गर्यो । पोथी गुँडबाट बाहिर निस्केर पखेटा फट्फटाउँदै नजिकै डालीमा बसेर आफुले पैदा गरेका फुललाई नियालेर खुशी प्रकट गरी । शरीरमा तन्दुरुस्ती भर्न सुरक्षा सर्तकता अपनाउँदै वल्लोडाली पल्लो डाली गर्न थाली ।

सुरक्षा चुनौती कडै छ । त्यसैले अघिपछि जस्तै कराउन छाडेकाछन् । फुलचोर धेरै छन् जंगलमा । चोरी कर्म गर्न कसले सिकायो प्रकृतिलाई । बाँच्नका लागि प्राणी जगतले गर्नुपरेको संघर्षले चोरी गर्न सिकायो कि ? सर्पले आहारा खोज्दै जाँदा गुँडमा अण्डा र चल्ला जे भेटे पनि निलिदिन्छ । सिकारी बाज, चिल वा कागले दुर्वलको जीवन हरण गर्दछन् । भोको मानिसले भोक शान्त गर्न लामो हात गर्न बाध्य हुन्छ । तर अरिरिक्त सम्पती थुपार्ने होडमा मानिसले दुर्वलको श्रम र स्रोतसाधन बौद्धिक सम्पत्ति चोरी गर्दै आएको छ । यो दण्डनीय छ, तर संसार त्यसकै प्रतिस्पर्धामा छ ।

चरीको दुश्मन चरी मात्रै छैन । मानिस पनि चराचुरुङ्गी र जनावरहरूको दुश्मन बनेको छ । जंगलमा रमाएर बसेका पशुंपंक्षी र जनावरको स्वतन्त्रता लुटेर घरपालुवा बनाएको छ । गाई, अर्ना, कुकुर, घोडा र हात्ती जस्ता जनवारलाई आफ्नो स्वार्थका लागि कजाउने गरको छ ।
जुरेलीको कुनै स्वार्थ छैन । कसैसित दुश्मनी पनि छैन । जीवन रक्षाका लागि प्रकृति र वलिष्टका विरुद्ध संघर्ष गर्दैआएको छ । हुरीले उडाइदिन्छ चरीको गुँडलाई । असिनापानीबाट जोगाउनुपर्छ कच्चा फुललाई । काग, सर्प, बाज, चिल वा गिद्धको आँखा पर्नु हुँदैन निर्धा बचेरामा । कति कठिन छ वचेरा हुर्काउन । त्यसरी नै कति कठिन छ छोराछोरी जन्माएर हातखुट्टा लगाइदिन ?

प्रसब पीडा आमालाई मात्रै थाहा हुन्छ । निर्धो सधैं वलिष्टबाट हेपिनु, लखेटिनु, लुटिनुपर्ने नियतीको निर्धारण के प्रकृतिले स्वयं गरेको हो ? बचेरा हुर्काएर पखेटा लगाईदिन हण्डर खानुपर्छ चरीले । माउको दुःख देख्दैन पखेटा लागेपछि । हुर्कीसकेपछि वन फेर्दै उडन् थाल्छन् आमा बाबुलाई चटक्कै बिर्सेर । यो बैगुनीको संसार हो । बैगुनी बन्न पनि के प्रकृतिले नै सिकाएको हो ? आज भोलि मलाई प्रकृतिसित पनि रिस उठ्न थालेको छ । यो भेदभाव किन ? के हामी वलिष्ठबाट सधैं लखेटिइरहनुपर्ने हो ?

फुल कोरलीसकेपछि पोथी हलुङ्गी हुन्छे । फुलबाट निस्कन पाएको छैन वचेराले आँ गर्न थाल्छ भने पोथीले सन्तानको माग पुरा गर्न टाढाटाढा पुगेर पचाउन सक्ने चारो ल्याएर मुखमा राखिदिन्छे । एउटा नजिकै बसेर चौकीदारी गर्छ अर्को चारो खोज्न जान्छ । बचेरोको पेट खाली हुनु हुँदैन । भोक सानो ठूलो सबैका लागि बराबर छ । पेटकै लागि कमिलाले त्यतिभाँती दुःख गर्छ । माहुरीको श्रमको मूल्य छैन । श्रम, विशेष सामुहिक श्रम गर्ने नै संसारमा टिकेको छ । समुहको ठूलो महत्व छ । समूहमा बस्ने प्रणाली जाति अस्तित्वमा छ । त्यसैले होला बुद्धले समहुको महत्वलाई जोड दिँदै ‘संघमशरणम गच्छामी’ भनेको । ठूला ठूला मांसाहारी सिकारी प्रजातिका चरा वा जथल जनावर संसारबाट लोप हुँदैछन् । श्रमिक शक्तिको पराजय कहिले हुँदैन । तर बाँच्नका लागि संघर्ष सबैले गर्नुपर्छ । जंगलमा पाइने सबै चरीको पीडा आआफ्नो प्रकारको छ ।

आमाबाबु र दशैं बिर्सेर स्वाभिमानको सौदावाजी गर्ने कृतध्न संसार र संस्कृति भित्रिएको छ । आत्मकेन्द्रित व्यक्तिवाद हाम्रो संस्कृति होइन । बाबुआमाको पीडा देख्न नदेख्ने अविवेकी अन्धा सन्ता नजन्मनु नै जाति भन्ने बुढाहरूको निस्कर्ष गलत छैन ।

 

जुरेलीका भाले पोथीले निकै दुखजिलो गरेर बचेरा हुर्काउँछन् । बचेराको विष्टाचुच्चोमा च्यापेर टाढा लगेर फाल्छन् । सरसफाइको उत्तिकै सर्तकता अपनाउन जानेको देखेर अनौठो लाग्छ । विष्टा फालेपछि कतै रुखको डालीमा बसेर चुच्चो पुछपाछ गर्न बिर्सँदैनन् । यो कुरा कसरी सिक्यो चरीले । गुँड सफा राख्नुपर्छ भन्ने पाठ कसले सिकायो ?

चल्लीको प्वाँख पलाएर भरिभराउ भएपछि पखेरा फटफटाउन सिकाउँछन् । समय भएपछि उडन् हिम्मत दिँदै गुँडबाट निकालेर बाहिर धकेली दिन्छन् । कतै दुर्घटना पर्ने हो कि भनेर सँगसँगै उडेर सिकाउँछन् । अनि चल्लाको नयाँ जीवन सुरु हुन्छ । अलि समय आमाबाबुको लालनपालन साथ संगतमा हुन्छन् अनि छाडेर रनवन चहार्न थाल्छन् आफु जन्मेहुर्के बढेको ठाउँ चटक्कै बिर्सेर ।

जुरेलीको भालेपोथी हिउँदमा हराउँछ । बसन्तकोआगमानसँगै मेरो घरछेउ आएर चुरुफुरी देखाउन थाल्छन् । यो जोडी एक्लै छ । एक्लै आउँछ । त्यही क्रम दोहोरिन्छ । दुःख गरेर हुर्काएको सन्ता टाढा भएपछि डालीमा बिरह पोख्नेगर्छन् । चरी रोएको देखिदैन मन रोएको हुन्छ । सन्ताबाट अलग हुँदाको पीडाकम छैन भन्ने कुरा चरीको विरह गीतमा गुन्जिन्छ मेरो कानमा ।

मेरो अगाडि बिहानमा भेटिएका वृद्धहरू आँखा अगाडि नाच्न थाल्छन् । शहर बस्ने, घरजम गर्ने, छोराछोरी पढाउने र विदेश पठाउने उत्कट इच्छा बोकेर शहर पस्छन् । निकै दुःख गरेर बास बनाउँछन् । सन्तानको भविष्य र सुखका लागि कुनै कष्ट सहन पछि पर्दैनन् । छोराछोरी हुर्के बढे । राम्रो ठाउँमा पढाए । जान्ने सुन्ने भए । विदेशिने विचार व्यक्त गरे आमा बाबुका अगाडि । इच्छा पुरा गरिदिन पहुँचवालाको गोडा मोले । पटुकी कसेर कमाएको दुईचार पैसामा ऋण सापटी थपेर छोराछोरी विदेश उडाए । केही वर्ष फर्केर आउँछनकी भनेर प्रतिक्षा गरे । आश मर्दै गयो । यता समय समयमा बिरामी पर्न थाले । हेरचाह गर्ने कोही छैन । मर्ने बेला मठमा निकालेर पानी दिने व्यक्ति पनि नहुँदाको पीडा पोख्दै छन् अशक्त बन्दै गएका ती वृद्धहरूले ।

दुवैको आत्मा छामेँ । फिका हाँसो हाँसे पनि मन रोएकै छ एक्लो जीवनको पीडाले । अस्ताउने बेलाको जुन, छायाँ सर्दै सर्दै क्षितिजमा पुगेर समाहित हुन्छ । अँध्यारो आउँछ । आखिर जिन्दगी यस्तै रहेछ नाङ्गै आयो नाङ्गै गयो भन्ने निरासा छाउन थालेकोछ उनीहरूमा ।
मानिस कर्मयोगी हो । मानिसभित्र जीवन पर्यन्त उर्जा, उत्साह र सौर्य सदाबहार छाईरहनुपर्छ । आमाबाबु र दशैं बिर्सेर स्वाभिमानको सौदावाजी गर्ने कृतध्न संसार र संस्कृति भित्रिएको छ । आत्मकेन्द्रित व्यक्तिवाद हाम्रो संस्कृति होइन । बाबुआमाको पीडा देख्न नदेख्ने अविवेकी अन्धा सन्ता नजन्मनु नै जाति भन्ने बुढाहरूको निस्कर्ष गलत छैन ।

जुरेलीले के गरेन आफ्ना सन्तान जन्माउन र हुर्काउनको लागि । ती बुढाहरूले कम दुःख गरेनन् छोराछोरीको नानाचाचा भलाईका लागि । जीवनको उत्तरार्धमा उदास र उराठ जीवन जिउन विवस छन् आधुनिक युगका वृद्धिवृद्धाहरू । एकल आमालाई पशुपतिको वृद्धाश्रममा छाडेर नफर्किने गरी युरोपतिर छिरे पल्लो घरका छोरा बुहारीहरू । बुढालाई एक्लै छाडेर छोराको पछि लागेर अमेरिका छिरेकी बुढी सात वर्षदेखि उतै हराईन । तीन लालावालाकी आमा छोडेर अष्ट्रेलिया छिरेको पल्लो घरको कान्छोले उतै गोरी राखेको खबरले छोराछोरी टुहुरा बनाएर आत्महत्या गरिन । यो विकृति कसरी भित्रियो हाम्रो देशमा भनेर बुढाहरू दिक्क छन् । डाँडामाथिको जुन, अस्ताचलको यात्रा अतीतका दिन सम्झिँदै बुढाहरू अझै बिहानमा हिँड्न छोडेका छैनन् । आजभोलि हाम्रा सन्तान एकलकाँटे स्वार्थी र निर्दयी हुँदै गएकोमा बुढाहरू दुःखी छन् ।

छोराछोरीको खुशीको लागि के गरेनन् आमाबाबुले । छोराछोरीको नानाचाचा र साँझबिहान चुला चलाउनका लागि पल्लोघर जेठाले अरुको भारी बोकेर जम्मा पारेको दुईचार पैसा वचाएर छोराछोरीको कापीकलम चलाए । गोठालो बसे, खेतालो परेर आमाले सधैं अर्कोको ढिकी जाँतो खेतबारीमा काम गरको फाँकमुठीले छोराछोरीको साँझ बिहानको गुजारा चलाईन । ती लोग्ने स्वास्नीको दुःख देखेर छिमेकीले जिब्रो टोक्थे । पेटभरी खाएनन् तिनीहरूले छोराछोरीकै लागि । गतिलो चाडवाड आएन । सधैं अभावमा बाँचेरै भए पनि छोराछोरीलाई उच्चशिक्षा सम्म पुर्याए । भविष्यको सुकिलो आशाको किरण देखे छोराछोरीको अनुहारमा । सबैले पढेलेखे जान्ने सुन्ने भए । शहर पसे । छोराछोरीको पछि लागेर बढाबुढीहर शहर पस्न पाउँदा औधी रमाए । दिन फेरिए । छोराबुहारी कमाई गर्ने भए । आमाबालाई मेरा आमा बा भन्न पनि लजाउन थाले । समय बित्दै गयो । सबै विदेशिए । ती ज्युँदा ईश्वरलाई शहरमा अलपत्र पारेर सात समुद्र पारी पुगे । बुढाबुढीको पीडा आफैसित रह्यो । वन फेरियो । मानिसको जंगलमा बुढाबुढी फेरि पनि एक्लै भए ।

बुढाबुढीका पनि आफ्ना इच्छा आकांक्षा र खुशी हुन्छन् होला भनेर कस्ले बुझिदिने । सन्तानसित बसेर दशैं तिहार समेतका चाडवाड मनाएर छोराछोरी नाती नातिनालाई आर्शिवाद दिने रहर हुन्छ होला । तर सबैतिरबाट एक्लिएका बुढाहरूको पीडा आज भोलि बिहानको हिँडाईमा साथी हुन पुगेका वृद्धहरूको बीच वेदनाको साटासाट हुन्छ विचरा । अस्ताचलको यात्रा, ओरालो लागेको घाम । डाँडामाथिको जून ।

 

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  ९ : ४४ बजे

धनगढीमा जारी निषेधाज्ञा कायमै

धनगढी । कैलालीको धनगढीमा बिहीबार साँझबाट जारी निषेधाज्ञा कायमै रहेको

विद्यार्थीलाई गुन्द्री बुन्नेदेखि दुनाटपरी तयार गर्ने सीप सिकाउँदै भूपू सैनिक राइजिङ स्कुल

पाल्पा । आधुनिकताका नाममा परम्परागत गुन्द्री बुन्ने, दुनाटपरी बनाउने चलन

बाजुरामा कांग्रेसका पाण्डेको अग्रता कायमै

काठमाडौं । बाजुरामा कांग्रेस उम्मेदवार बद्री पाण्डेको अग्रता कायमै रहेको

विश्वकप फुटबल : नकआउट चरणमा जापान विजेता स्पेन उपविजेता

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटवल २०२२ अन्तर्गत समूह

दोलखामा माओवादीका गंगा कार्कीलाई अग्रता

काठमाडौं । दोलखामा भैरहेको मतगणनामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा