३ पुस २०८२, बिहिबार | December 19, 2025

मह गाउँको परिचय दिँदै दगाम


१९ मंसिर २०७९, सोमबार  

247
Shares

गण्डकी । परापूर्वकालमा दमाई जातिको बसोबास भएकै कारण दमाई गाउँ हुँदै त्यसको अपभ्रंशबाट दगाम गाउँ बनेको तनहुँको शुक्लागण्डकी वडा नं २ का स्थानीयवासी बताउँछन् ।

प्राचीन समयमा दमाई जातिकै बसेबास भए पनि अहिले भने यहाँ दमाई जातिको बसोबास नभई मगर जातिको बसोबास रहेको स्थानीय समाजसेवी तीलबहादुर थापा मगर बताउछन । समयले लामै कोल्टै फेर्दा अहिले भने दगाम गाउँको परिचय फेरिएको छ । यहाँका प्रत्येक घरमा भएको मौरीपालनले यो गाउँ यतिखेर मह गाउँका रुपमा चिनिन थालेको छ । गाउँलेले बर्सेनि मह उत्पादन गरी आयआर्जन बढाउन थालेका छन् ।

दगामका केही स्थानीयले व्यावसायिक मौरीपालनबाटै राम्रो आम्दानी लिन थालेपछि यसतर्फको आकर्षण बर्सेनि बढ्दै गएको हो । दगामका २३ घरका सबैले मौरी पालेका छन् । मह उत्पादन बढ्दै गएकाले मौरीपालन व्यवसाय सुरु गरेको अगुवा कृषक नन्दराज थापाले बताए । २०५७ सालमा घरेलु तथा साना उद्योग तनहुँले मौरीपालनसम्बन्धी तालिम दिएपछि गाउँमा मौरीपालन प्रति गाउँलेको रुचि बढेको उनको भनाइ छ । “सुरुमा घरेलु तथा साना उद्योग तनहुँबाट तालिम लिएपछि गाउँ हामीले गाउँमा मौरीपालन सुरु गरेका हौँ”, उनले भने, “सुरुमा केही गाह्रो भयो तर पछि कामले काम सिकाउँदै गयो अहिले सबै घरमा मौरीको घार छ ।”

उनले मौरीपालनबाट वार्षिक रु छ लाखसम्म आम्दानी गरेको बताए  । “सुरुमा एक घारबाट मौरी पाल्न थालेको हुँ”, उनले थपे, “विस्तारै घार बढाउँदै अहिले ४२ घारबाट राम्रै आम्दानी लिएको छु ।” उनले मह मात्र नभएर मौरी र घार पनि बिक्री गर्छन । दगामकै अर्का मौरीपालक कृषक टीकाराम गुरुङको घरमा पनि २२ घारमा मौरी छन् । उनले मासिक रु ४० देखि ५० हजारको मह बेच्छन । यसले उनले परिवार राम्रैसँग पालिएको छ । पहिले काठेघारमा मौरी पालेका उनले अहिले आधुनिक घारबाट मह काट्छन । “महका लागि सधैँ एकैनासको मौसम हुँदैन कहिले धेरै नै हुन्छ कहिले थोरै मह निकालिन्छ”, उनले भने, “फूल फुल्ने मौसममा रु ६० हजारसम्मको मह आउँछ अफसिजनमा पनि रु ३० हजारसम्मको मह उत्पादन हुन्छ । सरदरमा मासिक रु ५० हजारको मह काटिन्छ ।”

मह बेचेको पैसाले दगाम गाउँका कृषकले आफ्नो दैनिकी धान्न सक्ने भएको कृषक नन्दराज थापाले जानकारी दिए । “यहाँ सबैको घरमा मौरी पालिएको छ केहीले राम्रै आम्दानी गर्छन्”, उनले भने, “केहीले घरमै औषधिको रुपमा प्रयोग गर्छन् ।” स्थानीय सेतीमाया थापाले आफ्नो घरमा उत्पादन भएको मह आफूहरुलाई औषधिको रुपमा खान पुगेको बताउछन । उनको घरमा चार घार छन् । उनले एउटा घारबाट मात्र उत्पादन गर्छन । “हाम्रो उत्पादन भएको मह हामीले बेच्दैनौँ, औषधि बनाएर खान्छौैँ”, उनले सुनाए, “महले ढाड दुखेको निको हुन्छ अनि चिसो लाग्यो भने तातोपानीमा हालेर खाँदा ठीक हुन्छ त्यही भएर हामीले घरमै खान्छौँ ।”

यहाँ कृषकले ०७३ मा प्राकृतिक मौरीपालक कृषक समूह दर्ता गरी व्यावसायिक मौरीपालन सुरु गरेका हुन् । उनीहरूले सेरेना प्रजातिको मौरी पाल्दै आएका छन् । त्यहाँ उत्पादन भएको महको बजारीकरणमा समस्या नरहेको कृषक थापाले बताए । पछिल्लो समय दगाम सामुदायिक होमस्टेमा पुग्ने पाहुनाले कोसेलीको रुपमा लैजाने गरेको उनले बताए । “हामीले मह बेच्न बजार पु¥याउनुपर्दैन सबै गाउँमै आएर लैजान्छन्”, थापाले भने, “यहाँ होमस्टे खुलेपछि यहाँ आउने पाहुनाले कोसेलीको रुपमा लैजाने गरेका छन् । अनि मह खोज्दै गाउँमै धेरै आउँछन हामीलाई माग धान्न गाह्रो छ ।” होमस्टे पुग्ने पाहुनालाई त्यही उत्पादन भएको मह पनि चखाउँछन् ।

धेरै दुःख र लगानी गर्नु नपर्ने भएकाले पनि मौरीपालन व्यवसाय गर्न सजिलो रहेको त्यहाँका कृषकको अनुभव छ । मह उत्पादन गरेपछि बजारको समस्या नरहेकाले कृषकको यसमा आकर्षण बढेको हो । कृषकको आकर्षणले गर्दा बेलाबेलामा सरकारी अनुदान पनि आउने गरेको स्थानीयले बताए । दगाममा उत्पादन भएको मह विदेश पनि निर्यात हुने गरेको छ । यहाँको मह मलेसिया, बेल्जियम र हल्याण्डमा निर्यात हुने गरेको छ । उनीहरुले होमस्टे पुग्ने पाहुनाले कोसेलीका रुपमा लगेमा प्रतिकिलो रु एक हजार पाँच सयमा मह दिने गर्छन् भने, विदेश पठाउँदा एक किलोको रु दुई हजार पाँच सय लिने गर्छन् ।

पछिल्लो समय दगाम गाउँ मह उत्पादनका लागि अब्बल देखिएकाले मौरीपालन व्यवसायलाई विस्तर गर्ने स्थानीयको लक्ष्य छ । सरकारी पक्षबाट अझै सहयोग र अनुदान आए दगाम गाउँलाई मह गाउँका रुपमा चिनाउने गरी व्यवसाय विस्तार गर्ने थापाले बताए ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ८ : २३ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको