१ जेष्ठ २०८१, मंगलबार | May 14, 2024

वैदेशिक कामदार पनि अब सासुकोमा



काठमाडौं । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोषको दायरा थप फराकिलो बनाएसँगै अब वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार पनि सामाजिक सुरक्षा कोषमा आबद्ध हुन पाउने भएका छन् ।

आगामी वैशाखदेखि स्वेच्छिक वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारलाई कोषमा आबद्ध गर्न सकिनेगरी नयाँ कार्यविधि जारी गरिएको छ । ‘सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि-२०७९’ जारी भएसँगै अब वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार संसारको जुनसुकै कुनाबाट पनि अनलाइन माध्यामबाट जोडिएर सहजै सामाजिक सुरक्षा कोष (सासुको)मा आबद्ध हुन पाउने व्यवस्था भएको छ ।

यसअघि, स्वदेशी विभिन्न रोजगारदाता कम्पनी, उद्योग, प्रतिष्ठानका कामदार मात्र कोषमा आबद्ध हुने व्यवस्था थियो । अहिले सरकारले सामाजिक सुरक्षासम्बन्धी नयाँ कार्याविधि जारी गरिदिएर वैदेशिक रोजगारीमा रहेका लाखौं नेपालीलाई पनि सहजै कोषमा आबद्ध हुन पाउने व्यवस्था गरिएको छ ।

कोषका प्रवक्ता विवेक पन्थी योगदानमा आधारित तोकिएको योगदान रकम सम्बन्धित कामदारले कोषमा जम्मा गरेपछि नयाँ कार्यविधिबमोजिम विभिन्न तीन प्रकारका योजना सुविधा कोषबाट पाउने बताउछन् । उनका अनुसार वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारलाई कोषमा आबद्ध भएपछि दुर्घटना बिमा, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्थामा पेन्सन सुविधा उपलब्ध हुनेगरी सरकारले कार्यविधि बनाएको हो ।

सासुकोले जारी गरेको नयाँ कार्यविधिअनुसार वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारले तोकिएबमोजिमको योगदान रकम नियमित रूपमा कोषमा अनलाइनबाट जम्मा गर्न सक्नेछन् । यस आधारमा कोषले तोकिएका योजना सुविधा दिनेछ ।

जसका लागि नेपाली कामदार वैधानिकरूपमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेक्रममै श्रमिकले आवश्यक कागजात बुझाएर कोषमा आबद्ध हुने अवसर पाउनेछन् । कामदारको सहज पहुँचका लागि अहिले अनलाइनमार्फत नै कोषमा आबद्ध हुन सकिने सजिलो व्यवस्था गरिएको छ ।

विदेशमा हुनेले अनलाइनमार्फत कोषमा आवेदन दिँदा सम्बन्धित कामदारको नेपाली नागरिकता वा राहदानी र श्रम स्वीकृतिको प्रतिलिपिलगायत तोकिएका विवरण पेस गर्नुपर्नेछ । तर, श्रम स्वीकृति आवश्यक नपर्ने मुलुकमा रोजगारीमा रहेको वा रोजगारीका लागि जाने कामदारले आफूले विदेशको ‘कुन स्थान र कम्पनीमा श्रम गर्ने हो ?’ त्यसको विवरण, स्वघोषणा र रोजगारदाता कम्पनीको नियुक्तिपत्रको प्रतिलिपि पनि पेस गर्नुपर्ने छ ।

गैरवासीय नेपाल एवं विदेशमा स्वरोजगारीमा रहेका व्यक्तिले भने नेपाली नागरिकता वा राहदानी र भिसाको प्रमाणित प्रतिलिपि पेस गर्नुपर्नेछ । भिसा आवश्यक नपर्ने मुलुकमा स्वरोजगारीमा रहेको भए नेपाली नागरिकता वा राहदानीको प्रमाणित प्रतिलिपि पेस गरे पुग्छ ।

यसैगरी, स्वरोजगारीमा रहेकाको हकमा भने स्वरोजगारसम्बन्धी पेसा वा व्यवसाय दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपिलगायत तोकिएका विवरण राख्नुपर्नेछ । यी प्रक्रिया पूरा भई निवेदन स्वीकृत भएपछि मात्र कोषले अनलाइनमार्फत नै सम्बन्धित व्यक्तिलाई सामाजिक सुरक्षा परिचयपत्र उपलब्ध गराउनेछ ।

माग गरिएका आवश्यक कागजात समावेश गरी कोषमा आबद्धता भएपछि सरकारले औद्योगिक क्षेत्रमा कार्यरत श्रमिकका लागि तोकेको मासिक न्यूनतम १५ हजारको २१ दशमलव ३३ प्रतिशत न्यूनतम योगदान रकम नियमित कोषमा जम्मा गर्नुपर्नेछ ।

नयाँ कार्यविधिअनुसार योगदान रकममध्ये दुर्घटना तथा अशक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजनामा ७ दशमलव ४८ प्रतिशत र वृद्धावस्था सुरक्षा योजनामा १३ लशमलव २५ प्रतिशत रकम खर्च हुनेछ ।

नयाँ कार्याविधि कार्यान्वयनमा आएसँगै कोषले स्वदेशकै सामान्य होटल रेस्टुरेन्ट, पसल निर्माण लगायतका अनौपचारिक क्षेत्रका कार्यरत श्रमिकले पनि स्वेच्छिकरूपमा कोषमा आबद्ध भएर योगदान गर्न पाउनेछन् ।

सरकारले तोकेको न्यूनतम आधारभूत मासिक पारिश्रमिकको २० दशमलव ३७ प्रतिशत बराबर रकम योगदान गर्ने अनौपचारिक क्षेत्रमा श्रमिकले दुर्घटना बिमा, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजना (पेन्सन)सहित औषधि उपचारको सुविधा पनि पाउनेछन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा रहेका कामदार र विदेशमा स्वरोजगारीमा रहेका व्यक्तिका लागि योगदानमा आधारित ‘सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि–२०७९’ पारित गर्दै यस्तो व्यवस्था गरेको हो । यो नयाँ कार्यविधी योजना आगामी वैशाखदेखि पूर्ण रूपमा लागू हुने कोषले जनाएको छ ।

यो नयाँ कार्यविधी अनुसार सरकारले औद्योगिक क्षेत्रका कामदारको न्यूनतम आधारभूत पारिश्रमिक १५ हजार रुपैयाँ तोकेको छ । सोही मापदन्डबमोजिम कोषमा जोडिन चाँहने वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारले मासिक न्यूनतम १५ हजार रुपैयाँको २१ दशमलब ३३ प्रतिशत बराबर हुन आउने रकम हरेक महिना योगदान गर्नुपर्ने हुन्छ ।

श्रम मन्त्रालयले पारित गरेको यो कार्यविधिअनुसार श्रमिकले गर्ने योगदान रकममध्ये दुर्घटना तथा अशक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजनाका लागि ७ दशमलब ४८ प्रतिशत रकम विनियोजन गरिनेछ । यसैगरी, वृद्धअवस्था सुरक्षा योजनामा १३ दशमलव २५ प्रतिशत रकम विनियोजन गरिएको छ ।

सोहीअनुसार कोषमा आबद्ध हुने योगदानकर्ताले दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धवस्था सुरक्षा योजना सुविधा प्राप्त गर्ने कोषले जनाएको छ ।

कोषले जानकारी गराएअनुसार हालसम्म योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सुचीकृत हुने रोजगारदाताको संख्या १७ हजार ५३५ पुगेको छ । यसैगरी, सुचीकृत योगदानकर्ताको संख्या ३ लाख ८० हजार ९८२ जना रहेका छन् ।

यो नयाँ कार्याविधि कार्यान्वयनमा आएपछि हाल वैदेशिक रोजगारीमा रहेका लाखौं नेपाली कामदार लाभान्वित हुने अपेक्षा गरिएको कोषले जनाएको छ ।

यसअघि सरकारले गत साउनमा सामाजिक सुरक्षा कोषका योगदानकर्ता लक्षित ‘योगदानकर्ता सापटी निर्देशिका-२०७९’ स्वीकृत गरेको थियो । ११ मंसिर २०७५ सालमा योगदानमा आधारित सामाजिक सुरक्षा कोषको विविध आकर्षक योजना कार्यक्रम घोषणा गरेको सरकारले अहिलेसम्म स्वदेशी र विदेसमा कार्यरत कामदारलाई लक्षित गरी विभिन्न योजना कार्यान्वयनमा ल्याएको छ । आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ८ : ०६ बजे

मोदीले गराए वाराणसी लोकसभा सिटबाट उम्मेदवारी दर्ता

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज वाराणसी लोकसभा सिटका

मन्त्रिपरिषद्बाट नीति तथा कार्यक्रम पारित

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित

यसवर्ष गणतन्त्र दिवस मौलिक र रचनात्मक रूपमा मनाइने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र दिवस मौलिक एवं

बाँकेको जानकीमा सृङ्खलाबद्ध लुटपाट गर्ने समुहका २ जना पक्राउ

नेपालगन्ज । सृङ्खलाबद्धरुपमा बाँकेको जानकीमा लुटपाट गर्दै आएको समुह मध्यका

बेलहियामा गोदाम बनाएर रुपन्देहीमा लागु औषध सप्लाई गर्ने महिला पक्राउ

बुटवल । रुपन्देही प्रहरीले रुपन्देहीको भैरहवामा लागु औषध सप्लाई गर्ने