१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

मुख्य पदमा कम्युनिस्टकै बर्चस्व, यस्ता छन् प्रचण्डका सात सारथी



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा सोमबारदेखि प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शीतल निवासमा पद तथा गोपनियताको शपथ गरेपछि उनी सिंहदरबार पुगेर आफ्नो जिम्मेवारी सम्हालेका हुन् ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विभाजनसँगै प्रधानमन्त्री नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भएका थिए । एमाले र माओवादी केन्द्रबीच २०७४ सालमा चुनावी गठबन्धन हुँदै पार्टी एकता भएको थियो । निर्वाचनपछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भए । तर, त्यो धेरै समय टिक्न नसकी कम्युनिस्ट पार्टीको झन्डै दुईतिहाइ बहुमत हुँदाहँुदै गैरकम्युनिस्टबाट प्रधानमन्त्रीका रूपमा देउवा आए ।

नेकपा विभाजन हुँदै तीनवटा कम्युनिस्ट पार्टी भयो । एमाले, माओवादी र एकीकृत समाजवादी । अहिले एमाले र माओवादी सहित सात दलको गठबन्धन बनाएर कम्युनिस्ट पार्टीका नेताको नेतृत्वमा सरकार आएको छ ।

निर्वाचनसँगै संघीय सरकार मात्रै गठन हुने होइन । अब राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखको पनि निर्वाचन हँुदै छ । प्रदेश सरकार गठन, प्रदेश प्रमुख नियुक्ति, संवैधानिक नियुक्तिदेखि राजदूत नियुक्तिबाट कम्युनिस्ट पार्टीले बढी लाभ लिने अवस्थामा पुगेका छन् । एमाले र माओवादी केन्द्रसहितका दलको नयाँ गठबन्धन नबनेको भए यी महत्वपूर्ण पदमा गैरकम्युनिस्टहरू हाबी हुने निश्चित रहेको राजनीतिक विश्लेषक देवेन्द्र मिश्रले बताए ।

एमाले र माओवादी केन्द्र नमिलेको भए केहीबाहेक सबै मुख्य ठाउँमा गैरकम्युनिस्ट आउँथे । तर, अब त्यो अवस्थाको अन्त्य भएको छ । आउने दिन कम्युनिस्ट पार्टी र नेताका लागि राम्रो हुने बुझाइ उनको छ ।

यस्ता छन् प्रचण्डका सात सारथी

विष्णु पौडेल

एमाले उपाध्यक्ष विष्णु पौडेल यसअघि केपी शर्मा ओली नेतृत्वको दुई सरकारमा अर्थमन्त्रीको भूमिकामा थिए । २०५३ सालमै युवा खेलकुद तथा संस्कृतिमन्त्री, २०६५ मा जलस्रोत मन्त्री, २०६७ मा रक्षामन्त्री भएका पौडेलले प्रचण्ड नेतृत्वको सरकारमा एमालेको नेतृत्व गरेर सरकारमा सहभागी भएका हुन् ।

१५ मंसिर २०१६ मा स्याङ्जामा जन्मिएका पौडेल २०३५ सालदेखि राजनीतिमा छन् । राजनीतिमा आउनुअगाडि शिक्षक रहेका पौडेल संसदीय राजनीतिमा अनुभवी नेता हुन् भने उनी विकासप्रेमी र भिजन भएका नेताका रूपमा चिनिन्छन् ।

२०५१ सालमा एमालेले संगठन विभाग प्रमुख बनेका उनी २०५१ सालको संसदीय चुनावमा पाल्पा क्षेत्र नम्बर ३ बाट निर्वाचित भए । २०५६ को संसदीय निर्वाचनमा भने उनी रूपन्देही–३ बाट पराजित भएका थिए ।

२०६४, २०७०, २०७४ र २०७९ मा रूपन्देहीबाट चुनाव जितेका पौडेल २०६५ सालमा प्रचण्ड नेतृत्वको सरकारमा जलस्रोत मन्त्री, त्यसपछि झलनाथ खनाल नेतृत्वको सरकारमा रक्षामन्त्री बनेका थिए ।

नारायणकाजी श्रेष्ठ

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको चाहना गृह मन्त्रालय सम्हाल्ने थियो तर भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाए । उनी प्रधानमन्त्रीका विश्वासिला नेताका रूपमा चिनिन्छन् । यसअघि उनले बाबुराम भट्टराई नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएका थिए ।

यसअघि २०६४ सालमा भएको पहिलो संविधानसभामा उनलाई मन्त्रिपरिषद्ले मनोनित गरेको थियो । दोस्रो संविधानसभा निर्वाचन २०७० मा श्रेष्ठ माओवादी केन्द्रबाट मकवानपुरबाट चुनाव लडेका थिए तर, पराजित हुन पुगे ।

२०७४ को प्रतिनिधिसभा सदस्यको चुनावमा गोरखा २ बाट पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग पराजित भएका श्रेष्ठ २०७६ माघमा भएको राष्ट्रिय सभा सदस्यको चुनावमा गण्डकी प्रदेशबाट निर्वाचित भएका थिए ।

यसपटक पनि उनलाई परराष्ट्रमन्त्री बनाउने तयारी थियो । तर, गृहमा दाबी गरेका श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पाए ।

रवि लामिछाने

सञ्चारकर्मी रवि लामिछानेले ७ असार २०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेर राजनीतिमा आए । गत ४ मंसिरको चुनावमा उनी चितवन–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भए भने रास्वपा २० सिटसहित संसदको चौथो ठूलो दल बन्यो ।

लामिछाने नेतृत्वको रास्वपा भ्रष्टाचार नियन्त्रण र सुशासनको नारा दिएर राजनीतिमा उदाएको नयाँ दल हो । रास्वपाले प्रदेश संरचनाको विषयमा प्रश्न उठाउँदै आएको छ । प्रदेशसभाको चुनावमा भाग नलिएको रास्वपाले प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री अवधारणा अगाडि सारेको छ ।

लामिछानेको आफ्नै जीवन पनि विभिन्न किसिमका उतारचढावपूर्ण छ । २०३२ भदौ २८ मा काभ्रेको मण्डनदेउपुरमा जन्मेका उनी पाँच दाजुभाइ र दिदीबहिनीमध्ये कान्छा हुन् । परिवारको आर्थिक स्थिति राम्रै भएकाले बोर्डिङ पढ्दै हुर्किए ।

भृकुटी माध्यमिक विद्यालयबाट एसएलसी दिने वर्ष निष्कासित भएपछि काठमाडौंको डिल्लीबजारस्थित विजय स्मारक विद्यालयमा गए र त्यही स्कुलबाट २०४९ सालमा एसएलसी पास गरे । एसएलसीपछि रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा पत्रकारिता पढ्न थाले । आईए पढ्दा-पढ्दै रेडियो-टेलिभिजनमा काम गरे ।

ज्वालाकुमारी साह

माओवादी केन्द्र छोडेपछि एमालेमा निरन्तर अवसर लिँदै आएकी नेता हुन् ज्वालाकुमारी साह । २०७४ सालको चुनावमा माओवादी केन्द्रका तर्फबाट प्रदेशसभा निर्वाचनमा बारा ३ (क)बाट निर्वाचित साह नेकपा विभाजनपछि एमालेमै रहिन् । एमालेमा बसेपछि माओवादीले कारबाही गर्दा उनी प्रदेशसभा सदस्यबाट पदमुक्त भइन् ।

तर, त्यसको केही समयपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले साहलाई संघीय सरकारको मन्त्री (कृषि मन्त्री) बनाएका थिए । साह तत्कालीन नेकपामा हुँदा पार्टीकी बारा सह–इन्चाज थिइन् । नेकपा एकता भंग भएपछि एमालेमा रहेकी साहलाई एमाले अध्यक्ष ओलीले उनलाई प्रदेश २ को अध्यक्ष बनाएका थिए ।

गत चुनावमा बारा ३ बाट निर्वाचित भएकी साहले तेस्रोपटक संघीय मन्त्री बन्ने अवसर पाएकी छन् । राजनीतिमा भने उनी माओवादी जनयुद्धमा सहभागी हुँदै उदाएकी हुन् ।

बारा सिमरा उपमहानगरपालिका–१५ की साह स्कुल पढ्दापढ्दै माओवादी सशस्त्र विद्रोहमा लागेकी थिइन् । उनी माओवादीबाटै २०६४ को संविधानसभा सदस्य निर्वाचनमा समानुपातिक सदस्य निर्वाचित भएकी थिइन् । त्यसपछि २०६६ मा उनी भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री बनेकी थिइन् ।

राजेन्द्रकुमार राई

२०७४ मा वाम गठबन्धन हुँदा धनकुटाबाट निर्वाचित राजेन्द्रकुमार राईलाई यस वर्ष चुनाव जित्न धेरै गाह्रो हुने अनुमान थियो । तर, उनी तत्कालीन सत्ता गठबन्धनको समर्थन पाएका कांग्रेस उम्मेदवार सुनीलकुमार थापालाई पराजित गर्दै राजेन्द्र पुनः प्रतिनिधिसभामा निर्वाचित भए । ५७ वर्षीय मन्त्री राईसँग स्थानीय निकायमा रहेर काम गरेको अनुभव छ ।

२०४९ सालमा तत्कालीन जिल्ला विकास समितिको सदस्यबाट जनप्रतिनिधिमा निर्वाचित भएका उनी २०५४ मा जिल्ला विकास समितिको उपसभापतिमा निर्वाचित भएका थिए ।

२० भदौ २०२२ मा धनकुटाको तत्कालीन मुगा गाउँ पञ्चायतमा जन्मिएका राई धनकुटा सदरमुकामको माथिल्लो गोकुण्डेश्वर माविमा पढ्ने क्रममा अनेरास्ववियुमा संगठित भएर राजनीतिमा आएका नेता हुन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा धनकुटाका ७ वटै तह आप्mनो पार्टीलाई जिताएर राईले एमाले ओलीबाट म्यान अफ दि इलेक्सनको उपाधि पाएका राइले यसपटक संघीय मन्त्रिपरिषद्मा नै स्थान पाएका छन् ।

२०३० साल कात्तिक २० गते बैतडीमा जन्मेका भण्डारी २०४६ सालदेखि राजनीतिमा छन् । आफूलाई विकास अभियन्ता र समानताको पक्षधरका रूपमा चिनाउन चाहने ४९ वषर्षीय भण्डारीसँग यसअघि २०७३ सालमा अर्थ राज्यमन्त्री भएर काम गरेको अनुभव छ ।

अब्दुल खान

उद्योगमन्त्री अब्दुल खान गत ४ मंसिरमा सम्पन्न आमचुनावबाट राष्ट्रिय राजनीतिमा उदाएको सिके राउत नेतृत्वको जनमत पार्टीका नेता हुन् । ३६ वर्षीय खान जनमत पार्टीका दोस्रो वरीयताका नेता हुन् ।

२०६८ सालमा जनमत पार्टीको गठन भएदेखि नै सक्रिय भएर लागेका कारण आफू सीके राउत पछि सबै भन्दा धेरै १६ पटक गिरप्mतारमा परेको बताउँछन् । जनमत पार्टीमा ११ वर्ष बिताएका खान गत चुनावबाट समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनेका हुन् ।

बर्दियाको गुलरियाका स्थायी बासिन्दा खान पब्लिक हेल्थ विषयमा स्नातक उत्तीर्ण हुन् । उनको पार्टीले गत चुनावमा देशभरका रुग्ण उद्योग सञ्चालन गर्ने र १० लाख युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने बताएको थियो । पार्टीको घोषित नीति कार्यान्वयन गर्ने उनको बाचा छ । आजको राजधानी दैनिकमा सुभाष साहले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ७ : ४८ बजे

बुटवल उपमहानगरमा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण

बुटवल । बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका

एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

काठमाडौ । एन आई सी एशिया बैंकले कोशी प्रदेशमा आयोजना

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ

सुदूरपश्चिम सरकार छोड्न नाउपा अध्यक्ष रञ्जिताको लिखित निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।