१२ बैशाख २०८१, बुधबार | April 24, 2024

कृषि कर्मबाट वार्षिक रु २० लाख आम्दानी गर्दै गुरुङ दम्पती


१ माघ २०७९, आइतबार  

273
Shares

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा छितातालमा टाढाबाटै सेताम्मे टनेल लहरै देखिन्छन् । समथल भू-भाग रहेको छितातालमा निर्माण गरिएका दर्जन बढी टनेलभित्र अकबरे खुर्सानी, क्यारिलोना (पिरो खुर्सानी), गोलभेँडा, तितेकरेला, काँक्रा, मुला, गाँजर, प्याज, बन्दा, काउलीलगायत विभिन्न जातका तरकारी तथा फलफूल लटरम्म फलिरहेका छन् ।

मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल-चखेवाभञ्ज्याङ सडकखण्डबाट करिब २० मिनेट तल पर्ने छितातालमा ‘सालपा-छिता बहुउद्देश्यीय कृषि फार्म’ सञ्चालनमा छ । पर्यटकीय दृष्टिले रमणीय ठाउँ छितातालमा स्थानीय केशोर गुरुङ ‘युवराज’ले बहुउद्देश्यीय व्यावसायिक कृषि व्यवसाय सञ्चालन गर्नुरेका हुन ।

उनले व्यावसायिक कृषि पेसा अपनाएको करिब चार वर्ष भयो । विसं २०७५ मा कृषि फार्म दर्ता गरेर व्यावसायिक कृषि पेसा सुरु गरेका उनको वार्षिक आम्दानी अहिले रु २० लाखभन्दा बढी छ ।

किसान युवराजले उत्पादन गरेका तरकारी तथा फलफूल विशेषगरी जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा खपत हुने गरेको छ । बेमौसमी खुर्सानी प्रतिकेजी रु चार सय ५० र गोलभेँडा प्रतिकेजी रु ७५ मा दिक्तेल बजारस्थित विभिन्न बिक्री केन्द्रमा आफैँले लगेर ठेगाउने ९ठेक्कामा लिएर बेच्ने व्यक्तिलाई आफ्नो मूल्य लिएर दिने० गरेका छन ।

विज्ञान विषयमा आइएस्सी तथा आइटी इञ्जीनियर अध्ययन गरेका ३६ वर्षीय उनलाई श्रीमती सरिता गुरुङले समेत सहयोग गर्दै आएका छन । सरिता बिहान-बेलुका घरधन्दा गरेर बचेको दिउँसोको समय कृषि फार्ममा काम गर्छन ।

श्रीमान्श्री-मती मिलेर सञ्चालन गरेको कृषि फार्मको आम्दानी देखेर छिमेकीहरू पनि उनीहरूको सिको गर्न थालेका छन् । गुरुङ दम्पतीको बहुउद्देश्यीय कृषि फार्म २४ रोपनी क्षेत्रफलमा सञ्चालन गरिएको छ ।

बहुउद्देश्यीय कृषि फार्ममा अकबरे खुर्सानी दुई हजार दुई सय बोट र क्यारोलिना नौ सय बोट रहेको जनाइएको छ । बजारमा क्यारोलिनाभन्दा अकबरेको बढी माग रहेको युवराज बताउछन । “बजारको मागलाई मध्यनजर गर्दै अफसिजन (बेमौसममा उत्पादन हुने)का लागि अकबरे र क्यारोलिना एक-एक टनेल लगाइएको जनाइएको छ”, उनले भने, “अकबरेको माग धान्न नसकिने भएपछि टनेल थप्ने तयारी गरेका छौँ ।”

सो कृषि फार्ममा स्थानीय युवाले समेत आफ्नै गाउँमा रोजगारी पाएका छन् । फार्ममा आइपर्ने काममा सहयोग गर्न-गराउन ज्यालादारीमा दैनिक पाँच-छ जना युवालाई लगाउने गरिएको गुरुङ दम्पतीले बताएका छन् ।

यस वर्ष थप स्तरोन्नति गर्ने योजना रहेको फार्ममा यस वर्षबाट कर्मचारीका रूपमा पूर्णकालीन कामदार राख्ने तयारी गरिएको युवराजले बताए । “अहिले दैनिक ज्यालादारीमा काम लगाउने गरिएको छ । रु तीन सयका दरले दैनिक पाँच-छ जनालाई ज्याला दिनुभन्दा पूर्णकालीन कर्मचारी राख्दा फाइदा हुने भएकाले यो वर्षबाट पूर्णकालीन कर्मचारी तयारी गरेका छौँ”, उनले भने, “पूर्णकालीन कर्मचारी भएपछि उनीहरूलाई पनि पाएजस्तो हुने, हामीलाई पनि दिएजस्तो हुने । दुवैतर्फको काम चल्ने भएकाले दुई जना युवालाई पूर्णकालीन कर्मचारी राख्ने तयारी गरेका हौँ ।”

गुरुङ दम्पतीले सोही कृषि फार्ममा तरकारी र फलफूलसँगै माछा र बाख्राखसीसमेत पालेका छन । उनीहरुको बहुउद्देश्यीय कृषि फार्ममा अहिले दुईवटा पोखरीमा माछा तथा ३२ खसीबाख्रा रहेका छन् । कृषि फार्मबाट माछाका भुरासमेत ग्रडिङ गरेर (बढाएर) बिक्री गर्दै आएका गुरुङ दम्पतीले वार्षिक छ सय केजीभन्दा बढी माछा बिक्री गर्दै आएका छन । ग्रास र कमनकार्प प्रजातिका माछा उत्पादन गर्दै आएका गुरुङ दम्पतीले गाउँघर तथा दिक्तेल बजारमा बिक्री गर्दै आएका छन् ।

बहुउद्देश्यीय कृषि फार्मबाट खसी वार्षिक सात-आठवटा तथा मसिनो पाठापाठी १०-१५ वटा बिक्री गर्ने गरिएको बताइएको छ । बैंकको ऋण लिएर व्यावसायिक कृषि फार्म सञ्चालन गरेका गुरुङ दम्पतीको एक छोरी छन् ।

कृषि व्यवसाय गर्ने कृषकका लागि बजारको समस्या भए पनि आफ्नै गाउँमा केही गरौँ भन्ने उद्देश्यले कृषि पेसा अङ्गालेको युवराजले बताएका छन । “विदेशको मोह लागेन । ठूलो देश जानु बढी खर्च हुने । आफ्नै गाउँमा केही गरुम भन्ने उद्देश्यले कृषि व्यवसाय सुरु गरियो”, उनले भने, “अरुको खटनमा बस्नु परेन, सिर्जनशील हुनसके र मेहेनत गर्न सकेमा आफ्नै ठाउँमा पनि मनग्य आम्दानी गर्न सकिने रहेछ ।”

गुरुङ दम्पतीको बहुउद्देश्यीय कृषि फार्मलाई कृषि ज्ञान केन्द्र खोटाङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले टनेल सहयोग गरेको जनाइएको छ । दुई एमएस टनेलका लागि कृषि ज्ञान केन्द्र र दुई प्लास्टिक टनेलका लागि नगरपालिकाले आर्थिक सहयोग गरेको युवराजले बताए ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ८ : ५७ बजे

काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टिम

काठमाडौं । वेस्ट इन्डिज ए टिम काठमाडौं आइपुगेको छ ।

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य गर्ने

आसन्न महाधिवेशन कम्युनिष्ट आन्दोलनको ऐतिहासिक उपलब्धि हो : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल

एक जना मन्त्री लिएर सरकार बिस्तार गर्दै कर्णालीका मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आज एकजना