२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

डिजिटल धुनको भीडमा हराएन मादलको ताल



सुनसरी । तिहार नजिकिएसँगै नेपाली मौलिक बाजा मादलको बिक्री बढ्न थालेको छ । तिहारमा देउसीभैलो खेल्ने समूहले मादल किन्ने भएकाले यस समयमा यसको व्यापार बढ्ने गरेको व्यापारी बताउँछन् ।

आधुनिक प्रविधिको विकाससँगै गीतसङ्गीत तथा सांस्कृतिक कार्यक्रममा डिजिटल साउन्ड सिस्टमको प्रयोग बढे पनि देउसीभैलोमा मादलको आकर्षण घटेको छैन । तिहारमा देउसीभैलो खेल्ने समूहले मादललाई प्राथमिकता दिने गरेका छन् ।

धरान उपमहानगरपालिका–२ छाताचोकस्थित साल्सा म्युजिक स्टोरका सञ्चालक सुमन चौधरीले तिहारमा मादलको बिक्री बढी हुने गरेको बताए ।

विगत २० वर्षदेखि मादल, गितारलगायत विभिन्न बाजाको व्यापार गर्दै आएका उनका अनुसार तिहारका बेला दैनिक ७० देखि ८० वटासम्म मादल बिक्री हुने गरेको छ । सामान्य समयमा भने दैनिक पाँचदेखि १० वटासम्म मात्र बिक्री हुन्छ ।

चौधरीले भोजपुर, खाँदबारी, चैनपुर, धनकुटा, हिले, सिदुवा, उदयपुर, रामपुर र बेलटारलगायत स्थानमा मादल पठाउँदै आएका छन । उनले रु तीन हजारदेखि आठ हजारसम्मका मादल बिक्री गर्दै आएका छन ।

पहिले बाहिरबाट मादल ल्याएर बिक्री गर्ने चौधरीले अहिले आफ्नै कारखानामा मादल बनाउने गरेका छन । आफ्नै कारखाना भएकाले ग्राहकको मागअनुसार आकार र गुणस्तरका मादल बनाउन सहज भएको उनको भनाइ छ । उनको पसल तथा कारखानामा अहिले छ जनाले रोजगारी पाएका छन् भने परिवारका सदस्यले पनि व्यवसायमा सहयोग गर्दै आएका छन् ।

धरानको मुख्य बजार भानुचोकदेखि पूर्वतर्फको देसी लाइनमा मादलको व्यापार गर्दै आएका यदुनाथ अधिकारीले पनि तिहार नजिकिएसँगै मादलको बिक्री बढेको बताए । विगत १५ वर्षदेखि परिवारका सदस्यसँग मिलेर मादल र खुकुरीको व्यापार गर्दै आउनुभएका अधिकारीको पसलमा रु दुई हजारदेखि सात हजारसम्मका मादल राखिएका छन् ।

अधिकारीका अनुसार तिहारमा देउसीभैलो खेल्ने समूहले मादल किन्ने भएकाले यस समयमा माग बढी हुन्छ । लक्ष्मीपूजादेखि मादलको बिक्री झनै बढ्ने गरेको उनले बताए । कहिलेकाहीँ एकै दिन आठदेखि १० वटासम्म मादल बिक्री हुने गरेको छ ।

भोजपुर, धनकुटा तथा पश्चिम नेपालमा उत्पादित मादल खरिद गरेर बिक्री गर्दै आउनुभएका अधिकारीले ग्राहकको मागअनुसार विभिन्न गुणस्तर र मूल्यका मादल राखिएको जानकारी दिए । देउसीभैलो खेल्ने समूहले केही समयका लागि प्रयोग गर्न सस्तो मादल खोज्ने भएकाले महँगा मादल मात्र बिक्रीका लागि नराखिएको उनको भनाइ छ ।

यसैगरी, इटहरी उपमहानगरपालिका-६ का भेषराज अधिकारीले पनि विगत नौ वर्षदेखि मादल र खुकुरीको व्यापार गर्दै आएका छन । उनका अनुसार तिहारको समयमा मादलको बिक्री उल्लेख्य बढ्ने गरेको छ । तिहारको समयमा रु एक लाखदेखि डेढ लाखसम्मको मादल बिक्री हुने गरेको उनले बताए ।

तिहारमा देउसीभैलो खेल्ने परम्पराले नेपाली मौलिक बाजा मादलको व्यापारलाई चलायमान बनाउँदै आएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८३, शनिबार  ८ : २२ बजे

डिजिटल धुनको भीडमा हराएन मादलको ताल

सुनसरी । तिहार नजिकिएसँगै नेपाली मौलिक बाजा मादलको बिक्री बढ्न

एनपीएलमा आज लुम्बिनी लायन्सले काठमाडौं गोर्खाजसँग खेल्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज अंक तालिकाको

आज धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी

सरकार र डा केसीबीच छ बुँदे सहमति: तोडियो अनशन

काठमाडौं । सरकार र अनशनरत डा गोविन्द केसीबीच छ बुँदे

काग तिहार पर्व मनाइँदै

काठमाडौं । कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व