२१ माघ २०७९, शनिबार | February 4, 2023

असामाजिक बन्दै गएका सामाजिक सञ्जाल



काठमाडौं । ‘विमान खसेको थाहा भएपछि लगत्तै घटनास्थलमा पुग्यौँ । हामी धेरै स्थानीय थियौँ । म कोही व्यक्तिलाई जीवितै उद्धार गर्न सकिएला कि भनेर जहाजमा च्यापिएका र बाहिर यात्रु खोज्न थालेँ । जहाजका केही पार्ट डिलसम्मै पुगेका थिए । मैले चाहिँ डिलबाट केहीलाई त जिउँदै निकालेको हुँ । बाहिर अरू पनि खसेका थिए । अरूलाई पनि निकाल्न आउनु न भन्दा कोही आएनन् । सबै मोबाइलमा भिडियो खिचेर बसे । अझ मैले त तपाइँका बाबुआमा होलान्, दाजुभाइ होलान् आउनुस् न निकाल्न भनेँ । मेरो कुरा कसैले सुनेनन् । म एक्लैले सात जनालाई बाहिर निकालेँ । पछि उनीहरुलाई गण्डकी अस्पताल लगिएको सुनेँ, अहिले के भयो थाहा छैन ।’

जहाज खसेको दुःखद दुर्घटनाको पीडा त सबैमा छँदै नै थियो । त्यसमा पनि यी स्थानीयको बयानले धेरैको मन थप छियाछिया बनायो । यही माघ १ गते बिहान पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भयो । त्यस दुःखद दुर्घटनामा परेर ७२ जनाले ज्यान गुमाए । बिहान विमान खसेपछि तत्कालै घटनास्थलमा पुगेका थिए स्थानीय । तीमध्येका एकको यस्तो बयान सुन्दा, पढ्दा मनै चसक्क बनायो । एकपछि अर्कोगरी अनलाइन समाचारमा जहाजमा रहेका यात्रुको शव भेटिँदै गएको खबरसँगै घटनास्थलबाट यी स्थानीयले प्रस्तुत गरेको यो दृश्यले धेरैलाई रुवायो ।

सुन्दै अपत्यारिलो लाग्ने यो दृश्यको वास्तविकता कसरी सम्भव छ ? नेपाली मन यतिविधि निर्दयी हुन सक्छ ? नेपाली समाजको यो नियतिको पछाडि आखिर के छ ? नेपाली समाजको सामाजिक पक्षको विकास कसरी भइरहेको छ ? अकल्पनीय यस्ता दृश्यहरु नेपाली समाजमा वास्तविकता बनेर किन र कसरी देखिँदैछन् ? प्रश्न समाजशास्त्रीहरुलाई गए पनि सोच्नुपर्ने अवस्था सबैको छ । तर हिजोआज सतहमा देखिएको एउटा उत्तर भने सामाजिक सञ्जाल नै हो । जसले यी अकल्पनीय कल्पनाहरुलाई पनि वास्तविक बनाई दिँदैछन् । यो र यस्तै अरू पनि कतिपय घटना दुर्घटना सुन्ने गरेका छौँ जसको पछाडि सामाजिक सञ्जाल जोडिएर आउने गरेका छन् ।

हो, मानिसको हातमा मोबाइल नभइदिएको भए यो निर्दयता सम्भव थिएन होला । मोबाइलको भिडियो भाइरल बन्ने लत नबसकेको भए कसैले पनि यस्ता दृश्य खिचेर बस्न सक्दैनथ्यो । हुन त उनीहरुका सामु अरू बग्रेल्ती विषयहरु पनि होलान्, तर अबका दिनमा भने समाजशास्त्रीहरुले आफ्ना अनुसन्धानका समस्याका कथन (स्टेटमेन्ट अफ दी प्रब्लेम) सामाजिक सञ्जाल बनाउनुपर्ने देखिन्छ । सामाजिक सञ्जालमा चौबिसै घण्टा झुन्डिने लतले यो र यस्तै अरू के कति स्वरुप र मात्रामा नेपाली समाजलाई असामाजिक बनाउँदैछन् भनेर खोज्नुपर्ने दिन अब आएको छ । त्यसो भयो भने यस अनुसन्धानको निष्कर्षमा सामाजिक सञ्जालको सिर्जनात्मक र सही प्रयोग कसरी गर्ने भन्ने निस्कन सक्छ र त्यो सबैलाई काम लाग्न सक्छ । नेपाली समाजलाई पनि ‘भिडियो भाइरल’ को लतबाट बाहिर निकाली सिर्जनात्मकतातर्फ लैजान सक्छ । यसबाट सकारात्मक सोचमा र सत्य बक्ने बाटोतर्फ समाजलाई डो¥याउन सहज हुनेछ ।

अघिल्लो हप्ता राष्ट्रपति विद्या भण्डारी राष्ट्रपति निवास शीतल निवासबाट साझा यातायातको बिजुली बस चढेर ललितपुरका केही सम्पदाको भ्रमणमा जानुभयो । अघिपछि राज्यले दिएको सुविधाको लावालस्करमा यात्रा गर्ने राष्ट्रपति त्यस दिन सर्वसाधारणले चढ्ने बस चढ्नुभयो । के यो नराम्रो काम थियो ? एकातर्फ नागरिकले सधैँजसो चढ्ने साझा बस चढ्नुभयो जुन हिजोका दिनमा उहाँ पनि चढ्ने गर्नुहुन्थ्यो । अर्कातर्फ इन्धनमा शत्प्रतिशत विदेशमा निर्भर हुनु परिरहेको हाम्रो जस्तो देशमा राष्ट्रपतिले बिजुली बस चढ्नुभयो र जसका कारण बिजुलीबाट चल्ने सवारीहरुको प्रचार पनि भयो । यसरी सकारात्मक रुपमा लिएर प्रचार गर्न पनि त सकिन्थ्यो, जसले समाजमा सकारात्मक सन्देशको ऊर्जा पनि प्रदान गर्दथ्यो । तर सामाजिक सञ्जालमा त राष्ट्रपतिले साझा बस चढ्नुलाई ‘नाटक’ सम्मको अर्थ लगाइयो र किन यस्तो गरेको भनेर दुष्प्रचारसमेत गरियो ।

यतिमात्र नभएर राष्ट्रपति भण्डारीले बस चढ्दा र ओर्लंदा पिर्कामा टेक्नुभएको विषयको समेत जानाजानी गलत प्रचार गरियो । यसलाई पनि सामाजिक सञ्जालमा विभिन्न अर्थ लगाइयो । कतिले यसैलाई ‘राष्ट्रपतिले भुइँमा टेक्न नहुने हो र ?’ भनेर समेत अथ्र्याए । के सर्वसाधारणले साझा बसमा हिँड्दा यसरी नै पिर्कामा टेकेर उक्लिन्छन् त भनेर तुलना गरे । कतिपय सामाजिक सञ्जालको आशय यस्तो देखिन्थ्यो कि राष्ट्रपतिले पनि अरुले जे गरेका थिए त्यसै गर्नुपर्दथ्यो । यो कस्तो अमानवीय सोच हो ? कोही व्यक्ति बिरामी छ, उसको शरीरले हुँदैन र कुनै भौतिक वस्तुको सहारा लिनुपर्ने भएरै लिन्छ भने त्यसमाथि किन यसरी कठोर टिप्पणी गर्नु ? सामाजिक सञ्जालमा आउने यस्तै टीकाटिप्पणीहरु हेर्दा लाग्छ सामाजिक सञ्जाल नकारात्मक सन्देश प्रचार गर्न मात्र प्रयोग हुन्छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सवारी चढ्दा, ओर्लंदा या कुनै अग्लो स्थानमा उक्लनका लागि पिर्काजस्तो काठको वस्तु प्रयोग गर्नुहुन्छ । तर जबजब उहाँले पिर्काको प्रयोग गरेका तस्बिरहरु सार्वजनिक हुन्छन् त्यसपछि सामाजिक सञ्जालमा यस्ता टिप्पणी आउने गर्दछन् । राष्ट्रपति भण्डारीलाई करिब डेढ दशकअघि ब्लड क्यान्सर भएको थियो । भारतको एपोलो अस्पतालमा क्यान्सरको उपचारका क्रममा दिइने केमोथेरापीको स्टेरोइड औषधिले उहाँको कम्मरको जोर्नीमा खराबी देखिएकाले प्रत्यारोपण गरिएको जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पतालका विशेषज्ञ डा कैलाश भण्डारी बताउनुहुन्छ । उहाँका अनुसार राष्ट्रपतिको हिपमा खराबी देखिएपछि मेटल ‘हिप रिप्लेस्मेन्ट’ गरिएको छ, यस्तो बिरामीले धेरै माथिसम्म खुट्टा उठाउनु हुँदैन, समस्या हुन्छ । त्यसैले उहाँ उक्लने र ओर्लने ठाउँ केही अग्लो या होचो छ भने त्यसका लागि ‘सपोर्ट’ राख्ने गरिएको हुनसक्छ । ‘हिप रिप्लेस्मेन्ट’ गर्ने मान्छेले माथिसम्म खुट्टा उठाउँदा प्रत्यारोपण गरिएको हिपले ठाउँ छोड्ने (डिस्लोकेट हुने) पनि हुनसक्छ । यसैकारण उहाँले गाडी चढ्ने र ओर्लने बेलामा पनि कुनै अग्लो वस्तुको सहायता आवश्यक पर्ने गर्दछ । कुनै पनि मानिसको शारीरिक अस्वस्थतामाथि निर्दयी भएर यसरी टिप्पणी गर्न मिल्छ ?

यस्तै नकारात्मक टिप्पणी नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवाप्रति पनि केही अघि गरिएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको लुम्बिनी आएका बेला उहाँ र प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्ध भगवान्प्रति बसेर स्तुति गर्नुभएको थियो भने डा आरजुले भने उठेरै गर्नुभएको थियो । उहाँको पनि स्वास्थ्यमा समस्या भएकाले बस्न नमिल्ने भएर उभिएरै प्रार्थना गर्नुभएको थियो । तर त्यो तस्बिर मिडियामा आएपछि सामाजिक सञ्जालमा उहाँको आलोचना नै भयो । कतिपयले प्रधानमन्त्रीहरु बसिरहेका बेला डा. आरजु किन उठेको भनेर प्रश्न मात्र गरे । यहाँसम्म कि कसैकसैले त उहाँ उठेको विषयलाई अशिष्टतासम्म भन्न पनि भ्याए । वास्तविकता के थियो र उहाँ के कस्तो समस्याले उठ्नुपरेको थियो भन्ने विषयको तथ्यमा धेरै पुगेनन् तथ्यहीन टिप्पणी मात्र गरिरहे ।

भनिन्छ, संसार छ र त सञ्चार छ । पहिले त संसार हुनुपर्छ नत्र केको सञ्चार गर्नु ? आज विश्वका मिडियामा सबै नागरिकको पहुँच पुग्न नसकेकाले होला सामाजिक सञ्जालको जन्म भएको । यसैले त संसारका मानिसलाई सञ्चारको जालोमा ल्याएको छ । अनि यही सञ्जालले नै यसका प्रयोगकर्ता सबै मानिसलाई सञ्चारकर्मी बनाएको छ । अहिले सञ्चारकर्मी हुनलाई पत्रकार नै हुनु पर्दैन, सामाजिक सञ्जाल भए हुन्छ । किनभने हरेक व्यक्तिले यसैबाट सञ्चार गरिरहेको छ । अर्को कुरा यो नागरिक पत्रकारिताको युग पनि हो । अहिले मानिसले सामाजिक सञ्जालबाट नै पत्रकारिता गर्न सक्ने भएको छ र कतिले गरेको पनि छ । त्यसो भए पत्रकारले यस्तो अमानवीय पत्रकारिता गर्न मिल्छ त ? के यसलाई नागरिक पत्रकारिता भन्न मिल्छ ? सामाजिक सञ्जाल भनेका व्यक्तिका पिर व्यथा र खुसी साट्ने तथा खानपिन र उठबसका तस्बिर राख्ने अनि बाँकी सबैजसो आलोचना नै गर्ने माध्यममात्र होइनन् भन्ने बहस हुनु जरुरी छ । जनताका चासोका सूचनाहरु आदानप्रदान गर्ने र बौद्धिक बहस गर्ने ‘प्लेटफर्म’ पनि हो यो ।

कतिपय देशमा सामाजिक सञ्जाललाई चुनावी अभियान चलाउने र राष्ट्रका लागि ‘एजेन्डा’ सेटिङ गर्ने सशक्त औजारका रुपमा प्रयोगमा नै ल्याइसकेका छन् । अघिल्लो दशक प्रजातन्त्रका लागि सुरु गरिएको क्रान्तिमा अरब वसन्त नाम दिनसक्ने हैसियत निर्माण गर्ने काम यिनै सामाजिक सञ्जालले नै गरेका थिए । किनभने मध्यपूर्वी देशहरुमा प्रजातन्त्रको बहार ल्याउन सामाजिक सञ्जालकै मुख्य भूमिका थियो । अहिले जनजीविकाका विषयदेखि सामुन्द्रिक तटमा बसेका मानिसहरुलाई सुनामी आउने सूचनाबाट बचाउने कामसम्मका लागि यिनै सामाजिक सञ्जालको सहायता लिने गरिएको छ । भारतमा त सूचनाको हकको प्रयोग गर्न सामाजिक सञ्जालबाट थालिएको अभियानले भ्रष्टाचार विरुद्धको अभियान नै सञ्चालन ग-यो र यही अभियानको उपजका रुपमा अरबिन्द केजरीवाल जस्ता नेता जन्मिए । त्यसैले हामीले पनि सामाजिक सञ्जालको प्रयोग देश र जनताका लागि यस्तै सिर्जनात्मक रुपमा गरौँ । अहिले असामाजिक बन्दै गएका सामाजिक सञ्जाललाई यसैगरी छोड्यौँ भने यसले हामी र हाम्रो समाजलाई सकारात्मक हुन नै सिकाउँदैन । अनि यस्तै दुरुपयोगबाट नै सिर्जना, धैर्यता र सत्य हराउँदै जाने खतरा दिनप्रतिदिन बढ्दै जानेछ ।

पाठक राससका प्रधान सम्पादक हुन्

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  १२ : ०५ बजे

नागरिकतामा आमाको नाम अनिवार्य उल्लेख गर्न माग गर्दै रिट निवेदन

नेपालगन्ज । नागरिकतामा आमाको नाम अनिवार्य राख्नु पर्ने माग गर्दै

सत्ता गठबन्धन दलकै घेराबन्दीमा प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व

कांग्रेससहित प्रतिपक्ष दलको बैठक सिंहदरबारमा बस्दै

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षको चयनको पुर्व सन्ध्यामा नेपाली कांग्रेसले संघीय

माओवादी केन्द्र स्थायी कमिटीको बैठक अपरान्ह १ बजे बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी पटक पटक सरेर

लागूऔषध ओसारपसारमा संलग्न प्रहरी सहायक निरीक्षक पक्राउ

मोरङ । विराटनगरमा लागूऔषध खैरो हेरोइन ओसारपसारका क्रममा प्रहरी सहायक