२० जेष्ठ २०८१, आइतबार | June 2, 2024

आफ्नै छोरीबाट पीडित ८१ वर्षीय बाबुले गुहारे मानवअधिकार आयोग



काठमाडौं । काठमाडौं महानगरपालिका ४ धुम्बाराही बस्ने ८१ वर्षीय सर्वजीत सिंह तामाङले आफ्नै कान्छी छोरीबाट आफू अन्यायमा परेको भन्दै राष्ट्रिय मानवअधिकार आयोग गुहारेका छन् ।

आफ्नो आर्जनले किनेर छोरीका नाममा राखेको घरजग्गा आफूलाई थाहै नदिई बेचिदिएर आफू घर न घाटको बनेको भन्दै उनले न्यायको माग गर्दै आयोगमा निवेदन दिएका हुन् ।

शुक्रबार पुल्चोकस्थित आयोगको केन्द्रीय कार्यालयमा निवेदन दर्ता गरेका सर्वजीतले आफ्नी तीन छोरीमध्ये कान्छी छोरी कुसुम लामा तामाङबाट आफूलाई अन्याय परेको बताएका छन् ।

आफू बसिरहेको घरमा अनधिकृत मानिसहरू प्रवेश गरी होहल्ला गर्ने र आफूलाई मानसिक यातना पुर्याउने काम भइरहेको आयोगलाई जानकारी गराउँदै उनले आफू एक्लो र अलपत्र परेको निवेदनमा खुलाएका छन् ।

उनको निवेदनको पूर्णपाठ :

श्रीमान् अध्यक्षज्यू,
राष्ट्रिय मानवअधिकार आयोग
हरिहर भवन, पुल्चोक
ललितपुर

विषय : न्यायका लागि याचना गरिएको बारे ।

महोदय,
म निवेदक सर्वजीत सिंह तामाङ ८१ वर्षीय ज्येष्ठ नागरिक हुँ । म अन्यायमा परेकोले तपसिल बमोजिमको ब्यहोरा खुलाउँदै न्यायका लागि यो पत्र लेख्दै गुहार मागेको छु।

१. मेरा दुई श्रीमतिमध्ये जेठी श्रीमतिबाट एक र कान्छीबाट दुई छोरी गरेर तीन जना छोरी छन् । जेठीश्रीमतिको एक वर्षअघि निधन भएको हो । कान्छी श्रीमतिले पहिले नै मेरो साथ छोडेर अर्कैसँग जीवनयापन गरेकी थिइन् । छोरीहरू आआफ्नो बाटो लागि सकेको कारण म ज्येष्ठ नागरिक अहिले एकल रूपमा काठमाडौं महानगरपालिका वडा नम्बर ४धुम्वाराहीमा बस्दै आएको छु । मेरा तीन छोरीमध्ये जेठीतर्फकी उर्मिला तामाङ (सबैभन्दा जेठी) हुन् । कान्छीबाट उर्गेन तामाङ र कुसुम तामाङ (कान्छी) को जन्म भएको थियो । कान्छी छोरी कुसुम लामा प्रभु ग्रुपअन्तर्गतको उच्च ओहदामा कार्यरत छन् । जेठी छोरी उर्मिला बौद्धमा बस्छिन् । उर्मिलाले कहिलेकाहीँ आएर मेरो हेरविचारमा गर्दै आएकी छन् ।

२. मैले तीन दशक जति थाई एयरवेजमा काम गरेँ । त्यहाँबाट भएको कमाइले मैले केही सम्पत्ति जोडेको थिएँ । काठमाडौंको गैरीधारामा जोडेको घरजग्गासमेत बेचबिखन गरी मैले काठमाडौं ४ धुम्वाराहीमा घर बनाएको थिए । त्यो घर मैले प्रभु बैंकबाट ऋण लिएर बनाएँ । सो ऋण मैले चुक्तासमेत गरेँ । मैले १० वर्षअघि सो घर मेरो कान्छी छोरी कुसुम लामा तामाङको नाममा राखेको थिए । कुसुमलाई म अत्यधिक माया गर्ने गर्थेँ । उनलाई मैले सानैदेखि रेखदेख र पालनपोषणमा साथ दिए । जागिरमा रहँदा युरोप भ्रमण गराए । पारिवारिक खुसी र विश्वासमा मैले कुसुमको नाममा घर राखिदिएँ । तर मेरो जीवनमा तिनै छोरी कुसुमबाट बज्रपात हुन पुग्यो । कुसुमले मलाई थाहै नदिई सो घरजग्गा बेचिदिइन् । पाँच करोड ६० लाख रुपैयाँमा म बसिरहेको घर एकलौटी रूपमा बेचिदिइन् । मसँग त्यो घरबाहेक कुनै अचल सम्पत्ति छैन । सोही घरको पाँचौँ तलामा म रहँदै आएकोमा केही सामान्य फर्निचर, लत्ताकपडा र किचेनका सामग्रीबाहेक मसँग केही छैन । सो घरको सुरुको दुई वर्षको भाडा मैले पाएको थिएँ । करिब ८ वर्षदेखिको करिब एक करोड रुपैयाँ घर भाडा मैले पाएको छैन । यतिबेला म घर न घाटको जस्तै भएको छु । आफैँले दुख गरेर छोरीको नाममा किनेर राखेको घर अमानवीय तरिकाले सडकमै पुग्ने गरी बेचिदिँदा म शारीरिक रूपमा कमजोर र मानसिक रूपमा पनि विक्षिप्त भएको छु।

३. आफ्नै सन्तानबारे यी शब्द लेखिरहँदा मलाई अत्यन्तै पीडा भइरहेको छ । तर यथार्थ र नियति यही हो । समय र नियतिले मलाई यो उमेरमा करिब आधा दर्जन मुद्दाको बोझमा जकडेको छ । म कानुन जान्दिनँ । यहाँ मैले भनेको सबै हुनुपर्छ भन्ने छैन । तर मैले न्याय पाउनु पर्छ । मैले जोडेको घर मेरो सहमति बिना बेचबिखन हुन सक्दैन । मैले बनाएको घरको भाडा मैले पाउनुपर्छ ।

४. यतिबेला मेरो घरमा अनधिकृत मानिसहरू आउने तथा थर्काउनेगरिरहेकाछन्। महानगरीय प्रहरी वृत्त महाराजगन्जको क्षेत्राधिकारमा पर्ने मेरो घरमा गुन्डाहरू प्रयोग गर्ने, अनधिकृत रूपमा जोकोहीलाई भाडालगाउने जस्ता क्रियाकलाप भइरहेका छन् । ८१ वर्षको उमेरमा म बुढोलाई घरबाट निकाल्ने प्रपञ्च भइरहेको छ । अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा म बुढोलाई मानसिक तनाव दिने काम भइरहेको छ । एकलौटी रूपमा मेरो घरजऊगा बेचिएकोले सो बदर हुनुपर्छ र मैले नै भोगचलन गर्न पाउनुपर्छ । अनि मेरो घरमा भइरहेको गुण्डागर्दी तत्काल रोकियोस् भनी यो निवेदन पेस गर्दछु ।

यो विषम परिस्थितिमा म ज्येष्ठ नागरिकले न्यायको आशाका लागि गुहार्ने कि मर्नेबाहेक अरू कुनै बाटो देखिनँ । कानसमेत कम सुन्ने म बुढो न्यायको भिख माग्दै यो पत्र लेख्दै छु । कृपया न्याय गरी म वृद्धको उद्धार गरिदिनु हुनेमा आशावादी छु ।

सर्वजीत सिंह तामाङ
काठमाडौं ४, धुम्बाराही 

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ४ : ०४ बजे

नेपालमा ब्रिटिस लगानी गर्न महासङ्घ अध्यक्ष ढकालले गरे अनुरोध

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा

संरक्षणको पर्खाइमा नेपालको छुक्छुके रेल

धनुषा । जनकपुरधाममा नौ दशक अघि नै रेल सेवा सञ्चालन

केजरीवालले गरे दिल्लीको तिहाड जेलमा आत्मसमर्पण

काठमाडौं । २१ दिनको अन्तरिम जमानतको म्याद सकिएपछि दिल्लीका मुख्यमन्त्री

गर्मी चर्केसँगै नेपालगन्जमा ७ जना सडक आश्रित मानिसको मृत्यु, मृत्युको कारण के ?

नेपालगन्ज । पछिल्ला केही दिनमा अत्याधिक गर्मी बढेको अवस्थामा नेपालगन्जमा

ठगीको आरोपमा पक्राउ परेका लामा सार्वजनिक

काठमाडौं । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका सिबी