काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपति पदमा पुरुष उम्मेदवारलाई स्वीकार नगर्ने निर्देशन दिएको छ ।
आयोगको आज बसेको बैठकले निर्वाचन अधिकृतलाई यस्तो निर्देशन दिएको हो ।
आयोगको विज्ञप्तिमा भनिएको छ, ‘उपराष्ट्रपति पदको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ताका सन्दर्भमा उम्मेदवारको योग्यताबारे थप स्पष्टतासहित नवनिर्वाचित सम्माननीय राष्ट्रपतिको लिङ्ग वा समुदायभन्दा फरक हुने गरी उपराष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको छ ।’
जनता समाजवादी पार्टीले उपराष्ट्रपतिमा रामसहायप्रसाद यादवलाई उठाउने निर्णय गरेको थियो । तर, अब आयोगको यो निर्णयले जसपाको निर्णय संकटमा परेको छ ।
आठ दलबीच जसपालाई उपराष्ट्रपति दिने समझदारी बनेको थियो । तर, कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले भने आजैमात्र जसपालाई उपराष्ट्रपति दिने सहमति नभएको बताएका थिए ।
आयोगको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा ६५ को उपदफा २ बमोजिम दिइएको निर्देशनमा नेपालको संविधानको धारा ७० मा “यस संविधान बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक फरक लिङ्ग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नु पर्नेछ” भन्ने व्यवस्था रहेको साथै, राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा १६ को उपदफा (५) मा “यस दफा बमोजिम उपराष्ट्रपति पदको लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति पदमा निर्वाचित व्यक्ति जुन लिङ्ग वा समुदायको हो सो भन्दा फरक लिङ्ग वा समुदायको व्यक्तिलाई मनोनयन गर्नु पर्नेछ” भन्ने व्यवस्था रहेकोले संवत् २०७९ साल फागुन २५ गते सम्पन्न भएको राष्ट्रपतिको निर्वाचनमा खस आर्य समावेशी समूहका पुरुष व्यक्ति श्री रामचन्द्र पौडेल निर्वाचित हुनुभएको हुँदा स्वीकृत निर्वाचन कार्यक्रम अनुसार यही फागुन २७ गते उपराष्ट्रपति पदको मनोनयनपत्र दर्ता गर्दा राष्ट्रपतिको पदमा निर्वाचित व्यक्तिको लिङ्ग (पुरुष) वा समुदाय (खस आर्य) भन्दा फरक लिङ्ग (महिला वा अन्य) वा फरक समुदाय (दलित, आदिवासी जनजाति, मधेसी, थारु वा मुस्लिम) को व्यक्तिको मनोनयनपत्र मात्र दर्ता गर्ने व्यहोरा उल्लेख गरिएको छ ।’



















प्रतिक्रिया