३ आश्विन २०८३, शनिबार | September 19, 2026

साबुन उत्पादनमा महिलाको सक्रियता बढ्दो, तीन हजार रुपैयाँमा साबुन उद्योग



पाल्पा । महिलालाई आयआर्जनमूलक क्षेत्रमा अब्बल बनाउन रामपुर नगरपालिकाले सीपमूलक कार्यमा लगानी गरिरहेको छ । साबुन, सरफ, सिलाइकटाइ, चिप्स, अचार, स्वीटर, झोला, चप्पल, गुडिया, चुरापोते बनाउने सीप नगरपालिकाले प्रदान गर्दैआएको छ ।

नगरपालिकाको सहयोगमा सीपमूलक तालिम पाएपछि यहाँका महिलाले आयआर्जनमा जोड दिन थालेका छन् । हातमा सीप भयो भने महिला अरुको भरमा निर्भर रहनु पर्दैन । घरमै बसी–बसी आयआर्जन गर्न सकिन्छ । बिहान–साँझ घरायसी कामकाजमा व्यस्त रहने महिला दिउँसो फुर्सदको समय आयआर्जनमा खर्चेर सामान्य घरखर्च चलाउन सकिन्छ भन्ने उदाहरणीय कार्यमा सीता घर्ती, राधा खण्डलुक, निशा खड्का, पूजा जिसी, केशमाया राउत, सरिता खड्कालगायत लागिरहेका छन् ।

रामपुर नगरपालिका–२ स्थित सिम्लेमा ‘अग्र्यानिक साबुन उद्योग’का नाममा समूहमा महिलाले नुहाउने साबुन तयार पारिरहेका छन् । साबुन बनाउने छ दिनको तालिम नगरपालिकाले दिएपश्चात समूहमा मिलेर अहिले साबुन बनाउन थालेको अध्यक्ष सीता घर्ती बताइन् । “स्थानीय उत्पादन भएकाले गाउँघरकै ग्राहकले खरिद गरिरहनुभएको छ, गाउँमा राम्रै खपत भइरहेको छ”, उनले भनिन् ।

हाललाई गाउँघरमा हुने विभिन्न कार्यक्रम, बैठक, भेला, गोष्ठी, बजार जाँदा साथमै बोकेर साबुन लिएर जाने र व्यक्ति–व्यक्तिलाई साबुन बेच्ने गरिरहेको अध्यक्ष घर्तीले बताइन् । गत असारमा छ दिनसम्म साबुन बनाउने तालिम लिएपश्चात साउनदेखि नै व्यावसायिक उत्पादन सुरु गरिएको हो । भदौमा रामपुर नगरपालिकामा ‘अर्गानिक साबुन उद्योग’ नाममा संस्था दर्ता गरी साबुन बनाउन थालिएको अध्यक्ष घर्तीले बताइन् ।

हालसम्म एक हजार थानभन्दा बढी साबुन उत्पादन गरी बिक्री गरिएको छ । तालिममा सहभागीलाई नगरपालिकाले साबुन बनाउने सामग्री, कच्चा पदार्थ पेल्ने उपकरणलगायत उपलब्ध गराएपछि तालिमलगत्तै साबुन बनाउन महिलाले सुरु गरेका हुन् । निम, कागती, पाती, एलोभेरा, तुलसी पत्ता, मेवा, सुन्तला, मह आदिबाट साबुन तयार पारिएको सरिता खड्काले बताइन् । गाउँघरमा प्रशस्त मात्रामा पाइने कच्चा पदार्थबाट साबुन तयार पार्न सहज भएको छ । कच्चा पदार्थ तयार रहेको खण्डमा आधा घण्टादेखि बढीमा एक घण्टाको अवधिमा प्रयोग गर्न मिल्ने गरी साबुन तयार हुने गर्दछ ।

साबुन बनाउन थालेपछि सामान्य खर्चका लागि अरुसँग हात थाप्नु नपरेको र उत्पादन बढाएर आत्मनिर्भर बन्ने सोच राधा खण्डलुकले राखिन् । यहाँ उत्पादन भएको साबुन हाल प्रतिथान रु ९० मा बिक्री भइरहेको छ । समूहमा उत्पादन भएको साबुनबाट आर्जन गरेको खर्चले उद्योगमा नै लगानी गरिरहेको र उत्पादन गरेको साबुन बिक्री गर्दा खर्च चलाउन सजिलो भएको केशमाया राउत बताउँछिन् ।

“हातमा सीप नहुँदा महिला पछाडि परियो, अहिले रामपुर नगरपालिकाले सीप दिएपछि हामीमा केही गर्नुपर्छ भन्ने जोश र आत्मबल बढेको छ, कच्चा पदार्थमा लगानी गर्न नपरेपछि राम्रै फाइदा हुने देखिएको छ”, उनले भनिन् । यहाँका छ महिलाले प्रतिव्यक्ति रु पाँच सयका दरले रकम उठाएर उद्योग सुरु गरेका हुन् । अहिले उनीहरुले साबुन बिक्रीबाट आर्जन गरेको रकम उद्योगमै लगानी गरिरहेका छन् । साबुन बनाउन आवश्यक पर्ने बेस तेल खरिद महँगो पर्ने र रामपुरमै उपलब्ध नहुँदा बाहिरबाट ल्याएर बनाउँदा कहिलेकाहीँ तेल अभावमा बनाउन समस्या पर्ने गरेको छ । प्रतिकिलो रु पाँच सय ५० मा पोखरा, दुलेगौडा बजारबाट ल्याउनुपर्दा केही आम्दानीको रकम ढुवानीमा खर्चनुपरेको छ ।

प्याकेजिङ मेसिनको आवश्यकता छ । गाउँका महिलाको आयस्रोत नहुँदा उद्योगमा ठूलो लगानी गर्न सक्ने अवस्था छैन । अनुदान र सामग्री सहयोग पाए उत्पादन बढाउने सोच छ । नुहाउने साबुनका साथै लुगा धुने साबुन बनाउने तालिमको आवश्यकता भएको राउत बताउनुहुन्छ ।

रामपुर नगरपालिका–२ का वडाध्यक्ष कृष्ण दर्जीले यस वर्ष वडामा महिलालाई साबुन बनाउने सीप विकास तालिम आयोजना गरिएको र अर्को वर्ष व्यावसायिक साबुन उत्पादन गर्न बजेट विनियोजन गर्ने बताए । तालिममा सहभागी अधिकांश महिला साबुन बनाउन थालेका छन् । महिलालाई व्यवसायमा सहयोग गर्दै उत्पादन बढाउन उत्प्रेरित गर्ने र उद्यमीलाई थप सीप विकास गर्न गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रममार्फत पुर्नताजगी तालिम दिने तथा प्रविधि हस्तान्तरण गर्ने कार्यक्रम रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपाने बताउँछन् ।

महिला सशक्तीकरण र आर्थिक क्षेत्रमा उनीहरूलाई अब्बल बनाउन नगरपालिकाले सीपमूलक कार्यक्रममा लगानी गरिरहेको र लगानीअनुसार उपलब्धि राम्रै भइरहेको नगरप्रमुख रमणबहादुर थापा बताउँछन् । “नगरपालिकाभित्र उत्पादन भएका सामग्री बजारीकरण गर्न सहयोग गर्ने योजना बनाएका छौँ”, उनले भने, “धेरै उत्पादन भए बजारीकरण गर्न सहज हुनेछ, उत्पादित सामग्री नगरले व्यवस्थापन गर्छ ।”

गरिबी निवारण लागि लघुउद्यम विकास कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा नगरपालिकाको वडा नं १ मा २० महिलालाई झोल साबुन उत्पादन र वडा नं ९ मा २० जनालाई चप्पल बनाउने तालिम प्रदान गरिएको छ । अघिल्ला आर्थिक वर्षमा वडा नं २ मा २५ जनालाई नुहाउने साबुन, वडा नं ३ मा १० जनालाई सिलाइकटाइ, वडा नं ३ र ४ वडाका २० जनालाई संयुक्तरूपमा दुनाटपरी, वडा नं ५ मा १० जनालाई ढाका बुनाइ, वडा नं ६ मा ३० जनालाई आलु चिप्स, वडा नं ७ मा ११ जनालाई पशुपालन, कृषि, वडा नं ८ मा १८ जनालाई सरफ, वडा नं ९ मा चप्पल बनाउने तालिम सञ्चालन भइसकेको छ भने वडा नं १० मा कार्यक्रम हुन बाँकी छ ।

चालु आवमा गरिबी निवारण लागि लघुउद्यम विकास कार्यक्रम सञ्चालन गर्न सङ्घीय सरकारबाट रु ३५ लाख बजेट प्राप्त भएको छ । सो बजेटमध्ये रु २३ लाख ८० हजार नयाँ लघुउद्यमी सिर्जना, रु छ लाख २० हजार स्तरोन्नति, उद्यमीघर तयार पार्न रु पाँच लाख बजेटबाट कार्यक्रम सञ्चालन गरिरहेको उद्यम विकास सहजकर्ता रुपबहादुर सिंजालीले जानकारी दिए ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ९ : ०३ बजे

मोदीखोलाको बाढीले भत्काएको बिरेठाँटी सडक सञ्चालन, घान्द्रुक जाने बाटो खुल्यो

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-८ बिरेठाँटीमा मोदी खोलाले भत्काएको सडक

कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया आजदेखि, वडा अधिवेशन हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशन प्रक्रिया आजदेखि

संविधान संशोधनका नाममा मूल मर्ममाथि प्रहार स्वीकार्य छैन : आङ्देम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज

संविधानको पूर्ण कार्यान्वयनबाटै विषम परिस्थितिको निकास खोज्नुपर्छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुलुकले सामना गरिरहेको

राष्ट्रिय एकता र हातेमालोबाट विकास र समृद्धितर्फ अघि बढ्नुपर्छ : रेग्मी

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय