९ चैत्र २०८२, सोमबार | March 23, 2026

बाढीले कैलालीमा धानबाली र विद्यालयमा क्षति


२७ श्रावण २०८०, शनिबार  

234
Shares

टीकापुर । गत सोमबारदेखि परेको अविरल वर्षापछि आएको बाढीले भजनी नगरपालिका-८ का किसान रमेश चौधरीको दुई बिघा जमिन कटानमा परेको छ । बाढीले गाँज हाल्दै गरेको धानबाली बाढीले नष्ट गरिदिएको भन्दै उनले चिन्ता व्यक्त गरे ।

“बाढीले घरमा भएका अन्नपात पनि भिजायो, खेतको धानबाली पनि नष्ट गर्‍यो”, उनले भने । बाढीले उहाँको मात्रै होइन भजनी वडा नं ३ र ८ का अधिकांश किसानको धानबाली नोक्सान गरेको छ ।

भजनी नगरपालिकाले पालिकामा छ हजार हेक्टरमा लगाएको धानबाली नष्ट भएको जानकारी दिएको छ । जसमध्ये वडा नं ३ र ८ मा सबैभन्दा धेरै धानबाली नोक्सानी भएको भजनी नगरपालिकाका कृषि शाखा प्रमुख सुशोभन अधिकारीले बताए ।

“नगरको वडा नं ३, ५, ६, ७ र ८ मा गरी छ हजार हेक्टर क्षेत्रफलको धानबालीमा नोक्सानी भएको छ”, उनले भने, “धानबाली बाढीमा डुबेको छ । कतिपयको बालीमा बालुवा, माटो थुपारिएको छ ।”

भजनी नगरपालिकाका यी वडामा १२ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । बर्सेनि बाढीको डुबान हुने क्षेत्र भएकाले नगरमा बाढीग्रस्त क्षेत्रमा वसन्त ऋतुमा चैते धान खेती हुने गरेको छ । बाढीले बर्खे धानबाली मात्र नभई चैते धान बालीलाई समेत असर गरेको उनको भनाइ छ । “कतिपयले बाली काटिरहेका थिए, चैते धान खेती गरेर घर भित्र्याएको अन्न पनि बाढीले नष्ट गरेको छ”, उनले भने ।

बाढी अहिले पनि नघटेको भन्दै पानीको सहत घटे क्षति भएका बालीको अनुगमन गरी सोहीअनुसार प्रक्रिया अगाडि बढाइने शाखा प्रमुख अधिकारीको भनाइ छ । भजनी नगरपालिकामा मोहना, कान्द्रा, काँढा र परथैया नदीको पानीले डुबान हुने गरेको छ ।

डुबान हुँदा धानबाली पूर्णरुपमा नष्ट हुने अवस्थामा पुगेकाले धेरै किसान मारमा पर्ने गरेका स्थानीय जयबहादुर बुढाले बताए । “हरेक वर्ष यहाँका किसानले बाली गुमाउनुपरेको छ”, उनी भन्छन्,, “दीर्घकालीन समस्या समाधान नभए यहाँ खेती नै नगर्ने बढ्ने छन् । लाखौं खर्चिएर खेती गरेकाहरु बाढीका कारण रुनु परिरहेको छ ।”

यता टीकापुर नगरपालिकाको वडा नं ६ मा समेत धानबालीमा बाढीले क्षति पु-याएको छ । बाढीले धानबालीका पुगाएको क्षतिको विवरण लिने काम भइरहेको पालिकाले जनाएको छ ।

विद्यालयमा पनि क्षति

सोमबार र मङ्गलबार लगातार आएको वर्षापछि साउन २३ गते आएको बाढीले कैलालीका बाढी प्रभावित क्षेत्रका विद्यालयमा समेत क्षति पुगेको छ । बाढीले विद्यालयमा पानी पस्दा कागजात, कापी किताब, बिच्छ्याइएका कार्पेट, बालबालिका बस्ने कुसन नष्ट भएका छन् ।

टीकापुर नगरपालिका–६ भगवानपुस्थित खड्ग आधारभूत विद्यालयका चार कोठामा बाढी पसेपछि कार्पेट, शैक्षिक सामग्रीलगायतमा क्षति भएको छ । विद्यालयमा परीक्षा चलिरहेकाले पानी पसेका कोठामा सरसफाइलगायतका काम भइरहेका, भिजेका कागजात सुकाउन लागिएको प्रधानाध्यापक रामप्रसाद खनालले बताए । “बाढीले भिजेका कागजात सुकाउन थालेका छौँ, राम्ररी घाम पनि लागेको छैन, कतिपय किताब काम नलाग्ने गरी नष्ट भएका छन्”, उनले भने ।

जनज्योति आधारभूत विद्यालय भर्तापुरका प्रधानाध्यापक पूर्णप्रकाश शाह बाढी विद्यालयमा पसेपछि करिब रु ५० हजार बराबरको क्षति भएको बताए । “भर्तापुरमा कार्पेट, कुसन, काजगात र किताब भिजेका छन्”, उनले भने, “विद्यालयमा परीक्षा चलिरहेकाले दुई कोठा सफा गरेर परीक्षा भइरहेको र बाँकी बाढीका कारण हिलाम्मे भएकाले विद्यालय सरसफाइ गर्ने काम भइरहेको छ ।”

नगरपालिकाका प्रवक्ता तथा वडा नं ३ का वडाध्यक्ष विक्रम चौधरीले बाढीले विभिन्न स्थानमा विद्यालयमा क्षति पुर्‍याएको बताए । “वडा नं ८ का सबै विद्यालय र वडा नं ३ का जाल्पा आधारभूत विद्यालय बर्दवाफाँटा, पडरियास्थित केदारनाथ आधारभूत विद्यालय र मदरसा विद्यालयमा बाढी पसेको छ”, उनले भने, “वडा नं ८ मा शिव आधारभूत विद्यालय, कृष्णध्वज मावि, कालिका आधारभूतलगायतका विद्यालय डुबानमा परेका छन् । शिक्षकलाई पूर्वतयारीबारे जानकारी भएकाले विद्यालयका कागजात सुरक्षित छन् । अब सरसफाइलगायतका कार्य गर्नुपर्नेछ ।”

भजनीका विद्यालयमा बर्खे बिदा भएकाले विद्यालय बन्द हुँदा पढाइमा असर नपरेको उनको भनाइ छ ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  ७ : १३ बजे

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी

विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’

काठमाडौँ । अघिल्लो प्रतिनिधिसभाका विभिन्न समितिमा निकै रस्साकस्सीका बीच अघि

बाँकेमा ६ महिनाको अवधिमा तीन करोडभन्दा बढी जरिवाना असुल

नेपालगन्ज । प्रहरीले बाँकेमा पछिल्लो ६ महिनामा २७० जना फरार

चैत १२ गते दिउँसो २ बजे प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहण

काठमाडौं । सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा