नेपालगन्ज । नेपालगन्जमा सानो एउटा फेसबुक स्टाटसमा लेखिएको कमेन्टले कर्फ्यु लगाउनु पर्ने अवस्था सृजना भएको छ । सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग गर्दै एकजना सामान्य नागरिकले लेखेको स्टाटसको कमेन्टले नेपालगन्ज पुनः एक पटक अशान्त बनेको छ ।
आज मध्यान्ह ११ः३० बजे देखि नेपालगन्जमा सल्केको दङ्गा यो समाचार लेख्दा सम्म छुटफुट चलिरहेको छ । स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेपनि प्रशासनको आदेश उल्लँघन गर्दै प्रदर्शन गर्ने र प्रहरीको आँखा छल्दै दुवैपक्षबीच ढुँगामुढा गर्ने क्रम जारी रहेको छ । यद्देपी मध्यान्हको तुलनामा अवस्था नियन्त्रणमा आइसकेको प्रशासनले दाबी गरेको छ ।
११ असोजमा सामान्य ब्यक्तिबाट पोष्ट गरिएको स्टाटसमाथिको कमेन्टले १६ गते सम्म पुग्दा नेपालगन्जमा दुई समुदायबीच सदियौं देखि एक आपसमा सौहार्दपूर्ण वातावरण खलबल्याउने प्रयास भएको छ । मुस्लिम समुदायका पैगम्बरको १४९८ औं जन्मोत्सवका क्रममा मोहम्मद डे मनाइरहेको अवस्थामा बाँकेका एक मौर्य थरका स्थानीय युवाले पोष्ट गरिएको स्टाटसमा कमेन्ट लेख्दै बाँके नरैनापुरका यादव थरका युवाले अपमानजनक शब्द सहित कमेन्ट गरेका थिए । ती युवाले कमेन्टमा इस्लाम धर्मका पैगम्बर मोहम्मदको निन्दा गर्दैै सामाजिक सञ्जालमा अपमानजनक कमेन्ट लेखेका थिए । त्यही कमेन्टको शब्दले नेपालगन्जमा अशान्ति मच्चाएको छ ।
कमेन्टमा अपमानका शब्दहरु देखेपछि मुस्लिम युवाहरुलाई उचाल्ने काम भने नेपालगञ्ज उपमहानगरपालिका वडा नं ५ का वडाध्यक्ष सराफत खानले गरेको प्रहरी स्रोतको दाबी छ । खानको सक्रियतामा अपमानजनक स्टाटसविरुद्ध कारवाहीको माग गर्दै जिल्ला प्रशासनमा ज्ञापन पत्र दिन जाने क्रममा गरिएको उग्र प्रदर्शनले लामो समयदेखि नेपालगन्जमा दङ्गाको योजना बुनिरहेका समुहलाई राम्रो बहाना मिल्यो । प्रशासनमा साइबर क्राइम अन्तर्गत कारवाहीको माग गर्दै ज्ञापन पत्र बुझाउने भनिएपनि सयौं आक्रोशित युवाहरु लिएर प्रशासनमा जुलुस पुग्यो । जुलुसले प्रशासन नै कब्जा गरेको आभास दिनेगरि प्रशासनको छतमा मुस्लिम झण्डा फहराए र सडकमा उग्र नारा लगाए ।

प्रशासनबाट फर्केको सराफतले नेतृत्व गरेको युवाहरुले प्रदर्शनका क्रममा टायर बाल्ने, अर्को समुदायविरुद्ध उग्र नाराबाजी गर्ने काम गर्यो ।
निर्वाचित वडाध्यक्ष खानकै नेतृत्वमा उग्र प्रदर्शन भएको निहुमा हिन्दु धर्मसँग जोडिएका विभिन्न समुहले पनि नेपालगन्जमा प्रदर्शनको योजना बनायो । सो समुहलाई प्रशासनले उत्तेजना फैलाउने काममा संलग्नहरुलाई कारवाही गर्ने आश्वस्त तुल्याएको भए सायद कर्फ्युको अवस्था आउने थिएन । प्रशासनले समयमै सामाजिक सञ्जालको दुरुपयोग गर्नेहरु माथि कारवाही गर्नुको सट्टा कारवाही गर्ने वक्तब्य जारी गरेर बस्यो । प्रशासन एक्सनमा उत्रिन सकेन ।
यद्देपी जस्को कमेन्टका कारण नगरको शान्ति खलबलियो ती ब्यक्तिले फेसबुककै माध्यमबाट सार्वजनिक माफी पनि मागि सकेका छन् । उनले हात जोडेर माफी माग्दै समुदायमा परेको चोट प्रति क्षमायाचना गरिसकेका छन् ।
१२ गतेकै प्रदर्शनका विरुद्ध ओमकार परिवारले मंगलबार नेपालगञ्ज बन्द आव्हान गरेको थियो । ‘शान्तिपूर्ण’ र्याली निकाल्ने भन्दै प्रशासनबाट अनुमति लिएपनि भित्रभित्रै कडा आन्दोलनको तयारीको विषयमा प्रशासन जानकार थियो । नगरको शान्तिसुरक्षा खल्बलिने विश्लेषणसहित स्थानीय प्रशासनले १५ असोजमा सर्वपक्षीय बैठक बोलाएकै भरमा अराजकता रोक्न सकिने भर पर्नु नै प्रशासनको कमजोरी देखियो । प्रशासनको अगुवाईमा गरिएको सदभाव ¥यालीमा स्थानीयको खासै आकर्षण नदेखिएपनि ओमकार समुहको प्रदर्शनमा उल्लेख्य युवाहरु सहभागी भए ।
बागेश्वरी मन्दिर पूर्वी गेटबाट निस्केको ओमकार परिवारको जुलुस सेतु बिक चोक, धम्बोझी हुँदै वीपीचोक सम्म पुग्दा उग्र नाराबाजी गरिरहेको थियो । नाराबाजी गर्दै अगाडि बढीरहेको जुलुसमा अज्ञातस्थलबाट भएको ढुँगामुढाले अवस्थालाई तनावपूर्ण बनाएको प्रत्यक्षदर्शीहरु बताउँछन् । वीपीचोक र इदगाह रोडमा दुई पक्षबीच ढुंगा हानाहान भएपछि प्रहरीले हवाई फायर गर्नुपर्ने अवस्था आयो । सो झडपमा प्रहरी र प्रदर्शनकारीहरू घाइते भएका छन् भने इदगाहा रोडका दर्जन बढी घरका सिसाहरु फुटेका छन् । सडक किनारका मोटरसाईकलहरुमा तोडफोड गरिएको छ ।

प्रशासनले सामाजिक सञ्जाल दुरुपयोग गर्नेलाई कारवाही र धार्मिक र साम्प्रदायिक नाम दिईएको प्रदर्शनलाई रोक्नुपर्नेमा जिल्ला प्रशासनले अनुमति दिनु गलत भएको विश्लेषक नरेन्द्रजङ्ग पिटरले बताए । उनले नेपालगन्जको संबेदशिलतामा प्रशासन सजग हुन नसकेको टिप्पणी पनि गरे । नेपालगन्जको संबेदशिलताका बारेमा केन्द्रीय प्रशासनले स्थानीय प्रशासनलाई सचेत नगराएको बताउँदै पिटरले केही दिनबाट नेपालगन्जमा हरियो फेटा गुटेका र गेरुबस्त्र धारण गरेकाहरुको चलखेललाई प्रशासनले नजरअन्दाज गरेको आरोप लगाए । सिमा पारीबाट असहिष्णुताको प्रयास भइरहेको प्रति संकेत गर्दै उनले असहिष्णुता सूचना गरेर नआउने पनि बताए ।
स्थानीय प्रशासनले आजको ओमकार परिवारको प्रदर्शनलाई अनुमति दिएको आरोपलाई भने अस्वीकार गरेको छ । ओमकार परिवारको नामबाट प्रदर्शनको जानकारी आएपनि त्यो संस्थाको बारेमा आफुलाई थाहा नभएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले बताए । ओमकार परिवारको संस्थागत अवस्थाबारे आफुलाई जानकारी नभएको र अनुमति पनि नदिएको उनले बताए ।
केही शंकास्पद घटनाहरु भइरहेकाले कर्फ्युको अवधि बढ्न सक्ने संकेत गर्दै प्रजिअ आचार्यले स्थिती नियन्त्रणमा आइसकेको दाबी गरे ।



















प्रतिक्रिया