२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

भरतपुर अस्पतालमा बडादसैँका दिन जन्मिए २० शिशु



चितवन । सबैतिर दसैँको टीका लगाइरहँदा यहाँको भरतपुर अस्पतालमा २० शिशुको जन्म भएको छ। प्रसूतिका कारण टीका लगाउनसमेत छोडेर दुई चिकित्सकसहित दस स्वास्थ्यकर्मी खटिएका थिए ।

अस्पतालको स्त्री तथा प्रसूति रोग विभागका प्रमुख डा सुनिलमणि पोख्रेलका अनुसार दसैँको टीकाका दिन पनि चिकित्सक, स्वास्थ्यकर्मी र सरसफाइकर्मी निरन्तर काममा खटिएका थिए ।

टीकाका दिन छ जनाको शल्यक्रिया गरेर बच्चा झिकिएको थियो भने अन्यको साधारण प्रसूतिबाटै बच्चा जन्मिएको थियो । युसैगरी नवमीका दिन २० जनाले बच्चा जन्माएकामा आठ जनाको शल्यक्रिया गरिएको थियो । अष्टमीका दिन १७ जनाले शिशु जन्माएकामा चार जनाको शल्यक्रिया गरिएको थियो । फूलपातीका दिन यो सङ्ख्या ३४ जना पुगेको थियो । तीमध्ये सात जनाको शल्यक्रिया गरिएको प्रमुख पोख्रेलले बताए ।

प्रसूति विभागमा खटिएका चिकित्सक, नर्सिङ् स्टाफ, सरसफाइकर्मीलगायत कर्मचारी चाडपर्व पनि नभनी निरन्तर काममा खटिएका उनको भनाइ थियो । काठमाडौँको थापाथलीस्थित प्रसूतिगृह पछि सबैभन्दा धेरै सुत्केरी सेवा यही अस्पतालबाट लिने गरेका छन् । गत आर्थिक वर्षमा यो सङ्ख्या १२ हजार सात सय थियो । चितवनसहित छिमेकी जिल्लाबाट यहाँ प्रसूति सेवाका लागि बिरामी आउने गर्दछन् । जिल्लामै पनि अन्य अस्पतालमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मीलगायत सम्पन्न व्यक्तिले समेत प्रसूति सेवाका लागि भरतपुर अस्पताललाई रोज्ने गरेको प्रमुख पोख्रेलले जानकारी दिए। यो विभागमा १२ विशेषज्ञ चिकित्सक, २५ नर्सिङ स्टाफसहितको अनुभवी समूह परिचालित रहेकामा ३० वर्षभन्दा लामो समयदेखि प्रसूति गराउँदै आएका अनुभवी नर्सिङ स्टाफसमेत रहेका छन् । यस अस्पतालमा अन्य समयमा दैनिक ५० हाराहारी शिशु जन्मने गर्दछन् । तीमध्ये ४० प्रतिशतको शल्यक्रिया हुँदै आएको छ ।

अस्पतालमा शल्यक्रिया गर्नुपर्ने बिरामीको चाप बढेका कारण हाल रहेको सात शल्यक्रिया कक्ष बढाएर १५ वटा बनाइएको छ । प्रसूतिका लागि अलग्गै शल्यक्रिया कक्ष छ । चौबिसै घण्टा शल्यक्रिया चलिरहेको हुन्छ । मेडिकल कलेज र केही अस्पतालले बाहेक अन्य अस्पतालले नियमित प्रसूति सेवा नदिएकाले पनि भरतपुर अस्पतालमा चाप बढी भएको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले बहिरङ्ग सेवाबाहेक अन्य सेवासमेत दसैँमा नियमित गरिएको बताए । अस्पतालमा छ घण्टा डायलासिस सेवा रोकिए पनि अन्य सेवा भने सञ्चालन भइरहेको उनले उल्लेख गरे । सुपरिटेन्डेन्ट प्रा डा पौडेललका अनुसार अस्पतालमा कार्यरत एक हजार ४५ चिकित्सक कर्मचारीमध्ये आधाले दसैँमा काम गरेका र तीमध्ये सबैभन्दा बढी नर्सिङ स्टाफ रहेका थिए ।

अस्पतालमा कार्यरत चार सय नर्समध्ये तीन सयले दसैँको बेलामा समेत काम गरेका छन् । त्यस्तै सरसफाइ र सुरक्षाकर्मी एक सय ९५ मध्ये एक सय ३८ तथा दुई सय चिकित्सकमध्ये एक सयले काम गरेका थिए । दसैँको समयमा बहिरङ्ग सेवा सञ्चालन नहुँदा अस्पताल आएका बिरामीले स्वास्थ्य बीमामार्फत सेवा लिएका थिए । अस्पतालका बीमा कार्यक्रमका इञ्चार्ज लिलाधर पौडेलका अनुसार स्वास्थ्य बीमामार्फत् आकस्मिक सेवा लिने सेवाग्राहीको सङ्ख्या उल्लेख्य रहेको छ । उनले भने, “दसैँको टीकाको दिन पनि हामीले बीमामार्फत् आकस्मिक र अन्य सेवा सहजै उपलब्ध गरायौँ ।”

 

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  १० : ०० बजे

यसवर्षको मनसुन अवधिमा सरदरभन्दा कम वर्षा र खडेरी पर्नसक्ने पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यसवर्षको मनसुनमा नेपालमा

खजुरा क्यान्सर अस्पतालको लिन्याक मेसिनमा समस्या आएपछि रेडियोथेरापी सेवा अवरुद्ध

नेपालगन्ज । पश्चिम नेपाल कै एक मात्र क्यान्सर अस्पताल सुशिल

चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको हो : शिक्षामन्त्री

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आफूहरुको चुनावी

उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः आवेदकले राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने

काठमाडौँ । ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि,

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३