२ पुस २०८२, बुधबार | December 17, 2025

‘सिटी स्क्यान’ सेवा थालनी गर्दै मेथिनकोट अस्पताल



काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-४ भकुण्डेमा अवस्थित मेथिनकोट अस्पताललाई ‘सिटी स्क्यान’ उपकरण उपलब्ध गराइएको छ । नमोबुद्ध नगर कार्यालयको समन्वयमा कान्ति बाल अस्पतालले मेथिनकोटलाई सो उपकरण उपलब्ध गराएपछि ‘सिटी स्क्यान’ सेवा सुरु गर्न लागिएको अस्पतालले जनाएको छ ।

अस्पतालमा उपलब्ध जनशक्तिलाई तालिमको तयारी भएको र लगत्तै सेवा सञ्चालनमा गइने अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा मधुकर दाहालले बताए । उक्त सेवा सुरु हुँदा विपी राजमार्गमा हुनसक्ने दुर्घटनाका बिरामी तथा बागमती प्रदेशको काभ्रेपलाञ्चोकसहित छिमेकी जिल्ला सिन्धुली र पूर्वी तराईका केही जिल्लाका नागरिकका लागि निकै सुविधा पुग्ने अपेक्षा गरिएको छ ।

यस्तै अस्पतालमा हालै शल्यक्रिया सेवा पनि सुरु गरिएको छ भने गत असोज पहिलो सातादेखि अस्पतालमा मिर्गौला रोगीको उपचारका लागि डायलायसिस सेवा सुरु गरिएको छ । यस्तै सघन कक्ष (आइसीयू) र नवजात शिशुको सघन कक्ष (एनआइसीयू) सञ्चालनको तयारीमा रहेको अस्पतालले जनाएको छ ।

हाल पाँच अत्याधुनिक मेसिनबाट डायलायसिस सेवा सुरु गरिएको अस्पतालमा काठमाडौंका अस्पतालमा डायलायसिस गर्न नपाएर यस क्षेत्रका बिरामीले महिनौँ कुर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । दाहालका अनुसार उक्त अस्पताललाई ट्रमा सेन्टर र डायलायसिस सेवाको उत्कृष्ट अस्पतालको रूपमा विकसित गर्ने योजना बनाइएको छ । “यसका लागि आवश्यक जनशक्ति व्यवस्थापन गरिएको छ”, डा दाहालले भने ।

नगरप्रमुख कुन्साङ लामा तीन तहका सरकारको समन्वयका कारण मेथिनकोट अस्पतालमा सेवा विस्तार गर्दै लगिएको बताउँछन । प्राथमिक स्वास्थ्य केन्द्रबाट सेवा विस्तार गर्दै प्रदेशस्तरीय अस्पताल बनाइएकामा स्थानीय निकै खुसी देखिएको उनको भनाइ छ ।

यस्तै अस्पताललाई बागमती प्रदेशको जनस्वास्थ्य प्रयोगशालाबाट अन्य आवश्यक उपकरण सहयोग गरिएको छ । अस्पतालमा हाल सेवा विस्तार भएसँगै बिरामीको चाप बढ्दै गएको बताइन्छ । अस्पताललाई १५ बाट ५० शय्यामा स्तरोन्नति गरिएको छ ।

अस्पतालमा हृदयघातका बिरामीका लागि पहिलो चरणको खोप निःशुल्क उपलब्ध गराइँदै आइएको छ भने मानसिक रोगको उपचार, डायलायसिस सेवा, हाडजोर्नी, बाल विशेषज्ञ, सम्पूर्ण प्रयोगशाला सेवा, रेबिज खोपलगायत नेपाल सरकारले तोकेको दुई सय ५० थरिका औषधि निःशुल्करूपमा उपलब्ध गराइएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  १० : २६ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन