२१ माघ २०८२, बुधबार | February 4, 2026

किसानलाई अलैँची भित्र्याउन चटारो



ताप्लेजुङ । ताप्लेजुङका किसानलाई अलैँची घर भित्र्याउन भ्याइनभ्याइ भएको छ । दसैँ सकिएसँगै किसान अलैँची टिप्न, छोडाउन र सुकाउनमा व्यस्त छन् । ताप्लेजुङमा असोज–मङ्सिर महिना अलैँची थक्याउने मुख्य समय हो । अलैँची ताप्लेजुङकै प्रमुख नगदे बालीका रूपमा खेती गरिन्छ । बेँसी क्षेत्रमा साउनदेखि लेकाली क्षेत्रमा मङ्सिर तेस्रो सातासम्म अलैँची टिपाइ हुन्छ ।

अहिले मध्यभागमा अलैँची थन्क्याउने मुख्य याम भएकाले किसानलाई चटारो छ । अलैँची सङ्कलन ढिलो गरेमा वन्यजन्तुले खाएर क्षति पुर्याइदिने हुँदा किसानलाई अलि बढी चटारो लागेको पाथीभरा याङवरक गाउँपालिका–१ थेचम्बुका ज्ञानबहादुर गुरुङले बताए । अलैँची थन्क्याउने यामका कारण चाडपर्व सहज गरी मनाउनै नपाएको उनले बताए । मुख्य याम भएकाले चाडपर्वमा पनि अलैँची बारी (बगान)मै बिताउनुपरेको फक्ताङलुङ गाउँपालिका–६ मादिबुङका वसन्त लिम्बूले बताए। तिहार अलैँची बगानमै मनाउने उनको योजना छ ।

फुङ्लिङ नगरपालिका–६ बिहीबारेका खाङ्डु शेर्पाले पनि अलैँची टिप्न, छोडाउन र सुकाउनमै दसैँ बितेको बताए । घरमा बसेर चाडपर्व मनाउन थाल्दा जङ्गली जीवजन्तुले धेरै क्षति गर्ने भएकाले चाडपर्व नभनी अलैँची टिप्न र थन्क्याउनमा व्यस्त हुनुपरेको उनले बताए। अलैँची खेतीमा संलग्न जिल्लाभरका किसानलाई अहिले अलैँची भित्र्याउन भ्याइनभ्याइ छ । जिल्लाका नौ स्थानीय तहका ६१ वडामध्ये फक्ताङ्लुङ–७ ओलाङ्चुङगोलाबाहेक सबै वडामा अलैँची खेती गर्दै आएका छन् । जिल्लामा करिब चार हजार चार सय ५० हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिँदै आएको छ । ताप्लेजुङमा प्रतिमन (४० किलो) खलैँची रु ५५ हजारमा खरिद बिक्री हुँदै आएको छ ।

अलैँची बगानमा रोजगारी

फुङ्लिङ–७ बिहीबारे क्षेत्रमा रहेको अलैँची बगानमा पूर्ण राई अलैँची टिपाइमा व्यस्त छन् । उनी पाथीभरा याङवरक गाउँपालिका–१ नाङखल्याङबाट अलैँची टिप्न रोजगारी गर्न फुङ्लिङसम्म आएका हुन् । दसैँ सकेलगत्तै राई घरबाट निस्कनुभएको हो । बिहान उठेपछि अलैँची टिप्न बगानमा पसेको राई साँझमात्र बगानबाट बाहिर निस्कन्छन् । उनी साँझ–बिहानको खाना खाजा पनि अलैँची बगानमै खान्छन् । बिहान र दिनभरि टिपिएको अलैँचीको थुङ्गा बगान नजिकै रहेको अलैँची सुकाउने भट्टीमा जम्मा गर्छन् । दिनभरि टिपिएको अलैँचीको थुङ्गा बेलुका १० बजेसम्म छोडाउनु राईको अहिले दैनिकी बनेको छ ।

पाथीभरा याङवरक–१ नाङखल्याङ गाउँका पूर्ण राईसँगै सात जना घर छाडेर अलैँची टिप्न फुङ्लिङ पुगेका हुन् । गाउँमा रोजगारी नभएपछि रोजगारी खोज्दै फुङ्लिङ–६ अवस्थित अलैँची बगानमा आइपुगेको नरप्रसाद राईले बताए । उन तिहारसम्मै बगानमै बसेर अलैँची टिप्ने, ओसार्ने, भट्टी लगाउने काममा व्यस्त छन्। देउसीभैलो खेल्नेलाई दान दक्षिणा दिनका लागि खर्च जुटाउन अलैँची बगानमा रोजगारी गर्न थालेका हुन् । अलैँचीमै बसेर टिप्ने, छोडाउने र सुकाउने मजदुरलाई प्रतिदिन रु पाँच सयदेखि रु सात सयसम्म ज्याला दिने गरेका छन् ।
रासस

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ९ : ३२ बजे

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता

गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’

गुल्मी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमण सकेर आज

एमाले उपाध्यक्ष पौडेलद्वारा राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष केसीकी धर्मपत्नीको स्वास्थ्य अवस्थाबारे लिए जानकारी

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय

स्वास्थ्य बिमा कार्यक्रममा देखिएका समस्या समाधानका लागि अर्थमन्त्रालयसँग बजेट माग

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले राष्ट्रिय स्वास्थ्य