१४ जेष्ठ २०८३, बिहिबार | May 28, 2026

भूकम्पले खोसेको गोरख–शोभाको खुसी



जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका–४ जिरीका गोरख सिंह र शोभा सिंहलाई राहतभन्दा पनि खाइलाग्दो अवस्थाका दुई छोरीको निधनले आहत बनाएको छ । यही कात्तिक १७ गते शुक्रबार राति ११ः४७ बजे बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६ दशलमलव ४ रेक्टर स्केलको भूकम्पले सिंह दम्पतीका दुई छोरी उपसना र ऊर्जाको ज्यान गयो ।

घटना भएको एक साता बित्न लागेको छ । २१ वर्षीया उपासना र १८ वर्षीया ऊर्जाको निधनले सिंह दम्पतीका आँखा ओभाएका छैनन् । पछिल्लो समय बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१ मा बस्दै आएका सिंह दम्पती दुई छोरीसहित दसैँ मनाउन गत असोज २८ गते मात्र बारेकोट गाउँपालिकास्थित जिरीगाउँ उक्लिएका थिए । दसैँ मनाएर बाबाआमासँगै बारेकोटबाट दुवै दिदी–बहिनी यही कात्तिक १० गते जाजरकोट सदरमुकाम फर्केका थिए । बुबाआमा मावली सदरमुकाम खलङ्गास्थित घरमा बस्दा उपासना र ऊर्जा शुक्रबार सानीआमाको घरमा बास बस्न गएका थिए । उनीहरूसँगै सानीआमाकी २५ वर्षीया छोरी मेरिना आरसीको पनि शुक्रबार राति भूकम्पमा परेर ज्यान गयो । मेरिना कुसे गाउँपालिका–९ पैंक निवासी सुष्मा र सनत आरसीका कान्छी छोरी हुन् ।

सिंह दम्पतीकी जेठी छोरी उपसना ललितपुरको सानेपास्थित एभरेष्ट इन्जिनियरिङ कलेजमा स्नातक तहको पाँचौँ सेमेस्टरमा अध्ययनरत थिइन् । उनको सपना थियो उच्च शिक्षा विदेशमा गएर लिने र पुनः नेपाल फर्केर सूचना तथा प्रविधिको पहुँचबाट बञ्चित रहेको दुर्गम कर्णालीका बस्तीमा काम गर्ने । गत कात्तिक १७ गते राति गएको भूकम्पले उनको सपना चकनाचुर बनायो ।

सिंह दम्पतीकी कान्छी छोरी ऊर्जाले नेपालगञ्जस्थित स्टी थोमस इङ्लिस माध्यमिक विद्यालयबाट विज्ञान विषयमा कक्षा १२ उत्तीर्ण गरेकी थिइन् । उनी चिकित्सा शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जाने तयारीमा थिइन् । उनको सपना थियो चिकित्सक बनेर समाजसेवा गर्ने । त्यसका लागि अष्ट्रेलियाको सबै तयारी गरिँदै थियो । यही डिसेम्बरको अन्तिम साता अष्ट्रेलिया उड्ने ऊर्जाको सपना पनि भूकम्पले खरानी बनायो ।

ऊर्जाले यसअघि चिकित्सक बन्न निजी मेडिकल कलेजमा नाम निकाले पनि बुबाआमालाई आर्थिक भारमा पार्न खोजिनन् । महँगो डाक्टरी शुल्क तिरेर बुबाआमाले आफूलाई पढाउन सक्ने अवस्था छैन भन्ने कुरा ऊर्जाले राम्रोसँग बुझेकी थिइन् । घरायसी अवस्थालाई राम्रोसँग बुझेकी उनले आफ्नै बलबुतामा अष्ट्रेलियाको चिकित्सा क्षेत्रको उच्च शिक्षा हासिल गर्ने लक्ष्य राखेकी थिइन् ।

सिंह दम्पती आइटी इन्जिनियर बन्ने उपासना र डाक्टर बन्ने ऊर्जाको इच्छा पूरा गर्न जस्तोसुकै जोखिम मोल्न चाहन्थे । त्यसका लागि उनीहरूको उच्च शिक्षा र त्यसमा लाग्ने आर्थिक जोहो गरिरहेका उनीहरू तिहारलगत्तै ऊर्जालाई बाहिर पठाउने ध्याउन्नमा थिए । “सबैथोक भूकम्पसँगै बिलायो, कल्पना नगरेको बज्रपात सहनुपरिरहेको छ”, आँसु झार्दै सिंह दम्पतीले पीडा पोखे ।

शोकमा डुबेको परिवारलाई समवेदना प्रकट गर्न आउने र दिवङ्गत आत्माप्रति श्रद्धाञ्जलि व्यक्त गर्ने आफन्त शुभेच्छुकलाई घरको ढोका अगाडि राखिएका उपासना र ऊर्जाको तस्वीरले धरधरी रुवाउँछ । “घरको कुनाबाट छोरीहरूले बाबा भनेको आवाज मेरो कानमा गुञ्जिरहन्छ”, बुबा गोरखले भने ।

सिंह पत्नी शोभा शाह भन्छिन्, “काख रित्तिएको छ । घरमा उपासना गर्ने ऊर्जा समाप्त भएको छ । राति निद्राबाट ब्यूझँदा अगाडि छोरी उभिएको देख्छु तर स्पर्श गर्न पाउँदिन । अनि डाँको छाडेर रुनेबाहेक अरु केही उपाय भेट्दिन । यस्तो पीडा कसैले भोग्नु नपरोस् ।”

कठिन दुःख गरेर उच्च शिक्षा पढाउने र छोरीहरू राष्ट्रको अब्बल जनशक्ति बनेर सेवा गरेको खुसी देख्ने चाहना थियो सिंह दम्पतीको । भूकम्पले उनीहरुको आशा र खुसी सदाका लागि खोसेको छ । उपासनाको राति एक्लै पढ्ने बानी थियो । उनी थोरै पढेर धेरै बुझ्ने तेज दिमागकी थिइन् । ऊर्जा अत्यन्तै मेहनती र इमान्दार थिइन् । बुबाआमाको आर्थिक तथा घरायसी समस्यालाई नजिकबाट बुझ्ने समझदार बानीका कारण एमबिबीएस अध्ययनका लागि छात्रवृत्तिमा नाम निकालेकी उनले आफ्नो पढाइलाई एक वर्षपछि धकेलेकी थिइन् ।

यता पोखरा विश्वविद्यालयबाट छात्रवृत्तिमा परी मेरिनाले कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट नेपालगञ्जबाट सिभिल इन्जिनियर पूरा गरेकी थिइन् । देशको अब्बल इन्जिनियर बन्ने उनको सपना ध्वस्त मात्र भएन, आमाबुवाको आशाको दीयो पनि निभ्यो । भूकम्पका कारण आफन्त गुमाएका सयौँ परिवारको पीडा बुझेर सिंह र आरसी दम्पतीले चित्त बुझाएका छन् । जाजरकोट भूकम्पमा परी जाजरकोट र रुकुमपश्चिममा एक सय ५३ जनाको मृत्यु भएको छ । दुई सय ५० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ७ : ५४ बजे

नेपाल-स्विट्जरल्याण्ड द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठक सम्पन्न

काठमाडौं । नेपाल–स्विट्जरल्याण्ड द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठक बुधबार काठमाडौँमा

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ११ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५५ सवारीचालक सवारी

नेपालमा ‘क्यान्सर’को औषधिमा प्रयोग गरिने कच्चा पदार्थ उत्पादन : निर्यात समेत थालनी

चितवन । जायोडिन बायोटेक उद्योगले क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ

मुग्लिन-पोखरा सडक विस्तार : अगामी असारसम्म पनि पूरा नहुने

कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण

आज मुस्लिम समुदायले इद-उल-अजाहा पर्व मनाउँदै

काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इद-उल-अजाहा)