झापा । जंगली हात्तीको आक्रमणबाट झापामा भुटानी शर्णार्थीको मृत्यु भएको छ । दमकको बेलडाँगीस्थित भुटानी शरणार्थीको शिविरमा बस्दै आएका ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको हो ।
डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार मङ्गलबार साँझ शिविर बाहिरको हम्सेदुम्से सामुदायिक वनको जङ्गलमा तामाङलाई हात्तीले आक्रमण गरेको थियो । शिविरको सेक्टर नम्बर २ को हट नम्बर २५२ मा तामाङको बसोबास थियो ।
तामाङ दिउँसो दाउरा खोज्न जंगल गएका थिए। साँझसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा उनलाई जङ्गलमै मृत भेटाएको डिभिजन वन कार्यालयका प्रमुख राईले बताए ।
यसैगरी मेचीनगर नगरपालिका-११ स्थित विशाल दाहालको एकतले पक्की घर जंगली हात्तीले भत्काएको छ । स्थानीय बाँसबारी सामुदायिक वनबाट गाउँ छिरेको एउटा हात्तीले पर्खाल भत्काएर घरभित्र पसी ४०० किलो धान र २०० किलो चामल खाएको पीडित दाहालले जानकारी दिए ।



















प्रतिक्रिया