काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुर्गा प्रसाईंलाई तीनकुने क्षेत्रमा कुनै पनि कार्यक्रम गर्न अनुमति नदिइएको जनाएको छ ।
कुनै पनि जवरजस्ती गरे कानूनबमोजिम कारवाही गर्ने चेतावनी प्रशासनले दिएको छ । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्र प्रसाद आचार्यले विज्ञप्ति जारी गर्दै तीनकुनेमा कार्यक्रम गर्न प्रसाईं पक्षले प्रशासनसँग समन्वय नगरेको जनाएका छन् । उनले विज्ञप्तीमा सो समूहलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति नदिइएको प्रष्ट पारेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय प्रशासनसँग कुनै समन्वय नगरी भोलिदेखि काठमाडौंको तीनकुने क्षेत्रमा भेलाजम्मा भई निषेधित क्षेत्रतर्फ प्रवेश गर्ने, सार्वजनिक सम्पत्तिमा क्षति पुयाउने र शान्ति सुरक्षा तथा अमनचयन विथोल्ने मनसायले कार्यक्रम सार्वजनिक गरेकोमा यस कार्यालयको गम्भीर ध्यानार्कषण भएको छ ।’
बिहीबार बल्खुको प्रदर्शन सकिएपछि प्रसाईं समूहले पत्रकार सम्मेलनमा उत्तेजक, अराजक, हिंसात्मक, ध्वंशात्मक गतिविधि गर्न उक्साउने र व्यक्तिकेन्द्रित भई घृणाजन्य अभिव्यक्ति दिएको जनाउँदै प्रशासनले शान्ति सुरक्षामा गम्भीर असर पार्ने गरी प्रचलित कानून विपरीतका गतिविधि गरेमा कानून बमोजिम कारवाही गरिने चेतावनी समेत दिएको छ।




















प्रतिक्रिया