१८ माघ २०८२, आइतबार | February 1, 2026

ठेक्का रद्दको चेतावनीपछि काममा फर्किए ठेकेदार



बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ सदरमुकाम खण्ड निर्माणको जिम्मेवारी पाएको निर्माण व्यवसायी लामो समयपछि काममा फर्किएको छ ।

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत बागलुङमा पर्ने एक सय ४२ किलोमिटर सडकमध्ये बागलुङ सदरमुकाम खण्डमा मात्रै सडक कालोपत्र गर्न बाँकी रहेको छ । बागलुङबाट बिहुँसम्मको २५ किलोमिटर सडक दुई भागमा बाँडेर ठेक्का लगाइएको थियो ।

बागलुङ बजारबाट अछेते हुँदै बिहुँ टापुसम्मको १३ किलोमिटर र बिहुबाट घोडाँबाधेसम्मको १२ किलोमिटर सडक कालोपत्रका लागि आठ वर्षअघि ठेक्का लगाइएको भए पनि अहिलेसम्म कालोपत्र सम्पन्न हुनसकेको छैन । बिहुँबाट घोडाँबाधेसम्मको १२ किलोमिटर सडकको जिम्मा पाएको सूर्य कन्ट्रक्सन काममा नफर्केपछि ठेक्का रद्द गरिएको र बागलुङ बजारबाट बिहुँसम्मको १३ किलोमिटर सडक निर्माणको जिम्मा पाएको भारत सिद्धिसाई ठेक्का रद्दको चेतावनीपछि काममा फर्किएको मध्यपहाडी पुष्पलाल लोकमार्ग पर्वतका सूचना अधिकारी इन्जिनयिर पवन सुवेदीले जानकारी दिए ।

उनका अनुसार दुवै निर्माण व्यवसायीलाई ठेक्का रद्दका लागि सूचना प्रकाशित गरेपछि तल्लो खण्डको निर्माण व्यवसायी लामो समयपछि काममा फर्केको छ । “बिहुँबाट घोडाबाँधेसम्मको ठेक्का सम्झौता रद्द भइसक्यो, बागलुङ बजारबाट बिहुँसम्मको १३ किमी सडकको निर्माणसमेत अलपत्र भएपछि ठेक्का रद्दका लागि सूचना प्रकाशित गरेका थियौँ”, सूचना अधिकारी सुवेदीले भने, “तल्लो खण्डमा अन्तिम चेतवानीपछि निर्माण व्यवसायी काममा फर्केको एक महिना भयो, अहिले अछेते बजारबाट बिहुँतर्फको सडकमा कालोपत्रका लागि ग्राभेल गर्ने र बाँकी रहेको स्थानमा पर्खाल लगाउने काम भइरहेको छ ।”

काममा फर्केपछि एकपटक अवसर दिन लागिएको जनाउँदै उनले यसपटक अछेते बजारबाट साढे चार किमीमाथि बिहुँसम्म कालोपत्र गर्ने गरी काम भइरहेको बताए । उक्त निर्माण व्यवसायीले सदरमुकाबाट अछेते बजारसम्म पहिल्यै कालोपत्र गरिसकेको छ । निर्माण कम्पनी काममा फर्केपछि अहिले उक्त खण्डमा कालोपत्र सम्पन्न हुनेमा स्थानीय आशावादी छन् ।

विकास निर्माणमा लापरवाही देखिएको मध्यपहाडी राजमार्गको उक्त खण्डमा असारअघि नै कालोपत्र सक्न निर्माण कम्पनीलाई निर्देशन दिइएको आयोजना कार्यालयले जनाएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत बागलुङमा पर्ने एक सय ४२ किलोमिटरमध्ये २५ किलोमिटर सडकखण्ड कालोपत्र सम्पन्न हुन सकिरहेको छैन भने अन्य सडक कालोपत्र भइसकेर हस्तान्तरणको प्रक्रियामा छ ।

उपल्लाचौरबाट १३ किलोमिटर सडकको भारत÷सिद्धिसाई जेभीसँग २०७३ माघमा दुई वर्षमा सक्ने गरी ठेक्का सम्झौता गरिएको थियो । अहिलेसम्म पाँचपटक म्याद थप गर्दासमेत सम्पन्न हुनसकेको छैन । यस्तै बिहुँबाट घोडाबाँधेसम्मको १२ किमी सडक कालोपत्रका लागि २०७२ माघमा दुई वर्षमा कालोपत्र सक्ने गरी सूर्य कन्ट्रक्सनसँग ठेक्का सम्झौता गरिएकामा पाँचपटक म्याद थप्दासमेत सम्पन्न नभएपछि ठेक्का रद्द गरेर नयाँ ठेक्का प्रक्रियामा गएको छ ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  १० : ११ बजे

वीरगन्ज हुँदै छ महिनामा सात अर्ब ६४ करोडको दलहन भित्रियो

वीरगञ्ज । वीरगन्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी । सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट-बुटवल सडकखण्डको

नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा १८ हजार ८ सय र चाँदी १ हजार ५ सय ६५ रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ । कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा