२९ भदौ २०८३, सोमबार | September 15, 2026

नेवार समुदायले आज योमरी पुन्ही मनाउँदै



काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले योमरी पूर्णिमा अर्थात् यमरी पुन्ही मनाउँदैछन् ।

‘यः’को अर्थ नेपाल भाषामा मनपर्ने, ‘मरी’ भनेको रोटी र पुन्हीको अर्थ पूर्णिमा हो अर्थ राख्दै धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाउने प्रचलन युगौँदेखि जारी छ । नेवार समुदायले ठूलो चाडका रूपमा मनाउने गर्छन् । यस पर्वमा खाद्य पदार्थको रसिलो चाडका साथै नयाँ धानबाट बनेको चामलको पिठोमा चाकु, खुवा र तिल राखेर मिठो योमरी बनाउने गरिन्छ ।

योमरी बनाउन आज बिहानदेखि घरघरका महिला व्यस्त भएका छन् । बिहान स्नानपछि घरमा लिपपोत गरी योमरी पकाउने प्रचलन छ । यो पर्वलाई नेवार समुदायले नवअन्नप्राशनका रूपमा समेत मनाउने गरेको संस्कृतिविद् तेजेश्वरबाबु ग्वँग बताउँछन ।

आजको दिन धान, गणेश, कूलदेवता, गैडुदेवता, गोठदेवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पिठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ ।

योमरी पर्व विशेषगरी अन्नको राजा धानसँग सम्बन्धित रहेको संस्कृतकर्मी रामेश्वर बज्राचार्य बताउँछन । योमरी पुन्ही सुरु हुनुअघि घर-घरमा भित्र्याइएको धानलाई पाँच–छ दिन छोपेर राखी, घाममा सुकाएर पूजा गरेपछि मात्र भकारीमा राखिन्छ । नयाँ धान वर्षभरिका लागि पूगोस् भनेर नेवार समुदायमा धानलाई पूजा गर्ने प्रचलन छ । आजको दिन धान राखिएको भकारी, ढुकुटी, घ्याम्पोलगायतका भाँडामा नयाँ चामलको पिठोबाट योमरी बनाएर पाथीभरि योमरी राखेर धानलाई अन्नपूर्ण देवताका रूपमा पूजा गर्ने परम्परा रहेको उनी बताउँछन ।

योमरी पुन्हीका दिन गृहणीहरु शुद्ध भएर चामलको पिठो मुछेर रोटीको माथिल्लो भाग गजुरजस्तै चुच्चो बनाई तल्लो भागको गर्भमा चाकु, तिल, मास, गुदपाक, खुवा राखी क्रिकोण आकारमा बनाई पानीको बाफमा पकाउने गरिन्छ ।

परम्पराअनुसार यःमरी पकाएको चार दिन, छ दिन र बाह्र दिनसम्म धानको भकारीमा योमरी पूजा गर्ने र छोरीचेली तथा आफन्तलाई बोलाएर भोज खुवाउने प्रचलन छ । योमरीलाई कुवेर र गणेशका प्रतीकका रूपमा समेत लिइने उनी बताउँछन ।

योमरीको मायोँ ९केटी० र वायोँ ९केटा० बनाएर धानलाई पूजा गरिन्छ । धानको संरक्षण महिला र पुरुष दुवैले गर्ने हुँदा मायोँ र वायोँको पूजाले महिला र पुरुषबीचको समानतालाई देखाउने संस्कृति पहिलादेखि नै रहँदै आएको उनी बताउँछन ।

तिहारमा देउसीभैलो खेलेझैँ धान्यपूर्णिमाका दिन साँझ टोलटोलका घरघरमा गएर युवायुुवतीले गीत गाउँदै योमरी तथा धान, चामल, दामलगायत माग्ने त्यःछिं त्यः बकछिं त्यः खेल्ने मल्लकालीन प्रचलन लोपोन्मुख अवस्थामा पुगेको छ । आजको दिन साँझ घरघरमा गएर देउसीभैलो खेलेजस्तै गरी यःमरी माग्ने प्रचलन अहिले लोपोन्मुख अवस्थामा पुगेको छ । योमरी माग्ने क्रममा घरघरमा गएर यो गीत गाउँने प्रचलन छ ।

‘ट्यो सिं ट्यो, बकसिं ट्यो
लटापाटा कुलिचाँ जुसिंट्या ।।
ब्यु मह ल्यासे, म्ह ब्यु म्ह बूढीकुटी चा ।।
छिमनचुकी जिमनचुकी, बिगोसा याकन्ब्युँ ।।
अर्थात्
‘जुनसुकै भाँडाबाट भए पनि झिकेर देऊ
माना–पाथी जेबाट जति दिए पनि देऊ ।
दिने मान्छे राम्रो, नदिने मान्छे नराम्रो ।
तिम्रो पनि जाडो, हाम्रो पनि जाडो
दिने भए छिटो देऊ’

यस्ता गीत गाउँदै योमरी पुन्हिमा घरघरमा गएर यमरी, दान, दक्षिणा, धान, चामल पनि माग्ने प्रचलन लोपोन्मुख अवस्थामा पुगेको छ । नेवार समुदायमा दान गरेर चाडपर्व मनाउने परम्परा अझै छ । आफ्नासँग नभए अरुसँग मागेर भए पनि खानुपर्छ भन्ने मान्यताअनुसार नै यःमरी टोलका सबैले बाँडेर खानुपर्छ भन्ने मान्यता रहेको संस्कृतकर्मी बज्राचार्य बताउँछन ।

संस्कृतिकर्मी बज्राचार्यले मल्लकालीन अन्तिम अवस्थामा नेपाल भाषा उच्च स्थानमा रहेकाले यःमरी माग्ने गीत त्यही समयदेखि प्रचलनमा आएको हुनसक्ने बताउँदै योमरी माग्ने गीतमा नेवार समुदायमा हुने एकतर्फी प्रेमको झल्कोसमेत पाइने बताए । यो प्रचलनलाई अहिलेका पुस्ताले छाड्दै गएपछि ऐतिहासिक परम्परा लोप हुन लागेको उनको भनाइ थियो ।

यःमरी पूर्णिमाको दिन आज यहाँका नेवार समुदायले समय सूचक चाड एवं दान पर्वका रूपमा योमरी पुन्ही मनाउने गर्छन् । धार्मिक विश्वासअनुसार आजको दिनदेखि दिन लामो र रात छोटो हुँदै जाने भएकाले यो पर्वलाई समय सूचकका रूपमा लिने गरिन्छ । धान्यपूर्णिमा अर्थात् यःमरी पुन्हिका अवसरमा दान गरे फलिफाप हुने विश्वासअनुसार दान दिने प्रचलन रहेको छ ।

किंवदन्तीअनुसार पाञ्चाल देश ९हालको पनौती०मा सुचन्द्र नाम गरेका दानी र धर्मात्मा महर्जन बस्दथे । उनका दम्पती भगवान् विष्णुका परमभक्त थिए । उनीहरूको दयालु स्वभावको जाँच गर्न एक दिन धनपति कुवेर गरिब ब्राह्मणको वेशमा भिक्षा माग्न सुचन्द्रका घरमा पुगेका थिए । सुचन्द्रका श्रीमतीले ब्राह्मणरुपी कुवेरलाई श्रदापूर्वक आफूले तयार पारी राखेको यःमरी खुवाएका थिए । उनको सत्कारदेखि प्रशन्न भई कुबेरले आफ्नो असली रुप देखाई यःमरीको गुण र धानको भकारीमा श्रीगणेश, कुबेर, लक्ष्मीको पूजा गरी यःमरी चढाउने विधि बताएर गए । सोहीअनुरुप सुचन्द्र दम्पतीले योमरी धानको भकारीमा चढाएर चार दिनपछि प्रसादका रूपमा बाँडेर खाएकाले उनीहरूको धनसम्पत्ति वृद्धि भयो र योमरी खाएका कारण शरीरसमेत हृष्टपुस्ट हुन थाल्यो । त्यही बेलादेखि नेवार समुदायमा योमरी पूर्णिमा मनाउने संस्कृति विकास भएको मानिन्छ ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ८ : २५ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ