काठमाडौं । नेपालमा अहिले स्थानीय वायुको प्रभावसँगै पूर्वी भू-भागमा ‘रेमल’ चक्रवातको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बङ्गालको खाडीमा विकसित न्यून-चापीय प्रणाली जेठ १२ गते साँझ चक्रवातमा परिणत भई हाल शक्तिशाली चक्रवातको रुपमा रहेको महाशाखाले जनाएको छ । उक्त चक्रवातलाई रेमल नाम दिइएको छ । चक्रवात भारतको पश्चिम बङ्गाल तथा बङ्गलादेशको तटीय क्षेत्रीय तर्फ अगाडि बढिरहेको जनाइएको छ । चक्रवातको प्रभाव नेपालमा समेत परेको भन्दै महाशाखाले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारण देखि पूर्णरुपमा बदली रहने जनाएको छ ।
महाशाखाका अनुसार रेमल चक्रवात र स्थानीय वायुको प्रभावका कारण सोमबार बिहान कोशी प्रदेशमा साधारणतया बदली रहेको छ । कोशी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा साथै बागमती प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
कोशी, मधेस र बागमती प्रदेशका केही स्थानहरूमा, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
सोमबार राति कोशी प्रदेशमा साधारणदेखि पूर्ण बदली, मधेस, बागमती र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा तथा मधेस प्रदेश लगायत बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।



















प्रतिक्रिया