२९ मंसिर २०८२, सोमबार | December 15, 2025

दशैँलाई कोसेली मुस्ताङी स्याउ



म्याग्दी । म्याग्दीको बेनीका अर्जुन सुवेदीले दशैँमा घरमा खान, पाहुनालाई प्रसाद र मान्यजनकहाँ जाँदा कोसेली लैजान बिहीबार ३० किलो स्याउ किने ।

“छिमेकी जिल्ला मुस्ताङमा उत्पादन हुने सिजनको फलफुल स्याउ स्वादिलो र रसिलो हुने भएकाले हरेक वर्ष दशैँमा कासेली लैजाने चलन छ”, उनले भने, “अन्य ठाउँमा उत्पादन हुने स्याउको तुलनामा मुस्ताङी स्याउ स्वादिष्ट र स्वस्थकर भएकाले ग्राहकको रोजाईमा परेको हो ।”

लामो समयसम्म भण्डारण गर्न सकिने र आयातित भन्दा सस्तो भएकाले म्याग्दीलगायत गण्डकी प्रदेशका जिल्लामा दशैँ तिहार जस्ता चाडपर्वमा मुस्ताङी स्याउको खपत धेरै हुने गर्छ ।

बेनीका फलफुल पसलहरुमा बिहीबार दिनभर स्याउ किन्नेको चहलपहल थियो । बेनीका व्यापारी विद्यानन्द शाहले अन्य समयको तुलनामा स्याउको ब्यापार दश गुणा बढी भएको बताए ।

“अघिपछि दैनिक १० किलोग्रामको अनुपातमा स्याउ बिक्री हुन्छ,” उनले भने, “दसैको याममा दैनिक दुई सय किलोग्राम स्याउ ल्याउँदा पनि पुग्दैन ।” विजयादशमीको टीका र जमरा लगाएपछि स्याउ, केरा, कुराउनी, अम्बा जस्ता फलफुल प्रसाद दिने चलन छ ।

घरमा आउने पाहुनालाई प्रसाद दिने मात्र नभएर मान्यजनकहाँ दशैँको टीका, जमरा र आर्शीवाद लिन जाँदा पनि सजिलो हुने भएकाले स्याउनै बोकेर जाने गरेको बेनपा-२ की सुजता शर्माले बताइन ।

कृषक र व्यापारीहरुका अनुसार मुस्ताङमा उत्पादन भएको स्याउ दशैँमा धेरै खपत हुने गर्छ । स्याउ ब्यापारी सिवाङ तामाङले दशैँका लागि २० ट्रक स्याउ मुस्ताङबाट पोखराको मण्डीमा पठाएको बताए । दशैँमा माग उच्च हुने भएकाले अघिनै टिपेर बजार पठाउने गर्छन् । चाडपर्वको समयमा स्याउले मूल्य पनि राम्रो पाउँछ ।

बेनीमा प्रतिकिलोग्राम दुई सय २० का दरले मुस्ताङी स्याउ बिक्री भएको छ । मुस्ताङमा स्याउ जोन कार्यक्रम सञ्चालन गरेको प्रधानमन्त्री कृषि आधुुनिकीकरण परियोजनाका निमित्त वरिष्ठ कृषि विकास अधिकृत नेत्रप्रसाद भट्टले दशैँमा मुस्ताङमा उत्पादन भएको स्याउको ठूलो मात्रा खपत हुने बताए ।

चाडपर्वको अलावा मुस्ताङ घुम्न आउने पर्यटक र पाहुुनाहरुले कोसेलीको रुपमा स्याउ, स्याउको सुकुटी, स्याउको मदिरा, ओखर, जिम्बु, स्थानीय जातको सिमिको दाल किनेर लैजान्छन् । दशैँअघिको तीज र पछिको तिहार तथा छठ पर्वका लागि पनि मुस्ताङको स्याउ बजार पठाउने गरिएको मार्फाका कृषक लालप्रसाद हिराचनले बताए ।

मुस्ताङका बगैचामा पाकेका स्याउले बास्नादार भएका छन् । किसान र व्यापारीहरुलाई स्याउ टिपेर बजार पठाउने चटारो छ । यसपाली उच्च घनत्व जातको स्याउ भदौको १० र १५ गतेबाट टिप्न थालिएपनि स्थानीय जातको स्याउ असोज १ गतेदेखि टिपेर बजार पठाउन थालिएको थियो ।

अनुकुल मौसम, बगैचा व्यवस्थापन, रोग, किराको समस्या कम देखिएकाले उत्पादन वृद्धिसँगै गुणस्तर पनि बढेको कृषि ज्ञान केन्द्र मुस्ताङका कृषि प्रसार अधिकृत निशान खड्का मगरले बताए । गत वर्षको तुलनामा २५ देखि ३० प्रतिशतले स्याउ उत्पादन बढेको उनले बताए ।

मुस्ताङको एक हजार ४७५ हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकोमा ५८० हेक्टर क्षेत्रफलमा लगाइएको स्याउ बोटले उत्पादन दिने गरेको छ । ३८ हेक्टर क्षेत्रफल जमिनमा इटलीबाट ल्याइएको उच्च घनत्वको स्याउ खेती भएको छ । गत वर्ष चार हजार नौ सय ७५ मेट्रिकटन स्याउ उत्पादन भएको र रु. ४९ करोड २५ लाख बराबरको स्याउ बिक्री भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ ।

म्याग्दी, बागलुुङ, पोखरा, चितवन, बुटवल, काठमाडौंलगायतका सहरका व्यापारी बगैचामा नपाक्दै अग्रिम पैसा दिएर ठेक्कामा स्याउ खरिद गरेका छन् । बिक्री नहुने साना दाना भएका स्याउ मदिरा र सुकुटी बनाउन प्रयोग हुन्छ ।

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार  ६ : १३ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले